बालश्रम न्यूनिकरणकालागि अनौपचारिक बालशिक्षा कार्यक्रम

573

बालश्रम न्यूनिकरणकालागि अनौपचारिक बालशिक्षा कार्यक्रम

बुटवल, ५ असोज । जापान अन्तर्राष्ट्रिय लेवर फाउन्डेसन (जिलाफ)को सहयोगमा नेपाल ट्रेड युनियन काँग्रेसले सञ्चालन गरेको अनौपचारिक बालशिक्षा कार्यक्रम मार्फत ८० प्रतिशत बालबालिकालाई बिद्यालय भर्ना गराउन सफल भएको छ ।

अनौपचारिक क्षेत्रमा रहेका मजदुरलाई औपचारिक गर्ने र बालश्रम न्यूनिकरण गर्नु उद्देश्यले जिलाफको सहयोगमा नेपाल ट्रेड युनियन काँग्रेसले सन् १९९६ देखि सञ्चालन गरेको अनौपचारिक बालशिक्षा कार्यक्रम अहिले रुपन्देही सहित ९ जिल्लामा सञ्चालनमा छ ।

नेपाल सरकारको स्वीकृतिमा सञ्चालित तीन वर्षे अनौपचारिक बाल शिक्षा कार्यक्रममा प्रत्येक बिद्यालयमा ५० जना बिद्यार्थी सहभागि छन् । बिभिन्न कारणले बिद्यालय जान नसकेका बिद्यार्थीलाई पढाउने र औपचारिक शिक्षाकालागि बिद्यालयमा भर्ना हुन उत्प्रेरित गराउन यो कार्यक्रम सञ्चालन गरिएको नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय उपमहासचिव गणेश केसीले बताउनु भयो ।

कार्यक्रम सञ्चालन भएको २२ वर्षमा ८ हजार बढी बालबालिकालाई अनौपचारिक शिक्षा प्रदान गरिएको र त्यसको ८० प्रतिशत बालबालिका बिद्यालय भर्ना भएका छन् भने उनीहरुले राम्रो प्रगति गरेको उहाँले बताउनु भयो । उनीहरुलाई अनौपचारिक शिक्षाको सम्पूर्ण खर्च जिलाफले व्यहोर्छ । त्यसरी सञ्चालित कतिपय बिद्यालय आत्मनिर्भर उन्मुख भएका छन् ।

त्यसरी सञ्चालित बिद्यालयमा जिलाफका प्रतिनीधि सहित नेपाल ट्रेड युनियन काँग्रेसको टोलीले स्थलगत अवलोकन गरेको छ । कास्की, पाल्पा हुँदै रुपन्देही आएको टोलीले बिद्यालयको अवलोकन गर्नुका साथै ती बालबालिकाका अभिभावकसंग छलफल समेत गरेको छ । त्यस अवसरमा उहाँले बालबालिका बिद्यालय जान सकेनन् भने बालश्रम बढ्ने भएकाले बालश्रम न्यूनिकरणकालागि ट्रेड युनियनले यो कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।

तर ती बिद्यालयका पनि आफ्नै समस्या भने नभएका होईनन् । कपियत स्थानमा आवश्यकता नदेखिएको, रेकर्ड व्यबस्थापन लगायतको समस्या रहेको बताउँदै नेपाल ट्रेड युनियन काँग्रेस जिलाफ कार्यक्रम संयोजक ईन्द्रदेव यादवले आवश्यकता नभएका बिद्यालयलाई आवश्यकता पहिचान गरि त्यस्ता स्थानमा स्थानान्त्रण गर्न सकिने बताउनु भयो ।

बिद्यालय निरिक्षणका क्रममा बिद्यार्थीलाई नियमित रुपमा बितरण गरिने बिद्यालय पोशाक तथा जुत्ता समेत वितरण गरिएको थियो । त्यस अवसरमा केन्द्रीय उपमहासचिव केसीले बिभिन्न कारणले बिद्यालय जान नसकेका बालबालिकाको भविश्य सुनिश्चित गर्ने उद्देश्यले अनौपचारिक बालशिक्षा कार्यत्रलम सञ्चालन गरिएको बताउँदै त्यस्ता बालबालिकालाई कार्यक्रमबाट अवसर लिन समेत आग्रह गर्नुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष तुलाराम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष काजिमान श्रेष्ठ, नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघका केन्द्रीय अध्यक्ष जेवी गुरुङ, जिलाफका प्रतिनीधि लक्ष्मण शाही लगायतले भनाई राखेका थिए । कार्यक्रम नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका सचिव हिमबहादुर केसीको सञ्चालनमा भएको थियो ।