रुपन्देही सुपर लिगको उपाधि लुम्बिनी खुकुरीलाई

815

रुपन्देही सुपर लिगको उपाधि लुम्बिनी खुकुरीलाई


भैरहवा, चैत । नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहियाले जितेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा सम्पन्न खेलमा खुकुरीले शिवशक्ति क्रिकेट क्लब भैरहवालाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक र लिग इतिहासमा नवौंपटक उपाधि चुम्न सफल भएको हो ।

जितसँगै खुकुरीले ७५ हजार नगद र ट्रफी प्राप्त गरेको छ । उपविजेता शिवशक्तिले ३५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो । फाइनलमा जितका लागि शिवशक्तिबाट पाएको ९० रनको झिनो लक्ष्य खुकुरीले १४.१ ओभरमा १ विकेट क्षतिमा ९५ रन बबनाउँदै पुरा गर्यो । उसका लागि शंकर रानाले नटआउट ५१ र अन्तिम थापाले नटआउट ३३ रन बनाए । बलिङमा शिवशक्तिका कृषि कार्कीले १ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको शिवशक्तिले निर्धारित ५० ओभरको खेलमा ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन बनाएको थियो । उसका लागि हरजित सिंहले नटआउट ४३ र कृष्ण कार्कीले १५ रन बनाए । बलिङमा खुकुरीका साहव आलमले ५ तथा रमेश कुर्मीले ३ विकेट लिए । साहव म्यान अफ द फाइनल घोषित भए ।

लिगमा खुकुरीका शंकर राना म्यान अफ द सिरीज र बेष्ट ब्याट्सम्यान घोषित भए । सिरिज र ब्याट्सम्यानको गरी उनले नगद २० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । वेस्टर्न क्रिकेट क्लब बुटवलका विक्रम सोब बेष्ट बलर घोषित भई नगद ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्ल, प्रदेश पाँच खेलकुद विकास समिति सदस्य उमा अधिकारी, नेपाल टेलिकम क्षेत्रीय कार्यालय भैरहवाका सहायक ब्यापार अधिकृत रामप्रसाद खनाल, एसबीआइ बैंक भैरहवाका शाखा प्रबन्धक प्रविणमुनी बज्राचार्य, सिद्धार्थनगर ३ का वडाअध्यक्ष थानेश्वर पौडेल र विके ज्वेलर्सका संचालक सुनिल सेन्चुरी लगायतले पुरस्कार प्रदान गर्नुभयो ।

रुपन्देही क्रिकेट संघको आयोजनामा फागुन ६ गतेदेखि संचालित प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको थियो भने विके ज्वेलर्स, सगरमाथा इन्स्योरेन्स, सुगम आवास र ह्याप्पी आवर ग्यामिङ क्लब भैरहवाले सहप्रायोजन गरेका थिए । प्रतियोगितामा जिल्लाका ए र बी गरी २० टिमको सहभागिता थियो ।