ट्रेड युनियन आन्दोलनकालागि हरेक जिल्लामा सुझाव संकलन गरिने

351

ट्रेड युनियन आन्दोलनकालागि हरेक जिल्लामा सुझाव संकलन गरिने

बुटवल, भदौ । ट्रेड युनियन आन्दोलनलाई ससक्त बनाउन नेपाल ट्रेड युनियन काँग्रेसले जिल्ला जिल्लामा सुझाव संकलन अभियान सञ्चालन गर्ने भएको छ । नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश पाँच कार्यसमितिको सोमबार बुटवलमा बसेको बैठकले मजदुरका प्राप्त अधिकार सुरक्षित गर्दै थप अधिकार स्थापित गराउन सुझाव संकलन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश पाँचमा रहेका १२ वटै जिल्लामा अभियान सञ्चालन गर्नेछ भने मुलुकको पुनःसंरचनासंगै फुटेका जिल्ला नवलपरासी र रुकुममा संगठन बिस्तार गर्नकालागि कार्यसमितिले अध्यक्षलाई अख्तियारी प्रदान गरेको छ । बैठकले नेपाल ट्रेड युनियन काँग्रेस केन्द्रीय अध्यक्ष तथा पथा पदाधिकारीलाई बधाई ज्ञापन गर्नुका साथै सम्मान समेत गरेको छ ।

उक्त बैठकमा बोल्दै नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय अध्यक्ष पुष्कर आचार्यले मजदुर हकाधिकारकालागि युनियनले नीति कार्यक्रम बनाएर अंगाडी बढ्ने बताउनु भयो । उहाँले हरेक निकायमा मजदुरको पहुँच र प्रतिनीधित्व कसरी स्थापित गर्न सकिन्छ, त्यसतर्फ केन्द्रीय समिति क्रियाशिल रहने बताउनु भयो ।

अध्यक्ष आचार्यले प्रतातन्त्र विना मजदुरका हक हित हुँदैन भन्ने मान्यता कायम रहेको बताउँदै कम्युनिष्ट सरकारका कारण प्रजातन्त्र समाप्त हुने र मजदुरका हकहित पनि समाप्त हुने हुन् की भन्ने खतरा बढ्दै गएको उल्लेख गर्नुभयो । अहिले कठिन परिस्थितीमा आफू ट्रेड युनियनको नेतृत्वमा आएपनि चुनौतीको सामना गरेर मुलुकको परिवर्तित व्यबस्था अनुसार मजदुरका हकाधिकार स्थापित गराउन आफू प्रतिवद्ध रहेको बताउनु भयो ।

सरकारले आस्थाका आधारमा कर्मचारी सरुवा बढुवा सुरु गरेको आरोप लगाउँदै लोकतन्त्रमा पनि मजदुरका संवैधानिक अधिकार तोड्न खोज्छ भने नेपाल ट्रेड युनियन ससक्त प्रतिकार गर्न तयार रहेको बताउनु भयो । वैदेशिक रोजगारीमा रहेका मजदुरको भरमा धानिएको मुलकलाई रेमिट्न्यासमै निर्भर राख्न रेमिट्यान्सको २६ प्रतिशत योगदानलाई बढाएर सरकारले ३१ प्रतिशत पु¥याउने लक्ष्य लिएको उहाँले आरोप लगाउँदै वैदेशिक मजदुरको रेमिट्यान्सले धानिएको मुलुकमा स्वदेशी मजदुरमाथि सरकारले धावा बोल्ने काम नगर्न चुनौती दिनुभयो ।

प्रदेश समितिका अध्यक्ष मुकुन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठ र उपमहासचिव गणेश कसीले सदस्यता अभिबृद्धि तथा व्यबस्थापन, संगठक र प्रशिक्षक तयारी लगायतका संगठनलाई चुस्त र दुरुस्त बनाउनकालागि केन्द्रीय समितिले नीति कार्यक्रम बनाएर अंगाडी बढ्ने जानकारी गराउनु भएको थियो ।

नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश समितिका उपाध्यक्ष कृष्णप्रसाद वेलवासेको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव नन्दराम भट्टराईले गर्नुभएको थियो । त्यस्तै प्रदेश समितिको बैठकमा सहभागि हुन बुटवल आउनु भएका केन्द्रीय अध्यक्ष सहितको कार्यसमितिको टिमलाई नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीले पनि स्वागत गरेको छ । युनियन रुपन्देहीका अध्यक्ष तुलाराम गुरुङ्को अध्यक्षतामा भएको कार्यक्रममा युनियन रुपन्देहीका निवर्तमान अध्यक्ष काजिमान श्रेष्ठ, सचिव हिमबहादुर केसी लगायतले स्वागत गर्नुभएको हो ।