डिप्रेसन समस्या र समाधान

927

डिप्रेसन समस्या र समाधान

डा.विक्रम काफ्ले/
डिप्रेसन एक मनोरोग हो । विश्वव्यापी रूपमा देखिएको मनोरोगको समस्याको प्रमुख कारण डिप्रेसन हो । डिप्रेसन एक सामान्य मानसिक समस्या हो, जुन बिश्वभरका हरेक समुदायका मानिसलाई असर गर्न सक्दछ र आज बिश्वभरी ३५ करोड मानिसहरुमा डिप्रेशन भएको तथ्यांक छ । जुन बिश्वको कुल जनसंख्याको ५ प्रतिशत हो । मानिसको समस्याको तथ्यांक हेर्ने हो भने बिश्वभर हरेक ४ मध्ये १ जनालाई रहेको पाइएको छ । नेपालमा पनि कुल जनसंख्याको ५ प्रतिशतलाई डिप्रेशन भएको अनुमान छ ।

त्यसैगरी उच्च रक्तचाप, मधुमेह, मोटोपन, विभिन्न क्यान्सरका समस्यामा समेत डिप्रेसनको प्रत्यक्ष–अप्रत्यक्ष असर हुने अनुसन्धानहरूले देखाएका छन् । यसका अलावा विश्वभर चुनौतीकै रूपमा रहेको धूमपान, मद्यपान तथा अन्य लागूपदार्थको दुव्र्यसनीमा समेत डिप्रेसन एक प्रमुख कारकको रूपमा रहेको पाइएको छ । त्यसैले विश्व स्वास्थ्य संगठनले यस वर्षको विश्व स्वास्थ्य दिवस नै उदासीनताः ‘यस बारे कुरा गरौं’ भन्ने नाराका साथ मनाउन लागिरहेको छ ।

यो बच्चादेखि बृद्धासम्म हरेक उमेर समुहलाई हुने गर्दछ । डिप्रेशन पुरुषमा भन्दा महिलाहरुमा बढी हुन्छ । विश्वव्यापीरूपमा बढ्दै गएको जलवायु परिवर्तन, विभिन्न प्रकोप, युद्ध, आर्थिक मन्दी, अस्वस्थ जीवनशैली जस्ता प्राकृतिक तथा मानव सिर्जित समस्याका कारण १९९० को दशक यता मानसिक समस्याको चाप बढ्दै गएको देखिन्छ । विश्वव्यापी रूपमा ‘दिगो विकास लक्ष्य’का लक्ष्यहरूमा एक लक्ष्यका रूपमा ‘मानसिक स्वास्थ्य’लाई राखिनु, विश्व बैंक, विश्व स्वास्थ्य संगठन जस्ता संस्थाहरूले मानसिक स्वास्थ्यलाई नै केन्द्रमा राखेर गरेका विभिन्न अध्ययन तथा कार्यक्रमहरू यसैका कारणहरु हुन ।

डिप्रेसनका लक्षणहरु

मन प्रायजसो उदास भैरहने, पहिले रमाइलो लाग्ने काममा आजभोली रमाइलो नलाग्ने, जागरमा एक्दम कमी आई अधिक थकाई हुने, आत्माबिश्वासमा कमी आउनु, ध्यान केन्द्रित नहुनु, आत्महत्याको बिचार आउनु तथा आत्महत्याको प्रयास गर्नु, निंद्रामा कमी आउनु या अधिक निंद्रा पर्नु, भबिश्यको बारेमा नकारात्मक सोचाई आउनु, यौन इच्छामा कमी आउनु, खानामा रुची नहुनु रहेका हुन्छन् । साथै जिन्दगीको बारे नकारात्मक सोचाइहरू आउनु जस्तैः आफू असहाय र बेसहारा भएको जस्तो लाग्ने, जिन्दगी बेकार भए जस्तो लाग्ने, बरु मर्न पाएपनि हुन्थ्यो जस्तो लाग्ने, आत्महत्याको सोचाइ आउने तथा आत्महत्या नै गर्नेसम्म हुन सक्छ ।

