Wednesday 19th September 2018
  • New title for a=>html, img=>alt
  • स्तनपान गराउने महिलामा जनचेतनाको कमी

    August 7, 2018


    रेनुका गिरी/
    बुटवल, २२ साउन । रुपन्देही पड्सरीकी लक्ष्मी घिमिरेले छोरा समिरलाई पर्याप्त मात्रामा बिगौती दुध खुवाउन पाउनुभएन । बिगौति दुध बालबालिकाकोलागि अमृत सरह मानिएपनि उहाँलाई त्यसबारे ज्ञान नभएका कारण पनि नखुवाएको बताउनु हुन्छ । तिलोत्तमा नगरपालिका १ की चुन्नी झेडीले पनि छोरीलाई बिगौती दुध पर्याप्त खुवाउन पाउनु भएन । उहाँका परिवारले बिगौती दुध खुवाए खराब गर्छ, होचो हुन्छ, लुरे हुन्छ भन्दै चार घण्टासम्म उहाँलाई देखाउँदा पनि देखाएनन् ।

    अझै पनि महिलामा चेतनाको कमीले गर्दा कम दूध आउँदैमा नचुसाई अरु सुत्केरीलाई चुसाउन लगाउने, दिनमा ३ वा ४ पटकमात्र स्तनपान गराउने, दूध कम आए बोतलको दूूध वा अन्य ल्याक्टोजिन जस्ता कृत्रिम तयारी दुग्ध पदार्थ खुवाउने चलन बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।

    बिगौती दुधमा रोगसँग लडनसक्ने शक्तिशाली तत्व हुन्छ जसले बच्चालाई संक्रमण हुन दिदैन, बालरोग विशेषक्ष डा. बद्रीकुमार गुप्ता भन्नुहुन्छ । उहाँले चेतनाको कमिले अझैपनि आमाहरु बिगौती दुध खुवाउन हिच्किचाउने गरिरहेको बताउनुभयो । थाहा पाउनेले पनि निरन्तर स्तनपान गराउन नसक्दा बच्चाको स्वास्थ्य जीवनको पहिलो चरणमै जोखिममा पर्ने गरेको उहाँको भनाई छ । डा. बद्रीका अनुसार बच्चालाई पुर्ण स्तनपान नगराउँदा उनीहरुलाई कुपोषणको समस्या देखिने गरेको छ । स्तनपानको अभावमा ख्याउटेपनाको समस्या समेत बढने र विभिन्न किसिमको रोगले समेत आक्रमण गर्ने गरेको उहाँले जानकारी गराउनु भयो । नवजात शिशुमा रोगप्रतिरोधात्मक शक्ति नहुने भएकाले पनि आमाको दुधले उनिहलाई संरक्षण गर्छ ।

    सन् १९९२ देखी सुरु भएको स्तनपान सप्ताह ‘स्तनपान जीवनको आधार’ भन्ने नाराका साथ अगस्ट १ देखि ७ तारिख सम्म विश्वब्यापीरुपमा मनाउँदै आईएको छ । वश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन शुरु गरिएको हो ।

    जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले पनि जिल्लामा एक सातासम्म विभिन्न कार्यक्रम गरि मनायो । नवजात शिशुलाई जन्मेको एक घण्टा भित्र स्तनपान गराउने र पहिलो छ महिनासम्म मात्र स्तनपान गराउने अनि दुई वर्षसम्म अन्य खानासंगै निरन्तर स्तनपान गराउने हो भने प्रत्येक वर्ष आठ लाख बालबालिकाको जिवन रक्षा गर्न सकिने विश्वस्वास्थ्य संगठनको पछिल्लो दावी छ ।

