Wednesday 13th December 2017
  • New title for a=>html, img=>alt
  • वाम गठबन्धनको आन्तरिक रणनिती -प्रदेशको राजधानी दाङ ,नाम लुम्बिनी

    December 4, 2017


    बुटवल / आसन्न निर्वाचनको मत परिणामपछि पाँच नम्बर प्रदेशको दाङ्ग घोषणा भयो भने बुटवलमा बिरोधको ज्वालामुखी बिस्फोट हुनेवाला छ । कथंकदाचित बुटवल, रुपन्देही वा आसपासका जिल्लामा भयो भने दाङ्गमा आन्दोलनको आगो दन्कने निश्चित प्रायः छ । तर दाङ्गका बिभिन्न पार्टीका उम्मेदबार तथा नेताले दाङ्गको तुल्सीपुर नै पाँच नम्बर प्रदेशको राजधानी बन्ने कुरामा ठोकुवाका साथ फलाकीरहेका छन भने यता बुटवल, रुपन्देहीमा पनि उम्मेदबार तथा नेताहरु राजधानी बनाएरै छाड्ने कसम खाईरहेका छन । तर दुबै क्षेत्रका जनता प्रदेशको राजधानीको सन्दर्भमा असमन्जस अवस्थामा रहेका छन । थरिथरि पार्टीका थरिथरि नेताका थरिथरि कुरा सुनेर जिल्ल परेका छन ।
    दाङ्ग प्रदेश सभा उम्मेदबार तथा नेकपा एमालेका प्रभावशाली नेता एवं पुर्वमन्त्री शंकर पोखरेलले दाङ्गको तुल्सीपुरमै प्रदेशको राजधानी बन्ने र आफु मुख्यमन्त्रीको प्रमुख दावेदार रहेको घोषणा गर्दै आईरहेका छन । उता नेकपा माओबादी केन्द्रका प्रभावशाली नेता एवं पुर्व उपप्रधानमन्त्री कृष्णबहादुर महराले पनि प्रदेशको राजधानी दाङ्गको तुल्सीपुरमै बनाउने निर्णय भएको बताउँदै आएका छन । महरा उप्रधानमन्त्री भएका बेला बुटवलमा रहेको पुनराबेदन अदालतलाई स्तरउन्नती गर्दै प्रदेश स्तरिय उच्च अदालत बनाएर दाङ्ग तुल्सीपुर पुराएका थिए । अर्को प्रदेश स्तरिय प्रहरी प्रमुखको कार्यालय अर्थात एआईजी अफिस पनि माओबादी केन्द्रकै अर्का प्रभावशाली नेता तथा तत्कालिन गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले दाङ्ग मै स्थापना गर्न सफल भएका छन । यसप्रकार बर्तमान बाम गठबन्धनका नेता तथा मन्त्रीहरुले धमाधम प्रदेशको राजधानी बनाउन आवश्यक पुर्वाधारहरु दाङ्गमा पुराउदैछन । तर यता बुटवलमा तिनै बाम गठबन्धनका नेता तथा कार्यकर्ताहरुले बुटवलमै वा रुपन्देहीमै प्रदेशको राजधानी बनाउने भन्दै कसम खाँदै हिँडेका छन ।
    नेकपा एमालेका नेता तथा उपमहासचिवद्वय बिष्णु पौडेल र घनश्याम भुसालले राजधानी बुटवल वा रुपन्देही जिल्लामा बनाएरै छाड्ने प्रतिबद्धता ब्यक्त गरेर थाकेका छैनन् भने माओबादी केन्द्रका नेता डिलाराम आचार्य लगाएतका नेता तथा उम्मेदबारहरु पनि प्रदेश राजधानी दाङ्गमा बन्नै नसक्ने ठोकुवा गर्दै आईरहेका छन । अर्का माओबादी केन्द्रका प्रभावशाली नेता तथा पुर्व उपप्रधानमन्त्री एवं अर्घाखाँचीका उम्मेदबार टोपबहादुर रायमाझीले बुटवल वा दाङ्ग जहाँपनि हुन सक्ने र सो बारे अहिले निर्णय भैनसकेको भन्दै घुमाउरो पाराले दाङ्गलाई समर्थन गर्दै आईरहेका छन । किनकी बाम गठबन्धनका उम्मेदबार शंकर पोखरेललाई मुख्य मन्त्री बनाउनैका लागि प्रदेश सभा सदस्य पदमा उभ्याइएको छ ।
