प्रजातान्त्रिक आन्दोलनमा भूपू सैनिकको भूमिका

847

प्रजातान्त्रिक आन्दोलनमा भूपू सैनिकको भूमिका

यमबहादुर खत्री/
दुई ठूला उदयमान र शक्ति सम्पन्न राष्ट्र चीन र भारतको बीचमा आफ्नो छुट्टै अस्तित्व र पहिचान बोकेर विश्वमानचित्रमा अंकित भूपरिवेष्ठित र विविधताले सम्पन्न मुलुक नेपाल हो । यो गौरवमय ईतिहास बोक्ने देश नेपालमा हामी थरी थरीका सन्ततीहरु आपसी सद्भाव र एकताको सूत्रमा बाँधिएर रहनु हाम्रो आफ्नै विशेषता हो ।
युद्धको मोर्चामा इमान्दारीपूर्वक अदम्य साहसका साथ लड्ने बीर गोर्खालीहरुको देश भनेर चिनिने जुन गौरवमय हाम्रो बीर पुर्खाहरुको बीरगाथा छ । त्यसलाई बचाई राख्नु हामी सबैको कर्तव्य हो भन्ने हामीले ठानेका छौं । हाम्रा वीर पुर्खाले कसरी आफ्नो वीरता प्रदर्शन गर्ने अवसर पाए त्यसतर्फ एकछिन घोरिनु पर्दछ । इतिहासलाई अध्ययन गर्ने हो भने अनरेवल ईष्ट इण्डिया कम्पनी सरकार र नेपाल बीचको युद्ध जसलाई एङ्ग्लो नेपाल वारले चिनिन्छ । जुन ई.सं. १ नोभेम्बर १८१४ देखि १८१६ सम्म चलेको थियो । त्यस सम्बन्धि जानकारी लिनै पर्ने देखिन्छ ।
किन भयो त एङ्ग्लो नेपाल वार ?
यो वारको मुख्य कारण त नेपाल सरकार र ईष्ट कम्पनी सरकार दुवैले आ–आफ्नो राज्य विस्तार गर्ने नीति लिएका थिए, त्यो नै प्रमुख कारण थियो । त्यस युद्धमा हाम्रा वीर पुर्खाहरु ब्रिटिस विरुद्ध लडेका र अदम्य साहस वीरता प्रदर्शन गरेका थिए । त्यो साहस र वीरताको प्रदर्शनलाई व्रिटिशहरुले नजिकबाट नियाल्ने मौका पाएका थिए । यो युद्ध सुगौली सन्धिबाट अन्त्य भएको थियो ।
किन भयो सुगौली सन्धि ?
युद्धमा सफलता प्राप्त गर्दै गएको नेपालले आफ्नै आन्तरिक कारणले युद्ध मोर्चामा अपेक्षित सफलता पाउन नसक्दा अन्ततः सुगौली सन्धिमा हस्ताक्षर गर्नुप¥यो ।
के हो सुगौली सन्धि ?
बि.सं. १८७२ साल तदअनुसार २ डिसेम्बर १८१५ मा सुगौली भन्ने ठाउँमा युद्ध अन्त्यकालागि गरिएको सन्धि नै सुगौली सन्धि हो । यो सन्धि पत्र ४ मार्च १८१६ मा ब्रिटिसलाई हस्तान्तरण गरिएको थियो ।
सुगौली सन्धिमा के के कुरा उल्लेख छ ?
