युवालाई उत्प्रेरणाकालागि नियमित रक्तदान

904

युवालाई उत्प्रेरणाकालागि नियमित रक्तदान

बुटवल, २७ साउन । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देही, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदह र रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीको संयुक्त आयोजनामा आईतबार बुटवलमा रक्तदान कार्यक्रम भएको छ ।

बिरामीले रगतको अभावमा भोग्नुपर्ने मृत्युवरण अन्त्यकालागि युवालाई रक्तदानमा अभिप्रेरणा प्रदान गर्ने उद्देश्यले क्लवले प्रत्येक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको क्लवका अध्यक्ष ओमप्रकाश अर्यालले बताउनु भयो । सोही अनुसार रक्तसञ्चार सेवा केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रममा तीन वटै क्लवका पदाधिकारी, सदस्य तथा शुभेच्छुक गरि ७० जनाले रक्तदान गरेको उहाँले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा बोल्दै रोटरीका एसिस्टेन्ट गभर्नर खेम कार्कीले रक्तदान गर्न युवाहरुमा चेतना बिकास भएका कारण पछिल्लो समयमा रगतकै अभावमा बिरामीले मृत्युवरण गर्नुपर्ने परिस्थिती हट्दै गएको बताउनु भयो । उहाँले अझैपनि तराईका दक्षिणी भेगका मानिसले रक्तदान गर्न डराउने गरेकाले त्यस क्षेत्रमा पनि सामाजिक क्लवहरुले रक्तदान गर्न जनचेतना जगाउन आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै नेपाल रेडक्रस सोशाईटी रुपन्देही शाखाका सभापति प्रेमलाल उदासले अहिले रक्तदाताको संख्यामा अत्यधिक बृद्धि भएपनि रक्तदान गर्न नचाहनेको संख्या पनि उत्तिकै रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार जिल्लामा दक्षिण भेगका जनता रक्तदान कार्यक्रमसंग परिचित छैनन् । रेडक्रस सोशाईटीले दक्षिणी भेगमा रक्तदान गर्नकालागि कार्यक्रम बनाएर गएपनि सफल हुन नसकेको बताउँदै अध्यक्ष उदासले सामाजिक क्लवले पनि त्यस क्षेत्रमा बढी भन्दा बढी रक्तदान गर्न उत्प्रेरणा जगाउने कार्यक्रम गर्न आग्रह गर्नुभयो ।

क्लवका सचिव थानेश्वर पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा कार्यक्रम संयोजक देवीलाल पाण्डे, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहका अध्यक्ष नविन थापा लगायतले रक्तदानको महत्वका बारेमा प्रकाश पारेका थिए ।

त्यस्तैगरी युरासीया रेयुकाई १७ औं शाखा भैरहवाले पनि शनिबार खुल्ला रक्तदान कार्यक्रम गरेको छ । युरासीया रेयुकाईको देशव्यापी रुपमा आयोजना गरिएको रक्तदानमा भैरहवा शाखाले आयोजना गरेको कार्यक्रममा १४ जनाले रक्तदान गरेका थिए ।

भैरहवा शाखा सञ्चालक समितिका अध्यक्ष शिवुचो तुलाराम गुरुङ्को अध्यक्षतामा भएको कार्यक्रममा संरक्षक तथा सल्लाहकार शिबुचो तीलकुमारी गुरुङ, कोषाध्यक्ष जुनशिबुचो बिरुपा बस्याल लगायतले भनाई राखेका थिए । युनिभर्सल मेडिकल कलेज रक्त सञ्चार सेवा केन्द्र भैरहवाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको थियो ।