पुर्कोट दहमा दशैं बिशेष कार्यक्रम हुँदै

1.3K

पुर्कोट दहमा दशैं बिशेष कार्यक्रम हुँदै

गुल्मी, १५ असोज । गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ मा कृयाशिल जनप्रिय युवा क्लवले दशैं बिशेष कार्यक्रम गर्ने भएको छ । क्लवको १२ औं वार्षिकोत्सवको अवसर पारेर क्लवले दशैं विशेष कार्यक्रम गर्न लागेको हो । गुल्मी, प्युठान र अर्घाखाँचीको संगम स्थल कङ्के देउरालीको काखमा गुल्मीमा स्थापित उक्त क्लवले खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम गर्न लागेको क्लवका अध्यक्ष कमल शिशिर लम्सालले बताउनु भयो ।

यहि असोजको २९ देखि ३१ गतेसम्म हुने बिशेष कार्यक्रममा भलिवल प्रतियोगिता गरिने छ भने मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने कार्यक्रम संयोजक नविन केसीले बताउनु भयो । क्वलको वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिने खुल्ला भलिवल प्रतियोगितामा प्रथम हुने टिमलाई २२ हजार २२५ रुपैंया नगद पुरस्कार सहित मेडल प्रदान गरिने छ भने द्वितीय हुनेलाई १५ हजार १११ रुपैंया र तृतीय हुनेलाई ११ हजार ११ रुपैंया नगद पुरस्कार सहित मेडल प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमको अन्तिम दिन भलिवल प्रतियोगिताको फाईनल प्रतिस्पर्धा हुने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारले सांस्कृतिक प्रस्तुती गर्नेछन् । सोही अवसरमा क्लवले स्थापना गरेको राहत कोषबाट मदाने गाउँपालिकामा रहेका सामुदायिक बिद्यालयमा अध्ययन गर्ने अति बिपन्न तथा असक्त बिद्यार्थीलाई राहत प्रदान गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यस्तै सामाजिक सेवा तथा गाउँको बिकासमा उल्लेख गरेका दुई जना समाजसेवीलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको क्लका अध्यक्ष लम्सालले बताउनु भयो ।