गजल

869

गजल

विजेताहरु जितको उन्मादले, नढले हुन्थ्यो ।
पराजितहरु हारको ग्लानीले, नगले हुन्थ्यो ।।

लेखेका छौ राम्रा कुराहरु, घोषणा पत्रमा त ।
आफैले बोलेका ती बाचाहरु, नछले हुन्थ्यो ।।

विकासमै लाग्नुपर्छ सबै, मिलिजुली देशको ।
दलहरूको झगडाले यो देश, नजले हुन्थ्यो ।।

फूलुन सबै फूलहरु, यो साझा फूलबारीमा ।
विषालु फलहरू यो देशमा, नफले हुन्थ्यो ।।

पालना गरौं नियमको, मिलिकन हामी सबै ।
कुल्चिएर कानुन देशमै कोही, नचले हुन्थ्यो ।।

नेपाल बन्दको खेती, भयो धेरै हाम्रो देशमा ।
हडताल भन्दै सडकमा टायर, नबले हुन्थ्यो ।।

आत्मनिर्भर बन्नैपर्छ, अब त सारा नेपाली ।
गुलामी भइ विदेशीको गोडा, नमले हुन्थ्यो ।।

~तिलक तारामी ” रेशाली “
बुटवल – ११, रुपन्देही