जिल्ला न्यायाधिवक्ता निरौला घुस सहित पक्राउ

867

जिल्ला न्यायाधिवक्ता निरौला घुस सहित पक्राउ

भैरहवा, ४ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलवार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा कार्यरत जिल्ला न्यायाधिवक्ता कोषहरी निरौलालाई घुससहित नियन्त्रणमा लिएको छ । काठमाण्डौंबाट आएका अख्तियारका उच्च कर्मचारी एवं सुरक्षा अधिकारीले निरौलालाई आफ्नै कार्यकक्षभित्र ८० हजार घुस रकम लिएर टेवुलको माथिल्लो घर्रामा राखेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको हो ।

टोलीले उनको साथबाट घुस रकम हजार रुपैया दरका ८० थान नोट, मोवाईल, कर्मचारी परिचयपत्र नियन्त्रणमा लिई अनुसन्धान एवं आवश्यक कार्वाहीका लागि काठमाण्डौं लगेको छ । निरौलाले भने आफ्नो बचाउ गर्दै मुचुल्कामा लेखिएका केही शब्द सच्याउन आग्रह गर्दै मुचुल्कामा सहिछाप गर्न आनाकानी गरेका थिए । अख्तियारका कर्मचारीले ससम्मान वास्तविक मचुल्कामा सहिछाप नगरे अर्को मचुल्का उठाउछौं त्यसको परिणामले तपाईलाईनै अफ्ठारो पार्नसक्छ भनेपछि मात्र निरौलाले मुचुल्कामा सहिछाप गरेका थिए ।

‘घुस खाएको छैन, पैसा समातेको छैन ।’ भन्दै निरौलाले बारम्वार सफाई दिएपछि अख्तियारको टोलीले उनको सामुनै बरामद भएका नोट र उनीको हात पानीमा धुन लगाएर परिक्षण गरेको थियो । अनुसन्धानमा खटिएको टोलीले निरौलाले नोटहरु समातेको तथ्य प्रमाण सहित देखाएका थिए । उक्त घटनाका प्रत्यक्षदर्शी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नयाव उपरिक्षक कुमोद ढुंगेलले निरौला स्वयम वकिल भएकाले बचाउ र प्रतिवादमा लागिरहेको तर सत्यकुरालाई आयोगको टोलीले तत्कालै स–प्रमाण पुष्टि गरिदिएपछि भने उनी धेरै बोल्न छोडेको बताउनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जिल्ला न्यायाधिवक्ता निरौलालाई घुस रकम सहित पक्राउ गरी थप अनुसन्धान एवं कार्वाही प्रक्रिया अगाडी बढाएको बताउनु भयो । जिल्ला प्रहरी कार्यालय मार्फत सरकारी वकिलको कार्यालमा पेस भएको तीन लाख भारतीय मुद्रा सटही ठगी मुद्धा मिलाईदिने भनेर निरौलाले सेवाग्राहीबाट घुस रकम लिएको वताईएको छ ।