मुलुकमा लगानीको वातावरण बनाईदिन उद्योगी व्यबसायीको आग्रह

586

मुलुकमा लगानीको वातावरण बनाईदिन उद्योगी व्यबसायीको आग्रह


बुटवल, १८ चैत । बुटवलका उद्योगी व्यबसायीहरुले सरकारलाई उद्योग व्यबसाय मैत्री ऐन कानुन निर्माण गर्न आग्रह गरेका छन् । उनीहरुले मुलुकको समृद्धिकालागि लगानी अपरिहार्य रहेको र लगानीको सुरक्षा हुने गरी ऐन कानुन निर्माण गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई आग्रह गरेका हुन् ।

दुई तिहाईको स्थीर सरकार बनेपछि मुलुकमा लगानीको वातावरण बन्ने अपेक्षा गरिएपनि सरकारले लगानीको वातावरण बनाउन तथा भएको लगानीको समेत सुरक्षा गर्न चासो नदेखाएको उनीहरुको भनाई छ ।

बुटवल उद्योग बाणिज्य संघको सोमबार बुटवलमा भएको २६ औं सल्लाहकार सभामा बोल्ने उद्योगी व्यबसायीहरुले मुलुकको आर्थिक बिकासकालागि लगानी र भएका लगानीमा सुरक्षा पहिलो सर्त भएको बताउँदै लगानी आकर्षण हुनेगरी ऐन कानुन निर्माण गर्न र भएका लगानीको सुरक्षाकालागि सरकार गम्भिर बन्नुपर्ने भनाई राखेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका प्रदेश अध्यक्ष गुणनिधी तिवारीले सरकारले विप्लव समुहलाई प्रतिवन्ध लगाएसंगगै फेरी चन्दा आतंक सुरु भएको उल्लेख गर्नुभयो । उहाँले दुई तिहाईको स्थीर सरकार हुँदा पनि मुलुकमा लगानी आकर्षण गर्न नसक्नु र भएका लगानीको समेत सुरक्षा गर्न नसक्नुले मलुकको दीगो बिकासमा प्रभाव पार्ने उल्लेख गर्नुभयो ।

नेपालको विच भागमा पर्ने पाँच नम्बर प्रदेशमा लगानीका प्रयाप्त सम्भावना रहेको र सरकारले लगानीका वातावरण बनाउने तथा लगानी सुरक्षामा प्रतिवद्ध हुने हो भने नीजि क्षेत्रले गर्नुपर्ने भूमिकामा पछि नपर्ने उहाँले बताउनु भयो ।

त्यस्तै संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले नविकरण नभएका व्यबसायिक फर्म नविकरण गर्ने विषयमा उद्योग मन्त्री मात्रिका यादवले पहिले नै प्रतिवद्धता गरेपनि अहिलेसम्म कार्यान्वयन नगर्दा समस्या भएको बताउनु भयो । उहाँले खुला अर्थ व्यबस्था भएको मुलुकमा सरकारले नियन्त्रित अर्थ व्यबस्था अबलम्बन गर्न खोजेकाले मुलुकमा लगानी आकर्षण हुन नसकेको बताउनु भयो ।

संघका अध्यक्ष खिमबहादुर हमालले मुलुकमा लगानीको वातावरण नहुँदा नीजि क्षेत्र पर्ख र हेरको अवस्थामा रहेको बताउनु भयो । पूर्वाधार, बिकासका संरचना, बन्दै गरेको अन्तर्राष्ट्रिय बिमानस्थल, अन्तर्राष्ट्रिय स्तरको बुटवल सम्मेलन केन्द्र लगायतका कारण प्रदेशको राजधानी बुटवल बनाउन पनि उहाँले माग गर्नुभयो ।

कार्यक्रममा महासचिव दिनेशप्रसाद श्रेष्ठले संघले अंघिल्लो साधारण सभायता गरेका गतिबिधि सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष जीवनप्रसाद वझा, राजश्व परामर्श दाता नेत्रप्रसाद ज्ञवाली, संघका वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजु, कपडा बस्तुगत समतिका सभापति त्रिबिक्रम ह्योजु लगायतले भनाई राख्नुभएको थियो ।