एउटा पाङ्ग्राको अभावमा टेम्पो चल्दैन : सभामुख

669

एउटा पाङ्ग्राको अभावमा टेम्पो चल्दैन : सभामुख

बुटवल, २५ साउन । प्रदेश पाँचका सभामुख पूर्णबहादुर घर्तीले मुलुकमा जारी गरिएको संघीय गणतन्त्र सहितको संविधान कार्यान्वयनमा जटिलता सिर्जना भएको बताउँदै तीन पाङ्ग्रे नीतिमा एक पाङ्ग्राको अभावमा टेम्पो चल्न नसक्ने टिप्पणी गर्नु भएको छ ।

उहाँले संघीय, प्रदेश र स्थानीय सरकारलाई टेम्पोको तीन पाङ्ग्रा जस्तै भएको उदाहरण प्रस्तुत गर्दै एउटा मात्रै पाङ्ग्राको अभाव भएमा टेम्पो चल्न नसक्ने बताउनु भएको हो । उहाँले भन्नुभयो–‘एउटा पाङ्ग्रा बिना टेम्पो चल्न सक्दैन, त्यस्तैगरी स्थानीय, प्रदेश र संघगरी ३ वटा सरकारको एक अर्कासंग समन्वय नभए संघीयता कमजोर हुन्छ ।’

उहाँले संघीय सरकार र प्रदेश सरकारका बिचमा अधिकारका बिषयमा केही जेटिलता देखिएको बताउँदै यसलाई सहमतिकै आधारमा समस्याको समाधान गर्नुपर्ने बताउनु भयो । संविधान कार्यान्वयनमा अलमल भए संघीयता कमजोर हुने उहाँको भनाई छ ।

रिपोटर्स क्लव प्रदेश पाँच कार्यालयले शुक्रबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सभामुख घर्तीले संघीयता कार्यान्वयनमा शुल्यबाट सुरु गरेको प्रदेश सरकारले बाँझो बारीको डल्लो फुटाउन जस्तै जटिल काम संघीय व्यबस्थालाई व्यस्थित र कार्यान्वयन गर्न कोशिल गरिरहेको बताउनु भयो ।

अहिले प्रदेश सकारका बिचमा कानुनको निर्माण, जनताको दैनिकीमा देखिने समस्या समाधान तथा बिकास निर्माणको काम तिब्र गतिमा गर्नुपर्ने चुनौतीको सामाना गर्दै कानुन निर्माणलाई बढी केन्द्रीत हुनुपर्दा अरु काम केही नगरेजस्तो देखिएको प्रष्ट्याउनु भयो ।

उहाँले प्रदेशको नामाकरण र स्थायी मुकामकालागि संसदमा गठन भएको समितिले दिएको प्रतिवेदनका आधारमा संघीयताको मर्म अनुसार स्थायी मुकाम र नामाकरण हुनुपर्ने धारणा राख्नुभयो । ‘सदन आफैमा सार्वभौम हुन्छ, अन्ततः टुङ्गो लगाउने पनि सदनले नै हो ।’ उहाँले भन्नुभयो–‘यसलाई सहमतिकै आधारमा टुङ्ग्याउने प्रयत्न गरिएको हो ।’

उहाँले प्रदेश सभाले पहिलो र दोस्रो अधिवेशनबाट १५ वटा विधेयक पारित गरिएको तथा प्रदेश लोकसेवा आयोगको बिधेयक समितिमा रहेको जानकारी गराउनु भयो ।