    नेताका कुरा सुनेर रनभुल्लमा परेका रुपन्देहीका जनताको जिज्ञासा मेटाउने उद्देश्यले आखिर कुरोको चुरो केहो त भन्दै यसै सन्दर्भमा बास्तविक्ता बुझ्न दाङ्ग पुगेका बुटवलका संचारकर्मीहरुसँग दाङ्गका गठबन्धनका उम्मेदबारहरुले पेटारो फुकाए । बाम गठबन्धनका उम्मेदबारद्वय कृष्णबहादुर महरा, शंकर पोखरेलले राजधानी दाङ्ग तुल्सीपुर मै हुने कुरामा निर्धक्क भएर जान र बुटवलका जनतालाई पनि ढुक्क हुन आग्रह गरेका छन । यसो गर्दा बुटवल, रुपन्देहीका जनतालाई अन्याय हुन्छकी भन्ने जिज्ञासा राख्दा उनिहरुले प्रदेशको नाम लुम्बिनी हुने जसले लुम्बिनीबासी जनताको मन राख्ने, पुर्वाधारका हिसावले बुटवल उपयुक्त भएपनि भुगोलका हिसावले दाङ्ग उपयुक्त भएकाले दुबै ठाउँका नेताहरुबिच आन्तरिक समझदारी भैसकेको पनि कुरा पनि उनिहरुले संचारकर्मी सामु खुस्काए । अव प्रदेशको राजधानी दाङ्ग तुल्सीपुरमै हुने र यता लुम्बिनीबासीको मन राख्न प्रदेशको नाम लुम्बिनी प्रदेश रहने निश्चित प्रायः भैसकेको ठहर गरि संचारकर्मीको टोली बुटवल फर्केको छ ।
    अझ अर्को अचम्मको कुरा के छ भने बुटवलका संचारकर्मीहरुसँग दाङ्गका नेताहरुले प्रदेशको नाम लुम्बिनी रहने भएकाले पत्रिकाको नाम लुम्बिनी पत्र वा लुम्बिनी टुडे जस्ता प्रादेशिक स्तरका नामाकरण गरि पत्रिका निकाल्न सुझाव दिएका छन । यो कुरा सुनेर झस्किएका संचारकर्मीहरुलाई त राजधानीको जिज्ञासा त मेटाईदियो तर यहाँका जनतालाई के भन्ने होला भन्ने बारेमा अन्यौलग्रस्त बनाएको छ । यउटा कुरा चाँही प्रस्ट भएको छ दाङ्गले प्रदेशको नाम दिएर राजधानी र मुख्यमन्त्री आफ्नो पोल्टामा पार्दै छ । ।
    यता एमाले नेता बिष्णु पौडेल भने दाङ्गलाई मुख्य मन्त्री दिएर बुटवललाई प्रादेशिक राजधानी बुटवल बनाउने दाउमा लागेको श्रोतले जनाएको छ । दाङ्गका पोखरेललाई मुख्य मन्त्री दिएर प्रादेशिक राजधानी बुटवल बनाउने गिभ एण्ड टेकको कुरामा पौडेल कत्तिको सफल होलान भनि सहजै आंकलन गर्न सकिन्छ । यहाँबाट दाङ्गमा स्थान्तरण भैसकेका उच्च अदालत लगाएतका कार्यालयहरु बुटवल फर्काएर ल्याउन कत्तिको सम्भव छ यो पनि प्रश्नको बिषय बनेको छ । दुबै क्षेत्रका नेताहरुको तानातान, हानाहान र गिभ एण्ड टेकको बार्गेनिङ्ग पावरले के टुंगो लगाउला, राजनैतिक रुपमा कस्को पल्ला भारी होला हेर्न बाँकी छ ।