सुन्तला बोटको बिमा गर्न किसानको माग

779

सुन्तला बोटको बिमा गर्न किसानको माग

प्रेमनारायण आचार्य/
अर्घाखाँची, २४ पुस । अर्घाखाँचीको पाणिनी गाँउपालिका वाड नम्वर १ पणेना सिम्लेका किसानले सुन्तला खेतीको बिमा गरिदिन सरकारसंग माग गरेका छन् । उनीहरुले कहिले रोग त केहिले असीनाले सुन्तला खेती नष्ट हुदा किसानलाई मार परेको भन्दै बिमाको माग गरेका हुन् ।

विगतका बर्षहरुमा सुन्तला बिक्रिबाट ३ करोड भित्रिने सिम्लेमा यस बर्ष असीनाले नोक्सान गरेपछि उत्पादन आधा घटेको छ । जसका कारण डेढ करोड मात्र भित्रिने भएको किसान रेवतीराज पौडेलले बताउनु भयो । ४९ जना सुन्तला खेती गर्ने किसान रहेको सिम्लेमा तथ्यांक संकलन गर्दा असीनाले आधा उत्पादन घटेको छ । उत्पादन आधा घट्दा गाँउमा डेढ करोड रकम भित्रिन नसकेको उहाँले बताउनु भयो । किसानलाई राहतका कार्यक्रमका साथै बिमाको व्यबस्था मिलाउन उहाँले सरकारसंग माग गर्नुभयो ।

पणेनाको सिम्ले सुन्तला खेतीको नमुना गाँउ हो । भारतमा सिपाहीको जागिर गर्दै गर्दा खान नपाएर आएका नेपाली भन्ने असभ्य शब्द सुनेका कारण भारतीय पल्टनको जागिर चटक्कै छाडेर स्वदेश फर्किएका पणेनाका ७३ बर्षिय हुमनाथ पौडेल अहिले अर्घाखाँचीकै सफल नमुना सुन्तला किसान बन्न सफल हुनु भएको छ । २०२७ सालमा भारतमा जागीर गर्दै गर्दा भारतीयले नेपालीहरु प्रती गरेको घृणाको बचन सहन नसकी जागीर चटक्कै छाडेर घरमै फर्किएका पौडेल नेपाली माटोमा केही गरेर देखाउन सक्छु भन्ने दृढ संकल्पका साथ सुन्तला खेती गर्न सुरु गर्नुभएको थियो ।

उहाँ आफूमात्रै सुन्तला लगाउनु भएन, गाउँका सबैलाई सुन्तला लगाउन प्रेरित गर्नुभयो । उहाँले पैसा हुनेलाई बिरुबा पैसोमा बेच्नुभयो भने नहुनेसंग अन्न, डोका नाम्ला र दाउरा लिएर पनि सुन्तलाका बिरुवा घरघरमा लगाउन अनुरोध गर्नुभयो । उहाँले आफ्नो घरमा मात्रै सुन्तला खेतीबाट बार्षिक ६ लाख रुपैया भन्दा बढि आम्दानी गर्नुहुन्छ । आफ्नो परिबारलाई मस्तीले खान लाउन पुगेको उहाँले बताउनु भयो । अहिले असीनाले हानेको कारण सुन्तलाबाट सोचे जति आम्दानी गर्न नसकिएको उहाँको भनाई छ । उहाँको सुन्तला बगैचामा अहिले झण्डै साढे ५ सय सुन्तलाका बिरुवा छन् ।

एक ब्यक्तिको पहलमा २०२७ सालमा सुरु भएको सुन्तला खेतीले अहिले पणेना गाविस र पोखराथोक गाविसमा समेत प्रमुख उत्पादनको स्रोत बनेको छ । पणेना गाविसमा दुइ सय र वाड न १ सिम्लेमामात्रै झण्डै ७० जना किसानले अहिले सुन्तला खेतीबाट घटीमा ५० हजार देखि बढिमा १२ लाख सम्म मनग्य आम्दानी गरिरहेका छन् ।

पणेना वाड न. १ सिम्लेमा बैदेशिक रोजगारीमा गएका युबाहरु पनि रोजगारीबाट फर्किएर ब्यबसायिक सुन्तला खेतीमा लागेका छन् । ब्यबसायिक सुन्तला खेतीमा लागेका सिम्लेका रेवतीराज पौडेलको बगैचामा झण्डै तीन सय पचास सुन्तलाका रुख रहेका छन् । सुन्तला खेतीबाट बार्षिक तीन देखि पाँच लाख रुपैया आम्दानी हुने गरेको उहाँको भनाई छ । सुन्तला बिक्रिको पनि सिम्लेका किसानलाई कुनै समस्या छैन । सिम्लेमा उत्पादन भएको सुन्तला प्रतिकिलो ७५ देखि ९० रुपैंयासम्ममा बिक्रि भईरहेको पौडेलले बताउनु भयो ।

सुन्तला बिक्रिबाट मात्रै नभई रेवतीराजले सुन्तला जातका बिरुवाको नर्सरी राखेर बिरुवा बिक्रिबाट समेत बार्षिक १० लाख रुपैंया कमाउने बताउनु भयो । उहाँको नर्सरीमा अहिले सुन्तला, कागती, जुनार, इन्डियन किन्नु जातको सुन्तला, जापनीज उन्सु लगायत बिभिन्न जातका ६० हजार बिरुबा छन् ।

यद्यपी गएको बर्ष भन्दा यस बर्ष सुन्तला उत्पादनमा बृद्धि भएको जिल्ला कृषि बिकास कार्यलयले बताएको छ । जिल्लामा झण्डै एक हजार हेक्टरमा सुन्तला खेती भैरहेको र यस बर्ष ५५ सय मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि बिकास कार्यलयका थिरलाल गैरेले बताउनु भयो । जिल्लामा उत्पादन भएको सुन्तलाले राम्रो बजार पाएको र उत्पादन भएको सुन्तला सन्धिखर्क, तम्घास, तानसेन र बुटबलमा बिक्रि भैरहेको जिल्ला कृषि बिकास कार्यलयले जनाएको छ ।