डिप्रेशनका कारणहरु

जैविक कारण
मस्तिष्कमा रहेको बिभिन्न रसायनिक तत्व (न्यूरोट्रांसमीटर)को परिवर्तनको कारणले, बंशाणुगत कारण, टाउकोमा चोटपटक, छारे रोग आदि ।

सामाजिक कारण

सानै उमेरमा आफ्नो नजिकको मानिस गुमाउनु, बैबाहिक जीवनमा आसफलता, बेरोजगारी, रक्सी तथा लागु औषदको प्रयोग ।

अन्य कारणहरु

जीवनमा बारम्बार तनाबहरु आइरहने, लामो समय देखि बिमारले ग्रस्थ (जस्तैः–क्यान्सर, मुटुको बिमार, दीर्घकालिन शारीरिक दुखाइ), लामो समयदेखि खाईराखेको औषधी आदि ।

डिप्रेशनको उपचार तथा ब्यवस्थापन

डिप्रेशनको प्रभावकारी उपचार भएतापनी येसको उपचार गर्नेको संख्या भने एकदम न्युन छ । यसरी प्रभावकारी उपचार लिनबाट बन्चित हुनुका कारणहरु दक्ष जनशक्तिको कमी, मानसिक रोगको समाजमा भएको नकारात्मक सोच, सही समयमा यसको पहिचान नहुनु, (यो अन्य रोगमा झै देखिने हुदैन) आदि । सामान्य औषधि र केही साइकोथेरेपी (कगनिटिव बेहबिऔर थेरेपी, इंटरपर्सनल थेरेपी, प्रोब्लेम सोल्विंग टेकनिक) आधि प्रभावकारी उपचार पद्धती हुन् । उपचारलाई सहज बनाउन दैनिक बिहान–बेलुका ब्यायम गर्ने, निद्रामा ध्यान दिने, स्वस्थ खानेकुरा खाने, तनाब ब्यवस्थापनमा ध्यान दिने आदि ।

आम नागरिकको रूपमा हामीले आफ्नो वरिपरि कसैलाई डिप्रेसन भएको आशंका लागेमा उनीहरूलाई यी जानकारीहरू उपलब्ध गराएर मदत गर्न सक्छौं । अझै पनि हाम्रो समाजमा डिप्रेसन भनेको व्यक्तिको कमजोरी, लाचारीपना, कायरता हो भन्ने विश्वास रहेको छ भने कतिपयको बोक्सी, भुतप्रेतको विश्वास गरेर त्यसैमा समय खेर फालिरहेका हुन्छन् । समाजमा हुने अवहेलनाले गर्दा डिप्रेसनका बिरामीलाई खुलेर भएका समस्याका बारेमा भन्न सकिरहेका हुदैनन् । जसका कारण उनीहरू समयमै उचित उपचार पाउनबाट वञ्चित हुन्छन् भने कतिपयले आत्महत्याका कारण ज्यानै समेत गुमाउन पुग्छन् ।

तसर्थः हामी सबैले समयमै डिप्रेसनको यो भयावह स्थितिका बारे समयमै जानकार हुनु, समाजमा कुरा गर्नु, आफूलाई समस्या भएको शंका लागेमा समयमै परामर्श लिनु, अरूलाई समस्या भएको आशंका लागेमा समयमै उचित सल्लाह एवं सहयोग र प्रोत्साहन गर्नु जरूरी छ । साथै, समयमै डिप्रेशनको पहिचान गरी उपचार गरियो भने यसले आफु र अन्य मानिसको समेत ज्यान बचाऊन सकिन्छ । त्यसैले हामी सबै मिलेर ‘आउनुहोस उदासीनता बारे कुरा गरौं ।’

(नशा तथा मनोचिकित्सक डा.काफ्ले लालिगुरास नशा तथा मनोरोग क्लिनीक बुटवल र देवदह मेडिकल कलेज भलुहीमा कार्यरत हुनुहुन्छ ।)