Wednesday 21st August 2019
  • New title for a=>html, img=>alt
  • ‘नेपालमा पाईने सर्पमध्ये २० प्रतिशत मात्रै बिषालु’

    June 13, 2019


    बुटवल, ३० जेठ । स्वास्थ्य सेवा विभाग रोग नियन्त्रण महाशाखा काठमाण्डौको आयोजनामा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लक्षित गरेर सर्पदंश सम्बन्धि तालिम शुरु गरिएको छ । बिहिबारदेखि बुटवलमा सुरु भएको दुई दिने तालिममा प्रदेश पाँचका सरकारी तथा नीजि अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी गरि ४१ जना सहभागि छन् । सर्पले डसेर आएका बिरामीलाई जतिसक्दो चाँडो उपचार सेवा पु¥याउन सकियोस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको महाशाखाका अधिकृत धनप्रसाद पौडेलले बताउनु भयो ।

    तालिममा भेरी अञ्चल अस्पताल नेपालगञ्जमा कार्यरत डा. कृष्णप्रसाद आचार्य र बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा कार्यरत डा. प्रशान्त त्रिपाठीले प्रशिक्षण गर्नुभएको छ । गर्मीयामसंगै सर्पदंशको समस्या बढी आउने र त्यस्ता बिरामीको समयमा उपचार नपाउने हो भने ज्यानसमेत जाने भएकाले मृत्युलाई रोक्नकालागि स्वास्थ्कर्मी सचेत हुनु पर्ने डा. आचार्य बताउनु हुन्छ । उहाँका अनुसार सर्पलाई तीन वर्गमा विभाजित गरिएको छ । पहिलो, (नन् भेनमस) विष रहित, दोस्रो, भेनमस (बिषालु) र तेस्रो सर्प बिषालु तर टोक्दा (डस्दा) मानिसको शरीरमा बिष नछोडेको हुन्छ । सर्पले डसेका बिरामीको उपचार गर्दा यी तीन कुरालाई बिशेष ध्यान दिनुपर्ने उहाँ बताउनु हुन्छ ।

    नेपालमा पाईने सर्पमध्ये २० प्रतिशत सर्प मात्रै बिषालु छन् । तराई तथा भित्री मधेशमा करेत, कोब्रा तथा पहाडका खोँचहरुमा पाईने हरियो सर्प बिषालु सर्प हुन् । सर्पले टोकेको बिरामीको उपचार गर्दा टोकेको समय, टोकेको शरीरको अंग, ठाउँ (घर, बाटो, जंगल), सर्प देखिएको छ छैन, बिरामीको अवस्था लगायतका कुराहरुलाई बिशेष ध्यान दिनुपर्ने चिकित्सकहरुको भनाई छ ।

    बिषालु सर्पका आधारमा टोकेको २ देखि २४ घण्टा भित्र उपचार नपाउने हो भने बिरामी बचाउन मुस्किल पर्ने चिकित्सकहरु बताउँछन् । सबैभन्दा बढी बिषालु सर्प करेत हो । उसले टोक्यो भने २ घण्टा भित्रै उपचार नपाउने हो भने बिरामीको ज्यान जानसक्छ । सर्पदंश अहिले जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा आएको छ ।

    विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.)का अनुसार नेपालमा २० हजार सर्पदंशका बिरामीमध्ये १ हजार जनाको ज्यान जाने गरेको छ । यसैको उपचारकालागि सरकारले वार्षिक दुई करोड रुपैयाँ बजेट खर्च गर्छ । तर सहि रुपमा र ठिक समयमा उपचार नपाउँदा बिरामीको ज्यान गईरहेको महाशाखाका सिनियर अहेव प्रकाश घिमिरेले बताउनु भयो ।

    सर्पले डसेर आएका बिरामीलाई औषधी छैन, स्थान छैन भनेर रिफर गर्ने परिपार्टीले बिरामीको ज्यान गईरहेको चिकित्सक प्रसान्त त्रिपाठीले बताउनु भयो । सर्पले डसेर आएका बिरामीको उपचारमा पहिलो प्राथमिकता दिनुपर्ने र जे जसरी उपचार गर्न सकिन्छ, सोही अनुसार उपचार गर्नुपर्ने उहाँ बताउनु हुन्छ । ‘सर्पले डसेर आएका बिरामीलाई रिफर गर्नु हुँदैन ।’ उहाँले भन्नुभयो–‘निश्चित समयभित्रै उपचार गर्नुपर्ने भएकाले रिफर गर्दा बिरामी ज्यान जान्छ, अस्पतालमा जे जस्तो सेवा सुविधा छ, त्यसैको आधारमा उपचार गर्नुपर्छ ।’