मेला महोत्सव स्थानीय उत्पादनसँग जोडिनुपर्छ : मुख्यमन्त्री पोखरेल

618

मेला महोत्सव स्थानीय उत्पादनसँग जोडिनुपर्छ : मुख्यमन्त्री पोखरेल

बुटवल ६ मंसिर । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले मुलुकका विभिन्न ठाउँमा आयोजना हुने मेला र महोत्सवहरु स्थानीय उत्पादनसँग जोडिन नसक्दा ठूलो रकम बाहिर जाने गरेको बताउनुभएको छ । स्थानीय उत्पादन मेला तथा महोत्सवहरुसँग जोडिन नसक्दा मेला महोत्सवका नाममा ठूलो रकम बाहिर जाने गरेको उहाँले बताउनु भएको हो ।

रुपन्देहीको तिलोत्तमा उद्योग व्यापार संगठनले बिहीबारदेखि जिल्लाको मणिग्राममा सुरु गरेको औद्योगिक व्यापार मेला, कृषि एवं पर्यटन महोत्सवको उदघाटन गर्दै मुख्यमन्त्री पोखरेलले मेला महोत्सवहरु आयआर्जनका दृष्टिले सफल नदेखिएको, जति रकम उद्योगी व्यवसायीले आम्दानी गर्छन्, त्यो भन्दा धेरै रकम बाहिर जाने गरेको बताउनु भयो ।

महोत्सवहरुमा स्थानीय उत्पादनहरुलाई प्रवद्र्धन गर्ने भनिएपनि त्यो व्यवहारमा नदेखिएको भन्दै मुख्यमन्त्री पोखरेलले घरेलु उद्योगहरु मेला महोत्सवसँग जोडिन नसकेको बताउनुभयो । मेला महोत्सवहरुबाट स्थानीय उत्पादनको प्रवद्र्धन नभएपनि प्रदेश सरकारले भने यसतर्फ आवश्यक योजना बनाइरहेको उहाँले जानकारी दिनुभयो । सहरीकरण बढ्दै गएपनि सहर छेउँछाउँका कृषकहरुका उत्पादन अझैपनि निर्वाहमुखी र परम्परागत रहेको भन्दै उहाँले व्यवसायिक कृषिप्रणालीमा प्रवेश नगरेसम्म कृषिजन्य वस्तुको आयात नरोकिने उल्लेख गर्नुभयो ।

व्यापारबाट गरेको आम्दानीलाई कृषिको व्यवसायीकरणमा खर्च गर्न उहाँले व्यवसायीलाई सुझाव दिनुभयो । महोत्सवलाई मान्छेको भीड जम्मा गर्ने माध्यम नबनाउन आग्रह गर्दै उहाँले स्थानीय उत्पादनको बजारीकरणमा गम्भीर बन्न आग्रह गर्नु भयो । उहाँले भन्नुभयो–‘मेलामा सामाजिक गतिविधिमा खलल पुग्ने गतिविधि अव प्रदेश सरकारले हुन दिंदैन, त्यस्तो गर्न खोज्ने व्यवसायिक प्रतिष्ठानलाई मेला महोत्सव सञ्चालनको अनुमति दिइदैन ।’

कृषि क्षेत्रलाई प्रदेश विकासको पहिलो प्राथमिकतामा राखिएको र कृषि वन तथा खनिजलाई दोस्रो प्राथमिकतामा राखिएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले औद्योगिक कोरिडोर र पर्यटकीय विकास पनि प्रदेशको मुख्य प्राथमिकतामा रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश सभा उद्योग बाणिज्य समितिका सभापति दधिराम न्यौपानेले मेला महोत्सवले औद्योगिक विकासका लागि टेवा पु¥याउनुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले स्वदेशी उत्पादनलाई प्रोत्साहन नगरेसम्म मुलुक आर्थिक रुपले आत्मनिर्भर बन्न नसक्ने भन्दै यसका लागि उद्योगी व्यवसायी पनि योजनाबद्ध ढंगले लाग्नुपर्ने बताउनुभयो ।

अर्का प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपानेले मेला महोत्सव व्यापारमुखी हुन नहुने भन्दै औद्योगिक विकासका लागि छलफल र बहसको थलो बनाउनुपर्नेमा जोड दिनुभयो । मंसिर १८ गतेसम्म चल्ने मेलाका लागि तीन सय ५० स्टल राखिएका छन् । मेलामा २५ करोडको आर्थिक कारोबार हुने र तीनलाख दर्शकले अवलोकन गर्ने आयोजक संस्थाका अध्यक्ष सत्यव्रत ज्ञवालीले जानकारी दिनुभयो ।