नेपालका राजा गीर्वाणयुद्ध बिक्रम शाह, राजगुरु गजराज मिश्र र टक्सारी चन्द्रशेखर उपाध्याय तथा ब्रिटिसका तर्फबाट लेफ्टीनेन्ट जर्नेल ब्राड शाँको उपस्थितिमा गरिएको सुगौली सन्धिमा ९ वटा अभिधाराहरु रहेका छन् । यस सन्धिका सकारात्मक र नकारात्मक प्रभाव र पक्षका बारेमा विश्लेषण विद्वानवर्गबाट हुनेछ । तर त्यहि सुगौली सन्धिको परिणामले नेपालीलाई ब्रिटिस सेनामा भर्ति लिने अभियान सुरु भएको तथ्यगत प्रमाण भेटिन्छ । नेपालीहरुको अंग्रेज सेनामा प्रवेश भएपछि सुरुका समयमा बिभिन्न नामबाट सेना संगठित गर्दै कालान्तरमा गोर्खा रेजिमेन्टको नामबाट नामाकरण गरियो र १ देखि ११ वटा रेजिमेन्ट खडा गरियो ।
प्रथम विश्वयुद्धमा गोर्खा रेजिमेन्टको भूमिका
युरोपमा दुई अलग अलग बिरोधी गुटको गठन भएपछि विकास भएको सत्रुतापूर्ण र बिरोधी क्रियाकलापले १८ जुलाई १९१४ मा अष्ट्रियाले सर्विया माथि युद्धको घोषणा गरेपछि चर्किएको प्रथम विश्वयुद्ध १८ जुन १९१९ मा भर्सेलिज सन्धिमा हस्ताक्षर गरि औपचारिक रुपमा २९ जुन १९१९ बाट समाप्त भएको थियो । त्यस युद्ध अवधीमा गोर्खा रेजिमेन्टले विश्वका धेरै ठाउँमा युद्धको मोर्चामा आफ्नो वीरता प्रदर्शन गरेको थियो । जर्मनी सम्राट कैजर जिलियम द्वितीयले भनेका थिए–‘संसारका जुनसुकै सेनासंग मेरो सेना लडाउन तयार छु, तर गोर्खाली सेनाको नाम सुन्नासाथ मेरो मुटु थर्किन्छ ।’ उनको यो भनाईले गोर्खा सेनाको वीरताको गाथा आफै प्रष्ट हुन्छ । प्रथम विश्वयुद्धमा लगभग २० हजार गोर्खा सैनिकले आफ्नो ज्यान गुमाएको प्रमाण भेटिन्छ ।
दोस्रो विश्वयुद्ध र गोर्खाली सेनाको योगदान
हरेक राष्ट्रले आ–आफ्नै नीति अनुसार उपनिवेश राष्ट्र बनाउँदै राज्य विस्तार गर्ने सैनिक संख्या बढाउँदै लाने जसको प्रभाव व्रिटिसमा पर्नु स्वभाविक नै थियो । यसरी व्रिटिसले गोर्खा रेजिमेन्टमा दोस्रो विश्वयुद्धको बेलामा ५५ देखि ६० वटालियन तयार गरेको पाईन्छ । प्रथम विश्वयुद्ध अन्त्यका लागि गरिएको भर्सेलिजको सन्धिले पराजित जर्मनलाई गरेको व्यबहारबाट जर्मनीका तानाशाह एडोल्फ हिटलर, इटालिका तानाशाह वनिटो मुसोलिनी र जापानका मिलिटरी जनरल ताजोका कारण दोस्रो विश्वयुद्धको प्रारम्भ भएको थियो । १ सेप्टेम्बर १९३९ मा जर्मनीले पोल्याण्डमाथि हवाई तथा स्थलबाट बज्रयुद्ध गरेपछि चर्किएको दोस्रो विश्वयुद्ध १२ सेप्टेम्बर १९४५ मा आत्मसमर्पणको दस्तावेजमा हस्ताक्षर गरेपछि अन्त्य भएको थियो । यस युद्धताका नेपालमा राणा शासन रहेको र राणाहरु ब्रिटिसका असल मित्र भएकाले ब्रिटिसलाई सहयोग गरेका थिए ।
गोर्खा अदम्य साहस र बहादुरीकालागि भिक्टोरिया क्रस तथा अन्य पदक पाउने बीर गोर्खाली सेनाको नाम र युद्धमोर्चा ः

सि.नं. नामथर पदक वर्ष युद्धमोर्चा
१ कुलबिर थापा मगर  भिक्टोरीया क्रस  १९१५ फ्रान्स,  प्रथम विश्वयुद्ध
२ कर्णबहादुर राना मगर  भिक्टोरीया क्रस  १९१८ प्लेसटाईन,  प्रथम विश्वयुद्ध
३ लालबहादुर थापा मगर  भिक्टोरीया क्रस १९४३  ट्युनेसिया,  दोस्रो विश्वयुद्ध
