नौ करोड लगानीमा उच्च गुणस्तरयुक्त प्लाष्टिक टंकी उद्योग

859

नौ करोड लगानीमा उच्च गुणस्तरयुक्त प्लाष्टिक टंकी उद्योग

बुटवल, १२ चैत । रुपन्देहीको तिलोत्तमामा ९ करोड लगानीमा प्लाष्टिक टंकी उद्योग सञ्चालनमा आएको छ । रेसुंगा पोलिमर्स प्रालीले तिलोत्तमा नगरपालिका वडा नं. ६ गणेशपुरमा उद्योग सञ्चालन गरि गत पुसको पहिलो सातादेखि व्यबसायिक उत्पादन सुरु गरेको हो । पाँच जना पारिवारिक सदस्यहरुको संयुक्त लगानीमा उपभोक्ताको मागका आधारमा जर्मन टेक्नोलोजीमा आधारित उच्च गुणस्तरयुक्त प्लाष्टिक टंकी उत्पादन सुरु गरिएको उद्योगका सञ्चालक सुनिल मरासिनीले जानकारी दिनुभयो ।

समयको माग अनुसार प्लाष्टिकका अन्य उत्पादन समेत गर्ने योजना सहित उत्पादन शुरु गरेको रेसुङ्गा पोलिमर्स प्रालिले सुरुको समुयमा ‘रेसुङ्गा’ ब्राण्डमा हेभी, एक्स्ट्रा हेभी, सुपर एक्स्ट्रा हेभी, थ्री लेयर, थर्मल र प्रिमियर गरि ६ प्रकारका २ सय देखि २ हजार लिटर सम्मका टंकी उत्पादन गर्दै आएको छ ।

हाल प्रदेश ५ ६ र ७ का बिभिन्न स्थानमा उत्पादित टंकीको बजारीकरण गर्दै आएको र असार मसान्तपछि काठमाण्डौमा बजार बिस्तार गरिने प्रालिका अध्यक्ष यज्ञश्वर मरासिनीले जानकारी गराउनु भयो । तिलोत्तमा नगरपालिका वडा नं. ६ गणेशपुरमा आफ्नै स्वामित्वमा रहेको ६ कट्ठा जग्गामा स्थापित उक्त उद्योगको दैनिक ६० हजार लिटर उत्पादन क्षमता रहेको र बजार माग बढी आएमा क्षमता बृद्धि गरिने उहाँले बताउनु भयो । उत्पादित टंकीको ९ देखि १८ रुपैंयाँ प्रति लिटर बजार मुल्य रहेको छ । उक्त उद्योगमा हाल २१ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

सरकारले मुलुकको औद्योगिक बिकास गरि समृद्धि हासिल गर्ने लक्ष सहित लगानी आह्वान गरिरहेको छ । तर उद्योगमा लगानी गरेर देशको औद्योगिक तथा आर्थिक बिकासमा योगदान गर्ने वातावरण राम्रो छैन । एउटा उद्योग सञ्चालन गर्न कति कठिन छ भन्ने कुरा आफैले लगानी गरेर उद्योग सञ्चालन गर्दा मात्रै थाहा पाएको सञ्चालक सुनिल मरासिनीले बताउनु भयो ।

एउटा उद्योग सञ्चालन गर्दा उद्योगीलाई राम्रो परामर्श सल्लाह गर्ने भन्दा पनि सरकारका कतिपय अंगहरुले अफ्ठ्यारोमा मात्रै पार्ने काम गरेको उहाँले गुनासो गर्नुभयो ।