कृषि मेलामा माटो तथा विषादीको ल्याव परिक्षण गरिने

2.1K

कृषि मेलामा माटो तथा विषादीको ल्याव परिक्षण गरिने

कबिन्द्र नेपाल/
बुटवल, २८ माघ । आगामी फागुनमा बुटवलमा हुने प्राङ्गारिक कृषि मेलामा निशुल्क माटो परिक्षण तथा कृषि उपजमा बिषादीको मात्रा परिक्षण गरिने भएको छ । किसानले माटो परिक्षण गराएर प्रतिस्पर्धात्मक बढी उत्पादन हुने कृषि व्यबसाय गरुन् र आम्दानी बढाउन सहज होस भन्नकालागि निशुल्क माटो परिक्षणको प्रवन्ध मिलाईएको मेला आयोजक बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताउनु भयो । त्यस्तै किसानले उत्पादन गरेका कृषि उपजमा प्रयोग भएको विषादीको मात्रा समेत परिक्षणको प्रवन्ध मिलाईएको छ ।

कृषि बिकास मन्त्रालय अन्तरगत कृषि व्यबसाय प्रवद्र्धन कार्यक्रम काठमाण्डौ, क्षेत्रीय कृषि निर्देशनालय पोखरा, जिल्ला कृषि बिकास कार्यालय रुपन्देही र बुटवल उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा आगामी फागुन ३ देखि ७ गतेसम्म ‘एघारौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०७४’ हुँदैछ ।

प्राकृतिक रुपमा उपलब्ध प्राङ्गारिक तथा जैविक मल, जैविक बानपस्तिक विषादीहरुको प्रयोगबाट वातावरण र माटोको गुणस्तरको उचित संरक्षण गरि दीगो गुणस्तरीय उत्पादन गर्ने पद्धतीको बिकासकालागि प्राङ्गारिक कृषि मेला गर्न लागिएको हो । सोही अनुसार किसानलाई प्राङ्गारिक खेतीतर्फ उन्मुख गराउनकालागि माटो परिक्षण तथा उत्पादित कृषि उपजमा विषादीको मात्रा परिक्षण गर्ने कार्यक्रम राखिएको मेला प्रचार प्रसार समितिका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य करुण खनालले जानकारी दिनुभयो ।

मेला आयोजक कृषि बिकास मन्त्रालय अन्तरगत कृषि व्यबसाय प्रवद्धन कार्यक्रमले किसानका मोटो परिक्षणकालागि ल्याव सहितको भ्यान मेलामा राख्नेछ । कृषि बिकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटाका अनुसार किसानले माटो परिक्षण गर्ने जमिनको चार कुना र बिचबाट गरी पाँच स्थानको माटो लिनुपर्दछ ।

माटो लिँदा १० देखि १५ सेन्टिमिटर गहिरो खन्ने र खनेको खाडलमा माथिदेखि तलसम्म तास्नु पर्छ । पाँचै स्थानबाट तासेको माटोलाई एकठाउँ मिसाउने र मोल्नु पर्छ । त्यसरी मालेको माटोलाई रोटी आकारमा फिजाउने र त्यसलाई चार भागमा विभाजित गरि उत्तर दक्षिण या पुर्व पश्चिमको दुई भागको आधा किलो भन्दा बढी माटो परिक्षणकालागि ल्याउनु पर्ने उहाँले सल्लाह दिनुभयो ।

त्यस्तै मेलामा किसानले उत्पादन गरेको कृषि उपजको समेत निशुल्क विषाधी परिक्षण गरिन्छ । थोक तथा कृषि उपज केन्द्र बुटवलमा रहेको बिषाधी परिक्षण ल्यावमा किसानले उत्पादन गरेको कृषि उपजमा बिषाधीको मात्रा छ छैन वा भए कति छ भन्नकालागि ल्याव परिक्षण गरिन्छ । उक्त ल्यावलाई प्राविधिक कारणले मेला स्थलमा भने लैजान सकिँदैन । मेला आयोजकले मेलामा ल्याएका कृषि उपजको अनिवार्य ल्याव परिक्षण गरेर राखिने बताएका छन् भने त्यसबाहेक किसानले उत्पादन गरेको कृषि उपजमा विषाधीको मात्रा परिक्षण गर्न चाहेमा ल्यावमै लगेर निशुल्क परिक्षणको व्यबस्था मिलाईएको प्रचार संयोजक खनालले बताउनु भयो ।

त्यसकालागि किसानको नाम, पकेट क्षेत्र प्रष्ट खुलाउनु पर्छ भने आवश्यक परिमाणमा स्याम्वल उपलब्ध गराउनु पर्छ । थोक तथा कृषि उपज केन्द्र बुटवल विषादी परिक्षण ल्यावका प्राविधिक रामबहादुर खत्रीका अनुसार ईन्ह्यारिसन रेट ४५ भन्दा बढी आएमा डिष्पोज गर्नुपर्छ । मानिसको मस्तिष्कमा हुने हर्मोन एसिटाईन कोलाईन एसिट्रासंग प्रतिक्रिया गराएर कृषि उपजमा भएको विषादीको दर (ईन्ह्यारिसन रेट) निकालिन्छ । उक्त कृषि उपजमा विषादी छ भने प्रतिक्रिया देखाउँछ ।

ईन्ह्यारिसन रेट ३५ भन्दा तल भएमा त्यो उपज प्रयोग गर्न सकिन्छ भने ३५ देखि ४५ सम्म भएमा निश्चित समय राखेर उपयोग गर्न सकिने प्राविधिक खत्रीले बताउनु भयो । उहाँका अनुसार ईन्ह्यारिसन रेट ४५ भन्दा बढी भएमा डिष्पोज गर्नुपर्छ ।

हाल नेपालमा ३१ लाख हेक्टर जमिनमा खेती हुने र त्यसमध्ये ४१ हजार हेक्टर जमिनमा मात्रै प्राङ्गारिक खेती हुने बताईएको छ । त्यस्तै ५७० मेट्रिकटन विषादी नेपाल भित्रिन्छ । त्यसमध्ये ८० प्रतिशत भन्दा बढी विषादी तरकारीमा मात्रै प्रयोग हुने गरेको छ । बुटवल १० रामनगर स्थित बुटवल मण्डपमा पाँच दिनसम्म सञ्चालन हुने मेलामा प्राङ्गारिक कृषि सूचना केन्द्र, वाली उपचार शिबिर सञ्चालन गरिने छ भने कृषि संग सम्बन्धित गोष्ठिहरु समेत सञ्चालन गरिने छ ।

उक्त मेलामा देशै भरिका प्राङ्गारिक उत्पादन, कृषिजन्य तथा प्रविधी र कृषि उत्पादनमा प्रयोग हुने उपकरण सहित १५० स्टल राखिने छ । मेला सफल बनाउनकालागि तयारीका काम भईरहेको स्थानीय व्यबस्थापक समेत रहेको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हमालले बताउनु भयो ।