४ गजे घले  भिक्टोरीया क्रस  १९४३ बर्मा,  दोस्रो विश्वयुद्ध
५ गञ्जु लामा भिक्टोरीया क्रस १९४४ बर्मा, दोस्रो विश्वयुद्ध
६ तुलबहादुर पुन भिक्टोरीया क्रस १९४४ बर्मा दोस्रो विश्वयुद्ध
७ नरबहादुर थापा मगर भिक्टोरीया क्रस १९४४ बर्मा, दोस्रो विश्वयुद्ध
८ अगनसिंह राई भिक्टोरीया क्रस १९४४ बर्मा, दोस्रो विश्वयुद्ध
९ सेरबहादुर थापा भिक्टोरीया क्रस १९४४ ईटाली, दोस्रो विश्वयुद्ध
१० थमन गुरुङ् भिक्टोरीया क्रस १९४४ बर्मा, दोस्रो विश्वयुद्ध
११ भानुभक्त गुरुङ् भिक्टोरीया क्रस १९४५ बर्मा, दोस्रो विश्वयुद्ध
१२ लक्ष्मण गुरुङ् भिक्टोरीया क्रस १९४५ बर्मा, दोस्रो विश्वयुद्ध
१३ रामबहादुर लिम्बु भिक्टोरीया क्रस १९६५ ब्रुनाई
१४ मेजर धनसिंह थापा परमबिर चक्र १९६२ लद्दाक, भारत
१५ नायक नरबहादुर थापा क्षेत्री महाविर चक्र १९७१ पाक युद्ध

गोर्खालीहरुले दोस्रो विश्वयुद्धमा बर्मामा गरेको कुशल युद्ध प्रदर्शन र बहादुरीको झलक अष्ट्रिेलीयाको राजधानी क्यानवेराको वार मेमोरियल भवनको भित्तामा राखेको वेटल अर्नर बोर्डमा देख्न सकिन्छ । दोस्रो विश्वयुद्धको अन्त्यपछि ब्रिटिस उपनिवेश राज्यहरु स्वतन्त्र हुन थालेपछि वेलायतले अत्यधिक आर्थिक संकटको सामना गर्नुपर्ने भयो । जसले गर्दा आर्थिक भार थाम्न नसकी ब्रिटिसले लगभग २२ वटा गोर्खा बटालियन खारेज गरिदियो । १५ अगष्ट १९४७ मा ब्रिटिस उपनिवेशबाट भारत स्वतन्त्र भएपछि ब्रिटिस, भारत र नेपालको त्रिपक्षिय सम्झौता अनुसार रेजिमेन्ट विभाजन गरि चार रेजिमेन्ट दोस्रो, छैठौं, सातौं र दशौं गोर्खा रेजिमेण्ट ब्रिटिस र बाँकी पहिलो, तेस्रो, चौंथो, पाँचौं, आठौं, नवौं र एघारौं गोरखा रेजिमेण्ट भारतमै रहने व्यबस्था भयो । भारतले पश्चिम क्षेत्रको गोरखपुर र पूर्वी क्षेत्रको दार्जिलिङ्मा भर्ति केन्द्र कायम ग¥यो भने ब्रिटिसले भारतको उत्तर प्रदेशको लेडामा भर्ति केन्द्र राख्यो । पछि ब्रिटिसले पश्चिमी क्षेत्रमा रुपन्देहीको पक्लिहवा र पूर्वको धरानमा भर्ति केन्द्र राख्यो ।
२००७ सालमा मुक्ति सेनाको गठन र नेपाली काँग्रेसको सशक्त क्रान्ति
नेपालमा एक छत्र जहानियाँ र निरङ्कुश शासन गरेका तानशाह राणाहरुले जनतालाई बुट र बन्दुकले दमन गर्न सकिन्छ भन्ने सोंचको अन्त्य गर्न राणा शासनको समाप्तिकालागि र प्रजातन्त्र स्थापना गर्न नेपाली काँग्रेसले कम्मर कसेको थियो । भारत स्वतन्त्र भएपछि राणाहरुको भरपर्दो र सहयोगी ब्रिटिसले भारत छोडनु प¥यो । जसले राणाहरु एक्लिएका थिए । स्वतन्त्र भारतले राणाहरुलाई सहयोग गर्ने अवस्था थिएन । अर्को तर्फ ब्रिटिशले गोर्खा बटालियनको कटौती गरेपछि घर फर्किएका पुर्व गोर्खाली सेनाहरु नेपाली काँग्रेसको वि.सं. २००७ साल (सन १९५०) को सशस्त्र क्रान्तिकालागि गठन गरेको मुक्ति सेनामा आवद्ध हुन पुगे । प्रजातन्त्रको अनुभूति गरेका युवा उर्जा भएका राणा बिरोधी ती गोर्खालीहरु मुक्ति सेनामा भर्ती भएपछि प्रजातान्त्रिक आन्दोलनले गति लियो । मुक्ति सेना ज्वाला भएर दन्किए थुप्रै स्थान कब्जा गरे यस क्रममा थिरबम मल्ल लगायत मुक्ति सेनाका थुप्रै साथीहरुले शहादत प्राप्त गरे । मुक्ति सेनाको संघर्षपुर्ण बलिदानी र नेपाली काँग्रेसको नेतृत्वले गर्दा १०४ वर्षे राणा शासनको अन्त्य भयो र देशमा प्रजातन्त्र स्थापना हुन पुग्यो ।
