एम्बुलेन्स खरिदकालागि नागरिक समाजको सांस्कृतिक कार्यक्रम

857

एम्बुलेन्स खरिदकालागि नागरिक समाजको सांस्कृतिक कार्यक्रम

बुटवल, २२ बैशाख । रुपन्देही नागरिक समाजले एम्बुलेन्स खरिद गर्न आर्थिक संकलन गर्ने उद्देश्यले सांस्कृति कार्यक्रम गरेको छ । समाजले शुक्रबार भैरहवा र शनिबार बुटवलमा सांस्कृतिक कार्यक्रम गरेको हो ।
रुपन्देहीका नागरिक अगुवाहरुको प्रयासमा गत वर्ष स्थापना भएको समाजले एम्बुलेन्स खरिद गर्ने उद्देश्यले आयोजना गरेको बुटवलको सांस्कृतिक कार्यक्रममा बोल्दै प्रदेश पाँचका सभामुख पूर्णबहादुर घर्तीले मुलुकको समृद्धिको अभियानमा नागरिक समाजको महत्वपूर्ण भूमिका हुने बताउँदै त्यो भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले समाजले सामाजिक मर्म अनुसार अंगाडी बढेमा संस्थाको पहिचान उच्च बनाउन सक्ने पनि विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरेले दलीय मानसिकता भन्दा माथि उठेर काम गर्न आग्रह गर्दै निश्पक्ष भएर काम गरेमा समृद्धि र समाज रुपान्तरणमा टेवा पु¥याउन सकिने बताउनु भयो ।
समाजका अध्यक्ष रेशम केसीले कुनैपनि दल नभनी समाजले काम गर्ने बताउँदै पूण निष्ठा र आदर्शका साथ नागरिक समाजको भूमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले समाजलाई हरेक तवरबाट सहयोग गर्नेहरुलाई समेत धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गायक पशुपती शर्मा, आधुनिक गायिका तृप्ती खड्का, लोक गायक प्रचण्ड जिसी, विष्णु कंडेल लगायत कलाकारहरुले सांगितिक प्रस्तुती राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनीका अध्यक्ष डिल्लीनारायण पाण्डेको सञ्चालनमा भएको समाजका सल्लाहकार दिपक रोकाले जानकारी गराउनु भयो । त्यसैअवसरमा एम्बुलेन्स खरिदकालागि सहयोग गर्ने समाजसेवी चुन्नप्रसाद पौडेल र कमलकिशोर मालपानीलाई सम्मान गरिएको थियो ।