बिभिन्न ठाउँमा तीज मिलन कार्यक्रम

854

बिभिन्न ठाउँमा तीज मिलन कार्यक्रम

बुटवल, २३ भदौ । हरितालिका तीजको अवसरमा बिभिन्न संघसंस्थाले तीज मिलन कार्यक्रम गरेका छन् । त्यसै अवसरमा पाल्पाको भैरवस्थनबाट आई अस्थायी वा स्थायी रुपमा रुपन्देहीमा बसोबास गर्ने व्यक्तिहरुको संस्था पाल्पा भैरवस्थान–रुपन्देहीले परिवारले पनि शनिबार बुटवलमा तीज मिलन कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै परिवारका संरक्षक मेघराज कंडेलले तीज पर्वले मिलालाई एकताको सुत्रमा बाधेजस्तै गरी भैरवस्थानबाट रुपन्देहीमा आएका व्यक्तिलाई एकताको सुत्रमा बाँध्ने काममा परिवार लागेको बताउनु भयो । उहाँले स्थानीय तहको पुनःसंरचनाका क्रममा आफूहरुको गाउँपालिकाको नाममा भैरवस्थान हुनुपर्नेमा रिप्दिकोट राखिनु एसियाकै ठूलो त्रिसुल र भैरवनाथ बाबाको अपमान भएको महसुस गरिएको भन्दै आपत्ति प्रकट गर्नुभयो ।

त्यस्तै संस्थाका सल्लाहकार गोपाल पोखरेलले संस्थाको संस्थागत बिकासका लागि आफूले हर तवरले सहयोग गर्न तयार रहेको बताउनु भयो । संस्थाका अध्यक्ष केशव खनालको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष तथा कार्यक्रम संयोजक रामचन्द्र कोईराला, सांस्कृतिक कार्यक्रम संयोजक सीता खनाल, सचिव अर्जुन बिक लगायतले भनाई राखेका थिए ।

त्यस्तै गुल्मीको हुँगाबाट आई रुपन्देहीमा बसोबास गर्नेहरुको संस्था हुँगेली सम्पर्क समाज रुपन्देहीले पनि शनिबार बुटवलमा तीज मिलन तथा बिद्यार्थी सम्मान कार्यक्रम गरेको छ । हरितालिका तीजको अवसरमा दिदी बहिनीलाई दर खुवाउने तथा २०७४ सालको एसईई परिक्षामा उत्कृष्ट हुने हुँगेलीका छोराछोरीलाई सम्मानकालागि कार्यक्रम गरिएको थियो । उनीहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले उनीहरुलाई सम्मान गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै नेता भण्डारीले तीजले महिलालाई एकताको सुत्रमा बाँध्ने काम गरेको बताउँदै तीजको सांस्कृतिक महत्वमा जोड दिनुभयो । संस्कृतिको जगेर्नाकालागि समाजले काम गरेकोमा आभार व्यक्त गर्दै तीजलाई सांस्कृतिक पर्वकै रुपमा बिकास गर्न र भड्कीलो हुनबाट रोक्न आग्रह गर्नुभयो ।

समाजका अध्यक्ष विष्णु भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणानीधि भण्डारी, सैनामैना नगरपालिका कार्यपालिका सदस्य सविता भण्डारी, समाजका उपाध्यक्ष देवीप्रसाद पाण्डे, महासचिव धनबहादुर राना लगायतले भनाई राखेका थिए ।