‘पार्किन्सोनिस्म रोग रोकथामकालागि नियमित व्यायाम’

701

‘पार्किन्सोनिस्म रोग रोकथामकालागि नियमित व्यायाम’

बुटवल, २८ चैत । कसैको हात थरथराउने समस्या देखियो भने पहिले बिरालो मारेर आएको समस्या भन्न पनि सक्छन् तर यो बिरालो मारेर नभई एक प्रकारको ‘पार्किन्सोनिस्म’ भन्ने नशा रोग हो । ब्रेनभित्र केमिकल उत्पादन गर्ने सेलमा कमी हुँदा मानिसमा यो समस्या देखिने त्रिभुवन युनिभर्सिटी चिकिस्ता शास्त्र अध्ययन संस्थानका डिन प्राध्यापक डा. जगदिसप्रसाद अग्रवाल बताउनु हुन्छ ।

पार्किन्सोनिस्म रोग लागेपछि मानिसमा हात काप्ने, कडा हुने, शारीरिक सुस्तपना हुने, हिंड्दा हिंड्दै लड्ने समस्या उत्पन्न हुने उहाँ बताउनु हुन्छ । यो रोग के कारण हुन्छ भन्ने अहिलेसम्म पत्ता लागेको छैन । नेपालमा यसको तथ्याङ्क पनि छैन । यद्यपी कुल जनसंख्याको १ प्रतिशतमा यो रोग हुन सक्ने अनुमान गरिएको छ ।

पार्किन्सोनिस्मको मुख्य कारण ब्रेन भित्र केमिकल उत्पादन गर्ने सेलमा कमी हुनु नै हो । तथापी बंशाणुगत तथा वातावरणीय प्रभाव र अरु रोगकालागि प्रयोग गरिएका औषधीबाट पनि हुन सक्ने प्रा.डा. अग्रवाल बताउनु हुन्छ । उहाँका अनुसार यो रोग प्रायः ५० वर्ष भन्दा कम उमेरमा धेरै कम हुन्छ । त्यस्तै महिलामा भन्दा पुरुषमा बढी हुन्छ ।

यो रोग लागिसकेपछि बिरामीमा डिप्रेसन हुने, खाना खान समस्या हुने, बोल्ने क्षमतामा कमी हुने, बोली नबुझिने, पिसावमा समस्या, दिसामा कब्जियत, सुत्न समस्या हुने, सोँच्ने तथा बिचार गर्ने क्षमतामा कमी हुदै जाने लगायतका समस्या आउन सक्छन् । उहाँले भन्नुभयो–‘रोग पन्छ्याउन त सकिँदैन, तर व्यबस्थापन गर्न सकिन्छ ।’

यो रोगको निदान नभएपनि रोकथाम गर्न सकिन्छ । त्यसकालागि शारीरिक व्यायाम अति महत्वपूर्ण भएको उहाँले बताउनु भयो । शारीरिक व्यायाम, औषधी, आत्मबल तथा बिरामीलाई परिवार तथा समाजको मायाँ र सहायता भएमा रोकथाम गर्न सकिन्छ । यो रोगको पहिलो उपचार रोगसंग लड्ने क्षमता अभिबृद्धि गर्नु नै हो । यो रोग भएका बिरामीलाई रोगप्रति खासै ध्यान नदिन र अनुकुलता अनुसारका काम गर्न उहाँले सुझाव दिनुभयो ।

विश्व पार्किन्सोनिस्म रोग विरुद्धको दिवसको अवसर पारेर नेपाल पार्किन्सोनिस्म डिजिज एशोसियशन (नेप्डा)ले बुधबार बुटवलमा अन्तरक्रिया कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा बिर अस्पतालका नशारोग विशेषज्ञ सर्जन डा. प्रकाश विष्टले औषधी सेवन गरेर पाँच वर्ष पुरा भएका बिरामीलाई समस्या बढ्दै गएको खण्डमा ब्रेनमा चिप्स राखेर समस्या समाधान गर्न सकिने बताउनु भयो ।

त्यसकालागि १० हजार देखि १५ हजार डलर सम्म खर्च लाग्ने उहाँ बताउनु हुन्छ । चिप्स सञ्चालनकालागि लगाईने व्याट्रिको क्षमताका आधारमा उपचारको शुल्क निर्धारण हुने उहाँले बताउनु भयो । यो रोगको उपचारकालागि सरकारले विपन्न नागरिक उपचार कोष मार्फत गरिव तथा विपन्न परिवारका बिरामीलाई सुचिकृत अस्पतालमा १ लाख रुपैंया सम्म अनुदान दिइन्छ ।

कार्यक्रममा नेपाल पार्किन्सोनिस्म डिजिज एशोसियशन (नेप्डा)का सचिव मुनाल सुवेदीले पार्किन्सोनिस्म भएका बिरामीको आशुलाई हांसोमा बदल्ने गरी काम गर्नकालागि नेपालमा ८ महिना अगाडी संस्था स्थापना गरिएको बताउनु भयो । यो रोग लागेपछि बिरामीको नशा सुक्दै जाने हुँदा बिरामी बिना ड्राईभरको गाडी जस्तै हुने भएकाले नशा सुक्न नदिनकालागि व्यायाम अति महत्वपूर्ण भएको बताउनु भयो ।

संस्थाले ५ वर्षे कार्ययोजना बनाएर काम गरेको बताउँदै यो रोगका बिरामीलाई लक्षित गरेर जिम सेन्टर सञ्चालन गर्ने, कोष बनाएर गरिव तथा विपन्न परिवारका बिरामीलाई उपचारमा आर्थिक सहायता प्रदान गर्ने लक्ष्यका साथ संस्थाले काम गरिरहेको उहाँले जानकारी गराउनु भयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले बिरामीको पहिचान र उपचारकालागि उपमहानगरपालिका हातेमालो गर्न तयार रहेको बताउनु भयो । बुटवल उपमहानगरपालिका स्वास्थ्य विभाग प्रमुख डा. रमेश केसी, थाईरो ल्याव बुटवलका सञ्चालक प्रेमराज न्यौपाने, औषधी व्यबसायी संघ लुम्बिनीका अध्यक्ष शिव ज्ञवाली लगायतले नागरिकको स्वास्थ्यमा सरकार प्रतिवद्ध हुनु पर्ने बताएका थिए ।

बुटवलमा आयोजना गरिएको कार्यक्रममा रुपन्देही, प्युठान, दाङ्, पाल्पा लगायतका स्थानबाट पार्किन्सोनिस्मका बिरामी तथा बिद्यार्थीको सहभागिता रहेको थियो । त्यस अंगाडी बुटवल उपमहानगर भित्र प्ले कार्ड सहित प्रभातफेरि गरिएको थियो ।