सनसनीपूर्ण जितसँगै नेपालले विश्वकप छनोट खेल्ने पक्का

442

सनसनीपूर्ण जितसँगै नेपालले विश्वकप छनोट खेल्ने पक्का

काठमाडौ , ३ फागुन । क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ । नेपालको जितमा करण केसी नायक बने ।१९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । तर, करणले सन्दिप लामिछानेसँग लोभलाग्दो आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाए ।

अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो र क्रिजमा करण थिए । लगातार चार बल उनले रन जोड्न सकेनन् । तर, पाँचौं बल छक्का हान्दै जितको आश जगाए । अर्को बल बाइड भएसँगै नेपालको खातामा एक रन थपियो र दुबै टिमको स्कोर ड्र भयो ।

अब अन्तिम बलमा मात्र एन रन चाहियो, जुन करणले सहजै पुरा गरे र नेपाललाई डिभिजन टूको फाइनलसँगै विश्वकप छनोटमा र्पुयाए । ३१ बलको सामना गरेका उनले ३ चौका र चार छक्को मदतमा नटआउट ४२ रन बनाए ।

वर्षापछि आएको नाटकीय मोड

नेपाललाई जीत दिलाउन महत्वपूर्ण भूमिका खेलेका करण केसी ।जिम्बावेको टिकट पक्का गर्न १९५ रनको लक्ष्य पछ्याएको नेपाललाई त्यसबेला झड्का लाग्यो, जब पानीले खेल रोकियो ।

खराव सुरुवातका बाबजुद त्यसबेला नेपालले ३४ ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाएको थियो । रोहितकुमार पौडेल र आरिफ शेख क्रिजमा जमेका थिए ।तर, केहीबेर पानीले खेल रोकियो । पानी रोकिएपछि सुरु भएको खेलमा नेपालले लगातार विकेट गुमायो । नेपालले २९ रन जोड्दा ४ विकेट गुमाएको थियो ।

तर, करणले सनसनीपूर्ण जित जिलाए ।नेपालले सुरुवातमा नराम्रो झड्का व्यहोरेको थियो । २२ रन जोड्दा महत्वपूर्ण २ विकेट गुमायो । ज्ञानेन्द्र मल्ल ९ रनमा आउट भएपछि कप्तान पारस खड्का व्याटिङमा आएका थिए तर, उनी पहिलो बलमै आउट हुन पुगे ।

दिलिनाथले दिपेन्द्र सिंह ऐरीसँग मिलेर तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरे । तेस्रो विकेटका रुपमा दिलिप नाथ आउट भए । उनले ४१ रन बनाए ।थप एक रन जोड्दा शरद भेषावकर एक रनमै आउट भए ।

पाँचौं विकेटका रुपमा दिपेन्द्र सिंह ऐरी व्यक्तिगत १८ रनमा आउट हुँदा टिमको स्कोर ८१ रन थियो । त्यसपछि आरिफ र रोहितले पारी सम्हाल्ने प्रयास गरेका हुन् । साभार अनलाइन खबर