कर बृद्धि फिर्ताको माग गर्दै नौं दलको ज्ञापन

721

कर बृद्धि फिर्ताको माग गर्दै नौं दलको ज्ञापन

बुटवल, ८ भदौ । बुटवल उपमहानगरपालिकाले जथाभावि कर बृद्धि गरेको भन्दै तत्काल बृद्धि गरिएको कर फिर्ता गर्न यहा क्रियाशिल ९ राजनीतिक दलले आग्रह गरेका छन् ।

नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक, नेकपा माले, नेपाल क्रान्तिकारी माओवादी र नयाँ शक्ति नेपालले बृद्धि गरिएको कर फिर्ताको माग गर्दै बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई शुक्रबार ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा बुटवल उपमहानगरपालिकाले घरबहाल, व्यबसाय, अटो व्यबसाय, कृषि, हाटबजार व्यबसाय, होटल व्यबसाय, स्वास्थ्य, यातायात व्यबसाय, लगायतका बिभिन्न क्षेत्रमा लगाईएका करहरु जन्मदर्ता, मृत्यु दर्ता साथै बिभिन्न सिफारिस सम्बन्धि शुल्कहरुमा अत्यधिक बृद्धि गराईएकाले यो निर्णय तत्काल फिर्ता गर्न माग गर्दै गत आर्थिक वर्षमा लिएको दरमा बढीमा १५ प्रतिशत मात्रै बृद्धि गर्न सुझाव दिईएको छ ।

सधैभरी चुनावी नारा बनेको सुकुम्बासी समस्या समाधान गर्ने भन्दा पनि उनीहरुलाई अर्को समस्या थपिदिने काममा नगरपालिका लागेको संकेत गर्दै ज्ञापन पत्रमा चुनावी नारा बन्ने गरेको सुकुम्बासी समस्या समाधानमा लाग्न र सुकुम्बासी तथा अव्यबस्थित बसोबासीको दर्ता प्रकृयामा शुल्क लिँदा ५ सय रुपैंया भित्रै हुनेगरी शुल्क निर्धारण गर्नुपर्ने माग गरिएको छ ।

ज्ञापन पत्र प्रस्तुत गर्दै नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले बुटवल नगरपालिका राम्रो बन्दा मेयर नै सफल हुने भएकाले आफू सफल हुनकालागि पनि बुटवल बनाउन आग्रह गर्नुभयो । नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, राष्ट्रिय जनता पार्टी बुटवलका संयोजक राजेन्द्र अग्रहरी, राष्ट्रिय जनमुक्ति पार्टीका सभापति थर्कबहादुर बारघरे, राष्ट्रिय जनमोर्चा बुटवलका तुलसीराम शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका ईशाद आलम मिया, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक बुटवल सभापति निरजप्रताप खाँण, नेकपा मालेका भरत पराजुल, नेपाल क्रान्तिकारी माओवादीका मानबहादुर केसी र नयाँ शक्ति नेपालका युवराज अमगाईद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा जनआन्दोलनको भावना, मेलमिलापको नीति तथा दलहरुसंगको सरसल्लाहलाई आधार मानेर कार्यक्रम अंगाडी बढाएमा धेरै समस्या आपसी छलफलबाटै समाधान गर्न सकिने उल्लेख गरिएको छ ।