सबै स्थानीय तहमा प्राविधिक शिक्षालयको माग

478

सबै स्थानीय तहमा प्राविधिक शिक्षालयको माग

बुटवल, फागुन । नेपाली काँग्रेसको भातृसंस्था नेपाल बिद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले सबै स्थानीय तहमा प्राविधिक शिक्षालय अनिवार्य स्थापना गर्नुपर्ने बताउनु भएको छ । उहाँले अध्ययन गरिसकेपछि आफूले लिएको शिक्षा व्यबहारिक हुनु पर्ने बताउँदै त्यसकालागि सबै स्थानीय तहमा प्राविधिक शिक्षालय अपरिहार्य रहेको बताउनु भएको हो ।

नेपाल बिद्यार्थी संघले लिएको खुल्ला विश्व विद्यालयको अवधारणा अहिले कार्यान्वयन तहमा प्रवेश गरेको जानकारी गराउँदै उहाँले नेपाल बिद्यार्थी संघ बिद्यार्थीका हकाधिकार संगै भविश्यको समेत आकलन गरेर अंगाडी बढ्ने बताउनु भयो ।

फरक प्रसंगमा उहाँले पूर्ववर्ती सरकारले निर्णय गरेर राष्ट्रिय सभामा सिफारिस गरेका तीन जनालाई फिर्ता गराउने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको बिरोध गर्नुभयो । राष्ट्रिय सभामा तीन जना मनोनित गर्ने अधिकार पूर्ववर्ती सरकारलाई रहेको बताउँदै उहाँले राष्ट्रपतिले उक्त कदम नसच्याए सुरु गरेको आन्दोलन नरोकिने चेतावनी दिनुभयो ।

नेपाल बिद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पसले सञ्चालन गरेको क्याम्पस स्तरीय बिपि कप क्रिकेट प्रतियोगिताको बिहिबार भएको समापन कार्यक्रममा बोल्दै उहाँले बिद्यार्थीले प्रमाणपत्र धितो राखेर थप अध्ययन गर्न पाउनुपर्ने, बिद्यार्थीलाई निशुल्क स्वास्थ्य बिमा हुनु पर्ने लगायतका माग समेत राख्नुभयो ।

नेपाल बिद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पसका इकाई सभापति दिनेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष तथा पदेश पाँचका संयोजक प्रकाश राना, सहमहामन्त्री प्रकाश घिमिरे, केन्द्रीय सदस्यहरु लेखनाथ भट्टराई, टंक पाण्डे, पूर्व केन्द्रीय सदस्य जमुना ढकाल लगायतले अहिलेको शिक्षा अव्यबहारिक र अवैज्ञानिक भएकाले शिक्षा नीति परिवर्तन गर्न आवश्यक रहेको बताएका थिए । शिक्षा नीति परिवर्तनकालागि नेबिसंघले पूर्वदेखि पश्चिम सम्म अभियान सञ्चालन गरेको उनीहरुको भनाई थियो ।

यसैविच नेपाल बिद्यार्थी संघको कार्यक्रममा सहभागि हुन बुटवल आउनु भएका नेबिसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महरलाई बुटवल बुहुमुखी क्याम्पसमा नेबिसंघकै बिद्यार्थीले कालो झण्डा देखाएका छन् ।

बुटवल बहुमुखी क्याम्पसमा आफूहरुले विवाद मिलाएर मात्रै अध्यक्षलाई आउन आग्रह गरेपनि केन्द्रीय अध्यक्षले विवादलाई झन बल्झाउन खोजेकाले विरोध स्वरुप कालो झण्डा देखाएको अर्का इकाई सभापति बालाराम पौड्यालले बताउनु भयो ।

बुटवल बहुमुखी क्याम्पसमा नेपाल बिद्यार्थी संघको सभापतिमा दिनेश पौडेल र बालाराम पौड्याल दुबै जनाले आफू भएको दावी गर्दै आएका छन् ।