पञ्चायत बिरोधी आन्दोलनमा हाम्रो भूमिका
वि.सं. २००७ (सन् १९५०) ११० दिनको सशत्र युद्धबाट प्राप्त प्रजातन्त्रको संस्थागत हुन नपाउँदै राजा महेन्द्रले कु गरी प्रजातन्त्रको घाँटी निमोठ्ने काम गरे । पञ्चायती ब्यवस्थाको सुत्रपात गरे तर भूतपूर्व सैनिकहरुले प्रजातन्त्रको पुनःस्थापना र तानाशाही कदमको अन्त्य गर्नकालागि नेपाली काँग्रेसको हरकदमलाई साथ दिए । वि.सं. २०१८ सालमा गुल्मीमा सुवेदार रणबहादुर थापा क्षेत्री त्यस क्षेत्रका कमाण्डर बनाईए तर क्रान्ति सफल हुन नपाउँदै उनी र उनका सहयोगीहरुलाई पञ्चायत सरकारले वारेन्ट जारी ग¥यो उनीहरु बस्न नसकी भारत बस्न थाले । त्यसैगरी पञ्चायत विरुद्ध नेपाली काँग्रेसको आन्देलनमा क्याप्टेन यज्ञबहादुर थापा लगायतका भूतपूर्व साथीहरु वि.सं. २०२९ सालमा ओखलढुङ्गामा समातिए र धेरैले सहादत प्राप्त गरे । वि.सं. २०३५ माघ २४ गते क्याप्टेन यज्ञबहादुर थापालाई तत्कालिन सरकारले मा¥यो । यसरी नेपाली काँग्रेसले सञ्चालन गरेको थुप्रै प्रजातान्त्रिक धेरै भूतपूर्व सैनिक साथिहरुले आफ्नो प्राण उत्सर्ग गर्नुभएको इतिहास साक्षी छ । नेताहरुको सुरक्षा युद्धको मोर्चामा भिड्ने कार्य र प्रजातन्त्र स्थापना गर्ने दिशामा भूतपूर्व सैनिकको भूमिका महत्वपुर्ण रहेको छ । भूपूहरुकै भूमिकाका कारण पञ्चायतको अन्त्य र प्रजातन्त्रको पुनस्र्थापना भएको थियो ।

२०४६ सालको पञ्चायतको अन्त्यपछि नेपाली काँग्रेसमा आस्था र विश्वास राख्ने देश भित्र र देश वाहिरको विभिन्न राष्ट्रका राट्रिय सुरक्षा निकायमा सम्बद्ध भूतपूर्व सैनिकहरुले नेपाली काँग्रेसको भातृ संगठनको रुपमा नेपाल भूपूर्व सैनिक सँघको स्थापना गर्नुले भूतपूर्व साथिहरुको एकता विश्वास र प्रजातान्त्रिक आस्थालाई अझ बढी प्रभावकारी सुदृढ र सँगठित बनाएको छ । नेपाली काँग्रेसको भातृ सँगठनका रुपमा केन्द्र देखि गाउँ सम्म आफ्नो सँगठन विस्तार गर्दै छरिएर रहेका प्रजातन्त्रवादी भूतपूर्व सैनिकहरुलाई गोलवद्ध गर्दै आईरहेको तथ्य उल्लेख गर्न पाउंदा गर्वको महशुस हुन्छ । वि. सं. २०५२ देखि माओवादीले सशस्त्र युद्ध गर्दा भूतपूर्व सैनिक संघलाई आफ्नो पक्षमा पार्न विभिन्न लोभ, लालच, डर, धम्की, त्रास जस्ता उपायहरु अपनाउंदा पनि कुनैपनि अधिनायकत्व स्वीकार नगरी राष्ट्रियता, लोकतन्त्र, समाजवाद र एकतामा प्रतिवद्ध भूतपूर्व सैनिकहरु नेपाली काँग्रेसमा मात्रै आवद्ध रहिआएकोमा आज सवैलाई गर्व लाग्नु स्वभाविकै हो । अन्त्यमा सम्पुर्ण भूतपूर्व सैनिक साथिहरुको एकता मित्रता र सदभाव सदैव कायम रहोस् ।
(लेखक नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय सदस्य एबम् नेपाली काँग्रेसका महासमिति सदस्य हुनुहुन्छ । )