‘सत्यवती मगर संस्कृतिको पर्यटन केन्द्र बन्न सक्छ’

804

‘सत्यवती मगर संस्कृतिको पर्यटन केन्द्र बन्न सक्छ’

बुटवल, ११ कात्तिक । ऐतिहासिक धार्मिक स्थल पाल्पाको तिनाउ गाउँपालिका स्थित सत्यवती ताल निकासकालागि उक्त गाउँपालिकाले तीस लाख बजेट विनीयोजन गरेको छ ।

तिनाउ गाउँपालिका वडा नं. ४ मा पर्ने सत्यवती ताल संरक्षणकालागि उक्त उडा कार्यालयले समेत १ लाख रुपैंया बजेट विनियोजन गरेको वडा अध्यक्ष दानबहादुर गाहाले बताउनु भयो । त्यस्तै वातावरण संरक्षणकालागि छुट्टै ५५ हजार रुपैंया आएको उहाँले जानकारी गराउनु भयो ।

सत्यवती ताल एतिहासिक धार्मिक स्थल भएपनि त्यसको उचित बिकास तथा यातायात र भौतिक पूर्वाधारको बिकास हुन नसक्दा प्रयाप्त रुपमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिएको छैन ।

सत्यवती ताल संरक्षण तथा बिकास समितिले कात्तिके मेला तथा पुजाका बारेमा जानकारी गराउन शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वडा अध्यक्ष गाहाले सत्यवती तालको संरक्षण सहित यातायात र भौतिक पूर्वाधारको बिकास गर्न सक्ने हो भने त्यस क्षेत्रका नागरिकको जीन स्तर उकास्न सकिने बताउनु भयो ।

त्यसकालागि सत्यवती ताल क्षेत्रमा पर्यटन प्रवद्र्धन गरी स्थानीय समुदायलाई आत्मनिर्भर बनाउनकालागि नेपालकै अद्वितीय पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नुपर्ने उहाँको भनाई छ । सत्यवती ताल संरक्षण तथा बिकास समितिले प्रत्येक वर्ष कात्तिके पूर्णिमाको अवसरमा मेला गर्दै आएको छ । यो वर्ष पनि कात्तिको १६, १७ र १८ गते सत्यवती मेला तथा पुजा कार्यक्रम आयोजना गरेको छ ।

यो वर्ष सत्यवती तालमा जोग समेत परेकाले त्यसको बढी तयारी गरेको हो । पौराणिक कथन अनुसार दक्ष प्रजापतीकी छोरी महादेवकी पत्नी सतीदेवीको कुनै अंग पतन भएको कारण सत्यवती ताल नाम रहेको भनाई छ ।

समुद्रि सतहदेखि १ हजार ४ सय मिटर उचाईमा रहेको सत्यवती तालमा पुग्नकालागि सिद्धार्थ राजमार्गबाट पैदल करिव दुई घण्टा यात्रा गर्नुपर्छ । तालमा अहिले कच्ची सडकले जोडिएपनि सहज नभएको संरक्षण तथा बिकास समितिका सचिव लालबहादुर दर्लामीले बताउनु भयो ।

तालमा कात्तिके पूर्णिमादेखि तीन दिनसम्म मेला लाग्ने परम्परा भएपनि दशवर्षे द्वन्द्वकालसंगै सांस्कृतिक कार्यक्रम कम हुँदै आएको उहाँले बताउनु भयो । त्यहा पुग्ने भक्तजनले आफूले चिताएको पुरा होस भन्दै भाकल गर्ने गर्दछन् । सत्यवती बजै बैरी भएको किंवदन्ती अनुसार चिच्याएर बर माग्ने प्रचलन छ ।

सत्यवती ताल क्षत्र मगर समुदायको बसोबास भएकाले मगर संस्कृतिको केन्द्रका रुपमा समेत हेर्ने गरिन्छ । सत्यवती तालको करिव ५ सय मिटर माथि अर्को ताल रहेको र त्यसलाई बावेको ताल भनिन्छ ।

त्यस्तै सत्यवती तालको करिव तीन किलोमिटर माथि १८४३ मिटर अग्लो कौडेलेकको नामले चिनिने हुवाकोट चुचुरो, तलपट्टि पेंगुईन रक गार्डेन, मृहुस भासडाँडा, गिनिच चौर गाउँ, सत्यवती गाउँ, धामिका, बसीडाँडा लगायतका मगर समुदायका बस्ती रहेकाले सत्यवती ताल क्षेत्र स्वभावैले मगर संस्कृतिको पर्यटन केन्द्र बन्न सक्ने सत्यवती ताल संरक्षण तथा बिकास समितिका अध्यक्ष सुनबिर गाहाले बताउनु भयो ।