शंकरनगरमा वैज्ञानिक वन व्यवस्थापन

848

शंकरनगरमा वैज्ञानिक वन व्यवस्थापन

बुटवल, १ जेठ । शंकरनगर सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्य शुरु भएको छ । वनको दीगो व्यवस्थापनका लागि वैज्ञानिक वन व्यवस्थापन गर्न लागिएको हो ।

कुल ५ सय ८४ हेक्टर क्षेत्रफल जमिनमा फैलिएको शंकरनगर सामुदायिक वनमा यस वर्षदेखि वैज्ञानिक वन व्यवस्थापन कार्य शुरु गरिएको छ । वनलाई रुख खण्ड, पोल खण्ड र वृक्ष खण्ड गरी तीन खण्डमा विभाजन गरेर दीगो विकासका लागि वैज्ञानिक वन व्यवस्थापन गर्न थालिएको हो । पूर्व पश्चिम राजमार्ग देखि दक्षिण शंकरनगर सामुदायिक वन र करहिया सामुदायिक वनको सीमा क्षेत्रमा पर्ने १.३८ हेक्टर क्षेत्रफल वनमा रहेका म्याद पुगेका पुराना रुख कटान गरी वैज्ञानिक वन व्यवस्थापन गर्न थालिएको हो ।

१० वर्षे गुरु योजना अन्तर्गत वैज्ञानिक वन व्यवस्थापनको कार्य शुरु गरिएको शंकरनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राम गिरीले जानकारी गराउनुभयो । वृक्षरोपण खण्डका लागि छुट्टाईएको १४.५ हेक्टर जमिनमा फैलिएको वनलाई १० वर्ष भित्र वैज्ञानिक वन व्यवस्थापन गर्ने गरी काम शुरु भएको अध्यक्ष गिरीले जानकारी गराउनुभयो । १० वर्षे गुरुयोजना अन्तर्गत पहिलो चरणमा १.३८ हेक्टर क्षेत्रफलको वनलाई वैज्ञानिक वन व्यवस्थापन गर्नका लागि यो वर्ष पुराना ५१ वटा रुखहरु कटान गरिएको छ ।

पुराना तथा बुढा सालका ३९, असनाका ३, बोटधाईरो १, जावुनोे ३, क्यामुनको ४ र गाउजुको १ गरी ५१ वटा रुख कटान गरिएको शंकरनगर इलाका वन कार्यालयका अधिकृत गिरिप्रसाद गैरेले जानकारी गराउनुभयो । वनको दीगो विकासका लागि वैज्ञानिक वन व्यवस्थापन गरिएको जिल्ला वन कार्यालय रुपन्देहीका प्रमुख रोमराज लामिछानेले बताउनुभयो । कानुन सम्मत वन क्षेत्रमा रहेका पुराना तथा बुढा रुखहरु कटान गरेर नयां विरुवालाई हुर्काउने गरी वैज्ञानिक वन व्यवस्थापनको काम थालनी गरिएको र यो योजना अन्य सामुदायिक वनहरुमा समेत शुरु गरिएको जिल्ला वन अधिकृत लामिछानेले बताउनुभयो ।

वन ऐन २०४९ र वन निर्देशिका २०७१ अनुसार वैज्ञानिक वन व्यवस्थापन गर्न थालिएको हो । त्यस्तै पोल खण्डका लागि छुट्टाईएको ३ सय ५६ हेक्टर क्षेत्रफलको वनबाट पनि केही रुखहरु हटाईएको छ । यस्तै शंकरनगर सामुदायिक वनले वन क्षेत्रमा बृक्षरोपण गर्ने कार्यलाई पनि निरन्तरता दिदै आएको छ । विगतका वर्षमा जस्तै यसवर्ष पनि ५ हेक्टर क्षेत्रफलको वनमा वृक्षरोपण गर्ने तयारी भैरहेको छ । वृक्षरोपणका लागि ठाउंको ब्यवस्थापन र झाडी सफाई गर्ने कार्य भैरहेको सामुदायिक वनका उपाध्यक्ष रबिन्द्र बस्नेतले जानकारी गराउनुभएको छ ।

वैज्ञानिक वन व्यस्थापनका लागि पुराना रुख कटान गरिएको वन क्षेत्र र बृक्षरोपणका लागि तयारी गरिएको वन क्षेत्रको सोमबार जिल्ला वन कार्यालय, ईलाका वन कार्यालय, शंकरनगर सामुदायिक वनका प्रमुख तथा प्रतिनिधि, उपभोक्ता र सञ्चारकर्मीहरुको टोलीले स्थलगत अवलोकन गरेको थियो ।