पत्रकार महासंघका पदाधिकारीलाई रुपन्देहीमा स्वागत

548

पत्रकार महासंघका पदाधिकारीलाई रुपन्देहीमा स्वागत

बुटवल, २२ भदौ । नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले श्रमजीवि कानुन कार्यान्वयन गर्नकालागि बलियो कदम चाल्न सरकारलाई आग्रह गर्नुभएको छ । सिमित श्रोत र साधनका वापजुध पनि काम गर्ने पत्रकारको क्षमता बिकास र श्रमजीवि कानुन कार्यान्वयनमा बलियो कदम उठाउनकालागि सूचना तथा सञ्चार मन्त्रीलाई आग्रह गरिसकिएको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघका नव निर्वाचित पदाधिकारीलाई नेपाल पत्रकार महासंघ रुपन्देही र नेपाल प्रेस युयिनयन रुपन्देहीले बिहीबार बुटवलमा छुट्टा छुट्टै आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उपाध्यक्ष पोखरेलले पत्रकारको व्यबसायिक तथा पेशागत सुरक्षा, क्षमता अभिबृद्धिमा सरकारको लगानी शुन्य रहेकाले लगानी गर्नुपर्ने र त्यसकालागि महासंघले भूमिका निर्वाह गर्ने जानकारी गराउनु भयो ।

महासंघको सदस्यता सुद्धिकरणकालागि विधान अनुसार नयाँ सदस्यता वितरण तथा नविकरणबाटै सुरु गर्ने जानकारी गराउँदै उहाँले महासंघको अधिवेशनको समयमा सदस्यता वितरण गर्ने कार्यलाई रोक्ने र सदस्यता वितरणमा नयाँ विकल्प खोजिने उल्लेख गर्नुभयो ।
उहाँले मोफसलका पत्रकारको क्षमता बिकास तथा लोक कल्याणकारी विज्ञापन बृद्धि गर्न सरकार सकारात्म रहेको बताउँदै छिटै लोककल्याणकारी विज्ञापन बृद्धि हुने जानकारी गराउनु भयो ।

महासंघ रुपन्देही शाखामा भएको कार्यक्रममा रुपन्देही शाखाका अध्यक्ष यानेन्द्र जिसी, पूर्व अध्यक्ष हरि लम्साल, सल्लाहकार खिमानन्द भट्टराई, उपाध्यक्ष दिनेस पाण्डे, सचिव आरपी आचार्य लगायतले महासंघले मोफसललाई हेर्ने दृष्टिकोण फरक रहेको बताउँदै हरेक गतिबिधिमा मोफसललाई जोड्न, लोककल्याणकारी विज्ञापन बढाउन भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा महासंघका नवनिर्वाचित सचिव उदय जिएम, केन्द्रीय सदस्यहरु पुरुषोत्तम सुवेदी र बसन्त गिरीले महासंघ श्रमजीवि पत्रकारको पक्षमा काम गर्ने बताएका थिए ।

त्यस्तै नेपाल प्रेस युनियनले गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष पोखरेलले आफू युनियनबाट उपाध्यक्ष भएपनि फरक बिचार राख्ने सबैलाई समभाव राखेर काम गर्ने बताउनु भयो ।

युनियन रुपन्देहीकी उपसभापति रेखा भुसालको सभापतित्वमा भएको कार्यक्रममा युनियनका सल्लाहकार तथा पूर्व केन्द्रीय उपसभापति हरि लम्साल, नवनिर्वाचित सचिव उदय जिएम, प्रेस युनियनका केन्द्रीय सचिव केवी राना, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, प्रेस युनियनको पश्चिमाञ्चल क्षेत्रीय सचिव हरिष ढकाल, रुपन्देहीका सचिव कबिन्द्र नेपाललगायतले स्वागत सहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।