    पछिल्लो दुई दशकमा भने बाल मृत्युदर उल्लेख्य रुपमा कमि आएको छ । यद्यपी सहस्राब्दी विकास लक्ष्यमा समाबेस भएको चौथो लक्ष्य बाल मृत्युदर घटाउने कार्य अझै पुरा भएको छैन् । राष्ट्रिय स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण २०११ अनुसार नेपालमा पाँच वर्ष मुनिका बालबालिकामा गम्भीर तथा मध्यम प्रकारले २९ प्रतिशतमा तौल कम र ४१ प्रतिशतमा हाचोपना पाईएको छ । यो तथ्यांक विश्वको औषत हिसाबले क्रमशः १५ प्रतिशत र २५ प्रतिशत हो । अल्पविकसित देशमा भने यो क्रमशः २३ प्रतिशत र ३७ प्रतिशत छ । यसले हाम्रो देशका पाँच वर्ष मुनिका बालबालिकाको पोषण अवस्था दयनीय देखाँउछ ।

    सन् २०११ को राष्ट्रिय तथ्यांक हेर्ने हो भने ९८ प्रतिशत बालबालिकाले स्तनपान गर्ने गरेका छन् । तर विश्व स्वास्थ्य संगाठनको तथ्यांकमा भने ६ महिनासम्म नियमित स्तनपान गर्ने ७० प्रतिशतमात्र देखिएको छ । त्यसमा पनि अझ घरमै जन्मने बच्चामा ३६ प्रतिशत र स्वास्थ्य संस्थामा जन्मनेमा ५६ प्रतिशतले मात्र जन्मेको एक घण्टा भित्र स्तनपान गराएको पाईएको छ ।

    स्तनपानको जनचेतना र संवद्र्धन गरि बच्चालाई प्रयाप्त पोषणको ब्यवस्था गर्न आमाको दुधलाई प्रतिस्थापना गर्ने बस्तु बिक्रि बितरण नियन्त्रण ऐन २०४९ लागु भएपनि कार्यन्वयनमा उदासिनता देखिएको छ । तर विभिन्न उद्योगले ऐन बिपरित बाल आहार उत्पादन गरि बिक्रि बितरण गर्दै आएका छन् । जसले गर्दा कानुन संरक्षित बाल न्याय र अधिकार निरुत्साहित भएको छ । स्तनपान बालबालिकाको जन्मसिद्ध अधिकार हुनुको साथै आमाको प्रजनन स्वास्थ्य सुरक्षा र संरक्षणको लागी पनि अत्यन्तै महत्वपुर्ण मानिन्छ ।

    बच्चा जन्मेको एक घण्टा भित्रमा स्तनपान गराउने, बच्चाले चाहेको बेलामा स्तनपान गराउने दुधदानीको प्रयाग नगर्न, ६ महिनासम्म आमाको दुधमात्र खुवाउन, २ वर्षसम्म नियमित स्तनपान गराईरहन र निरन्तर बच्चासंग समय बिताउन नसक्ने आमाले दूध निचोरेर सुरक्षित ढंगले संरक्षण गरेर भएपनि आफ्नै दुध खुवाउन चिकित्सकको सुझाव छ ।

    आमाको दूधमा ल्याक्टोफर्मिन नामक तत्व हुन्छ जसलाई रोगसँग लडने शक्तिका रुपमा लिने गरिन्छ । ल्याक्टोफर्मिन बच्चाको शरिरमा पुगेपछि फलाम तत्वमा परिणत हुन्छ । पर्याप्त मात्रामा आमाको दुध खान नपाउने बालबालिकामा मधुमेहको सम्भावना अत्याधिक हुने डा. बद्री बताउनु हुन्छ । स्तनपानले बालबालिकाको दिमागी विकास समेत गराउँछ । कम उमेरमै जन्मिएका बालबालिकाले आमाको दुध पर्याप्त खान पाएनन् भने नेक्रोटाइजिङ एन्टोरोकोलाइटिस जस्तै घातक रोग लाग्न सक्छ । त्यसैले जन्मेको एक घण्टा देखि ६ महिनासम्म बालबालिकाकोलागि आमाको दुध आहार मात्र हैन जीवनकालागी रक्षक समेत हुन्छ ।