रुपन्देहीलाई प्रदेश राजधानी घोषणा गरेको खुसीयालीमा दीपावली

519

रुपन्देहीलाई प्रदेश राजधानी घोषणा गरेको खुसीयालीमा दीपावली

बुटवल, ३ माघ । आफ्नो माग अनुसार सरकारले प्रदेश राजधानीकालागि अस्थायी मुकाम रुपन्देही तोकेको खुसीयालीमा नेपाली काँग्रेस लगायत अन्य राजनीतिक दल तथा संघसंस्थाले रुपन्देहीका बिभिन्न स्थानमा दीपावली गरेका छन् । प्रदेश राजधानीकोलागि अस्थायी मुकाम रुपन्देही तोकेको खुसीयालीमा नेपाली काँग्रेसले बुटवल, देवदह, सैनामैना, तिलोत्तमाको मणिग्राम, भैरहवा लगायतका स्थानमा दीपावली गरेको हो ।

बुटवलको ट्राफिकचोकमा आयोजना गरिएको दीपावलीमा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, क्षेत्र नं. २ का सभापति हरि लम्साल, प्रतिनीधि सभा निर्वाचनमा पार्टीका उम्मेदवार तथा महाधिवेशन प्रतिनीधि युवराज गिरी, राप्रपा प्रजातान्त्रिकका प्रवक्ता प्रदिप उदय नेपाली काँग्रेसका बुटवल नगर सभापति खेलराज पाण्डेय, प्रदेश सभामा सदस्य उम्मेदवार तथा बुटवल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष महेशमान सिंह, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल लगायतले मन्तव्य व्यक्त गर्दै सरकारले बहुसंख्यक जनाताको भावनाको कदर गरेको बताउँदै अव बन्ने सरकाले दायित्व बोध गरेर बुटवललाई स्थायी राजधानी बनाउन माग गरेका थिए ।

प्रदेश नं. ५ को राजधानी रुपन्देही बनाउनकालागि नेपाली काँग्रेसका गाउँ, नगर क्षेत्र र जिल्लाले स्थानीय तह, प्रदेश तथा प्रतिनीधि सभाको निर्वाचनमा मुख्य मुद्धा बनाउँदै आएका थिए । आफ्नो मुद्धालाई स्थापित गर्नकालागि नेपाली काँग्रेसका बिभिन्न निकायका इकाईले स्थानीय स्तरमा दवाव देखि केन्द्रीय स्तरमा सरकारको ध्यानाकर्षण गराउने सम्मका कार्यलाई दवाव स्वरुप निरन्तरता दिँदै आएपछि सरकारले रुपन्देहीलाई प्रदेशको अस्याथी मुकाम तोक्न बाध्य भएको हो ।

यसैबिच नेपाली काँग्रेसका बुटवल नगर सभापति खेलराज पाण्डेले बुधबार नै प्रेस विज्ञप्ती जारी गरि बुटवललाई अस्थायी राजधानी बनाएको पार्टी सभापति तथा प्रधानमन्त्री सेरबहादुर देउवा, सरकार तथा मन्त्री परिषदलाई आभार व्यक्त गर्नुभएको छ । त्यस्तै उहाँले विज्ञप्ती मार्फत बुटवललाई अस्थायी राजधानी बनाउन माग गर्दै डेलिगेसनमा जाने नेताहरु तथा हस्ताक्षर संकलन गर्ने सबैप्रति धन्यवाद सहित आभार व्यक्त गर्नुभएको हो ।

त्यस्तैगरी नेकपा एमालेले पनि प्रदेश राजधानी बुटवल घोषणा गरेकोमा उक्त निर्णयको स्वागत गरेको छ । एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले प्रेस विज्ञप्ती जारी गरी सेवा प्रवाह, भौतिक पुर्वाधार, सुरक्षा समेत हरेक हिसावले उपयुक्त रुपन्देहीलाई राजधानी बनाउने निर्णयको स्वागत गरेको हो ।