Monday 22nd October 2018
  • New title for a=>html, img=>alt
  • ओलीले प्रत्यक्ष भारतीय हस्तक्षप निम्त्याए : खाँण

    February 3, 2018


    बुटवल, २० माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले एमाले अध्यक्ष केपी ओलीले मुलुकमा प्रत्यक्ष रुपमा भारतीय हस्तक्षप निम्त्याएको आरोप लगाउनु भएको छ । पूर्व मन्त्री समेत रहनु भएका काँग्रेस नेता खाँणले भारतीय विदेश मन्त्री सुस्मा स्वराजलाई नेपाल बोलाउनुको कारण सहितको प्रष्ट जवाफ एमाले अध्यक्ष ओलीले दिनुभर्यो जिकिर गर्नुभयो ।

    नेपाल स्वास्थ्य कर्मी संघ रुपन्देहीको सातौं जिल्ला अधिवेशनको बुटवलमा उद्घाटन गर्दै उहाँले बाहिर भाषणमा राष्ट्रवादको नारा लगाउने र भित्री रुपमा आफूलाई प्रधानमन्त्री बनाउनकालागि भारतको अनावश्यक चाकडी गरेर भारतीय विदेशमन्त्री स्वराजलाई बोलाएको दावी गर्नुभयो ।

    उहाँले भारतीय विदेश मन्त्री किन र केका लागि आएको भन्ने प्रश्न गर्दै यस्तो हस्तक्षप दुनियाँमा कँही नभएको तर्क गर्नुभयो । ‘भारतीय ईशारामा को चल्दो रहेछ, प्रष्ट भएको छ ।’ नेता खाँणले भन्नुभयो–‘छिमेकी मुलुक भारतका शासक र नेपालका कम्युनिष्टहरु नेपाली काँग्रेस र लोकतान्त्रिक शक्तिहरुलाई कमजोर बनाउन लागिरहेका छन् ।’ उहाँले तर जनता त्यसको विपक्षमा रहेको बताउनु भयो ।

    ६५ वर्ष पुरा गरेकालाई बृद्ध भत्ता र गम्भिर प्रकृतिका बिरामीलाई भत्ता दिने वर्तमान सरकारको निर्णयलाई बिरोध गर्ने एमाले अध्यक्ष ओलीले आफ्नो उपचारकालागि लगेको १७ करोड बढी राज्यको रकम फिर्ता गर्न समेत उहाँले आग्रह गर्नुभयो । पार्टीले निर्वाचनमा भोगेको पराजयले ससक्त प्रतिपक्षको भूमिका तय गरेकाले परिवर्तित समय अनुसारको काँग्रेस बनाउन सबै लाग्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

    नेपाल स्वास्थ्य कर्मी संघ रुपन्देहीका अध्यक्ष विश्वबन्दु विनयीको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय सहअध्यक्ष ओमप्रकाश उपाध्याय, प्रदेश सभा सदस्य पुष्पा चौधरी, नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, क्षेत्रीय सभापति हरि लम्साल, बुटवल नगर सभापति खेलराज पाण्डे, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष तथा महाधिवेशन प्रतिनीधि काजिमान श्रेष्ठ, प्रजातान्त्रिक बिचार समाज रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केयरसिंह गोदारलगायतले भनाई राखेका थिए ।

    त्यस अवसरमा सेवा निबृत्त संघका सदस्यहरुलाई प्रसंशा पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष दयासागर पन्थीले स्वागत तथा सचिव रामप्रसाद ढकालले सञ्चालन गर्नुभएको थियो । संघ रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न अधिवेशनले रामप्रसाद ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । समितिको ४ उपाध्यक्षमा भिमप्रसाद ज्ञवाली, रेखा गौतम रिजाल, सुरेन्द्रप्रसाद द्विवेदी र बासुदेव पाण्डे, सचिवमा धनलाल अर्याल, कोषाध्यक्षमा रमेश रिजाल तथा सहसचिवमा तिलकराम गौतम र श्रीमायाँ राना सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

    समितिको सदस्यहरुमा ध्रुवराज घिमिरे, झविन्द्र शर्मा, नन्दराम पौडेल, बालकृष्ण कंडेल, सागरप्रसाद गौतम, कल्पना भुसाल पाण्डे, नारायण कुवँर, ओमनारायण यादव र राजेन्द्रप्रसाद चौधरी निर्वाचित हुनु भएको छ । त्यस्तै संघको केन्द्रीय प्रतिनीधिमा केदारनाथ शाह, मोतिप्रसाद पौडेल, नमनारायण वेलवासे, नेत्रबहादुर राना, लक्ष्मीराज रेग्मी, विश्वबन्दु विनयी, होमप्रसाद खनाल, युवराज पाण्डे, माधवप्रसाद पन्थी, उर्मीला गुरुङ, वबिता न्यौपाने र बालकृष्ण कंडेल सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ ।