युवा दिवसमा अन्तरक्रिया

764

युवा दिवसमा अन्तरक्रिया

बुटवल, साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुटवल जेसीजले शान्ति निर्माणमा युवाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

बुटवल जेसीजको सचिवालयमा सम्पन्न अन्तरक्रियामा बोल्दै पश्चिम नेपाल ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले समाजका प्रत्येक मानिसले सबैभन्दा पहिला आफैबाट सकारात्मक सोच राख्दै सकारात्मक कार्य गरेमा शान्ति कायम हुने औल्याउनुभयो । त्यस्तै नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष अनुपमान सन्जुले अनुशासन सहितको प्रजातन्त्रले मात्र शान्ति कायम गर्न सक्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता बिष्णु पोखरेलले व्यक्तिको शासन अन्त्य गरि बिधीको शासन लागू गर्न युवाहरुले मुख्य भुमिका खेलेको हुदा अब नीति निर्माण र कार्यान्वयन तहमा युवालाई अवसर दिनुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमालेकी युवा नेत्री सरिता श्रीषले विभिन्न पार्टीमा रहने युवा नेतृत्वहरु युवाका मुद्दामा एक हुनुपर्ने औल्याउँदै सबैको अपन्त्व हुने व्यवस्था निर्माण गरे मात्र शान्ति कायम हुने औंल्याउनु भयो ।

त्यस्तै नेकपा माओवादी केन्द्रका युवा नेता अनुप बरालले सबै मानिसले सम्मान पुर्वक बाच्न पाउने अवसर नआएसम्म स्थायी शान्ति प्राप्त नहुने उल्लेख गर्दै समतामुलक समाज निर्माणमा सबै राजनैतिक दलका युवा नेता लाग्नु पर्ने बताउनुभयो ।
युवा अधिकारकर्मी एवम् पत्रकार भवानी पाण्डेले अवसरको समान बितरण, रोजगारीको सिर्जना र युवाको मुद्दामा सबै पार्टीका युवा नेता एकजुट भएमा युवाका समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

पब्लिक स्पिकर बुटवल २०१७ कि बिजेता कामना न्यौपानेले युवाका मुद्दा युवाहरुले नउठाएकाले युवामा बितृष्णा भएको औल्याउँदै अब युवाले आफ्ना मुद्दा उठाउन आग्रह गर्नुभयो ।

बुटवल जेसीजका अध्यक्ष राजेन्द्र घिमिरेले संघीय नेपालमा बिधिको शासन सबैले आत्मसाथ गरेमा स्थायी शान्ति कायम हुने विश्वास व्यक्त गर्दै त्यसकालागि आफूहरु जेसीज अभियान्ताका रुपमा बिधीको शासनको लागी निरन्तर आवाज उठाइरहने बताउनु भयो ।

कार्यक्रम संयोजक एवम् बुटवल जेसीजका उपाध्यक्ष अर्जुन ज्ञवालीले नेपालमा द्वन्द्व सृजना हुने कारणहरु पत्ता लगाई त्यसको समाधानमा युवाले महत्वपूर्ण भुमिका खेल्न सक्ने हुदा युवा जागरुकताको लागि कार्यक्रम गरिएको जानकारी गराउनु भयो । कार्यक्रम जेसीजका महासचिव यमप्रसाद तिवारीको सञ्चालनमा भएको थियो ।