ओली नेतृत्वको सरकार मुलुकको अन्तिम कम्युनिष्ट सरकार : नेता रिजाल


बुटवल, माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकार मुलुककै लागि अन्तिम कम्युनिष्ट सरकार रहेको बताउनु भएको छ । अहिलेको कम्युनिष्ट सरकार डाईनोसर भन्दा पनि अजंगको भएको बताउँदै उहाँले अव कम्युनिष्ट सरकार पनि डाईनोसर जस्तैगरी लोप भएर जाने दावी गर्नुभयो ।

बुटवल जेसीजको सोमबार बुटवलमा सम्पन्न ४५ औं पदस्थापन समारोहलाई सम्बोधन गर्दै नेता रिजालले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री हुँदादेखि नै बिधि र प्रकृया मिच्दै आएको उल्लेख गर्दै सदनमा पनि दुई तिहाईको दम्भ देखाउनु दुर्भाग्य रहेको बताउनु भयो । प्रधानमन्त्री हुनकालागि संसदको सदस्य अनिवार्य हुनुपर्ने संवैधानिक व्यबस्था भएपनि संसद सदस्यको रुपमा सपथ नलिँदै प्रधानमन्त्रीको सपथ लिएर संवैधानिक व्यबस्था कुल्चने काम गरेर बिधि र प्रकृया मिच्न सुरुवात गरेको उहाँले आरोप लगाउनु भयो ।

उहाँले प्रधानमन्त्री ओलीमा हिटलर प्रबृत्ति हावी हुँदै गएको बताउँदै आफूले भनेभन्दा फरक बाटोमा हिँड्नेलाई सिध्याउने काममा लागेको समेत आरोप लगाउनु भयो । उहाँले सिन्धु मल्लले गाएको ‘आफ्नो रुप हेरी हेरी आफै हुन्छु दंग…’ भन्ने गीत स्मरण गर्दै भन्नुभयो–‘बिहान उड्यो, ऐना हेर्यो, वा म यस्तो पो प्रधानमन्त्री भन्ने भन्दा उहाँबाट अरु काम छैन ।’

त्यस्तै उहाँले सभामुखको भूमिका पार्टी निर्णय अनुसार काम गर्ने नभएको पनि स्मरण गराउनु भयो । उहाँले १ हजार ५ सयको हाराहारीमा रहेको नेप्से परिसूचक झरेर १ हजार २ सय भन्दा पनि कम भएको बताउँदै अहिले मुलुकमा लगानी गर्ने वातावरण छैन भन्ने पुष्टि भएको उल्लेख गर्नुभयो ।
नेपालको राजनीतिक इतिहासमा समृद्धिको सपना साकार पार्ने ठूलो अवसर प्राप्त गरेपनि दुई तिहाईको स्थायी सरकारले उत्पादनकालागि लगानी आकर्षण गर्न समेत नसकेको बताउनु भयो । उहाँले भन्नुभयो–‘सरकारले व्यबस्था सदुपयोग गरोस, हामी सहयोग गछौँ ।’

बुटवल जेसीजमा निर्वाचित सन् २०१९ को कार्यसमितिलाई पदस्थापन कार्यक्रममा बोल्दै नेपाल जेसीजका निवर्तमान अध्यक्ष श्रीधर बस्यालले सरकारले दुई तिहाईको बलमा लोकतन्त्रको उपहास गरेको आरोप लगाउनु भयो ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष श्यामसुन्दर पौडेल, नेपाल जेसीजका पूर्व अध्यक्ष तथा बुटवल जेसीजका पूर्व अध्यक्ष जगतबहादुर पोखरेल, राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारी, नेकपा रुपन्देहीका नेता तेजेन्द्र केसी, नेपाली काँग्रेस बुटवल नगर समितिका उपसभापति तथा बुटवल जेसीजका पूर्व अध्यक्ष बिमलराज भट्टराई, बुटवल जेसीजका पूर्व अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, निर्वाचन आयुक्त राजु पौडेल, पूर्व अध्यक्ष राजेन्द्र घिमिरे, सहसचिव रमेश अर्याल लगायतले भनाई राख्नुभएको थियो ।

त्यस अवसरमा बुटवल जेसीजले स्थापना गरेको ‘स्वर्गीय गणेशमान सैंजु स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार डायलसन अधिकारीलाई सम्मान गरिएको थियो भने ‘उत्कृष्ट युवा सम्मान’बाट डा. सन्तोष पोखरेललाई सम्मान गरिएको छ । त्यस्तै सोही समारोहमा हालै बुटवलमा स्थापित मानव सेवा आश्रमलाई बुटवल जेसीजले ३५ हजार ५५१ रुपैंया सहयोग प्रधान गरेको छ ।

बुटवल जेसीज वर्ष सन् २०१८ का अध्यक्ष यमप्रसाद तिवारीले नव निर्वाचित अध्यक्ष नरदेव न्यौपानेलाई जेसीज माला हस्तान्तरण सहित पदस्थापन गराउनु भएको थियो । पद हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष तिवारीले आफूले सुरुवात गरेका कामलाई निरन्तरता दिन र जेसीज अभियानमा आफू सधै साथमा रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष न्यौपालेले बुटवल जेसीजले यस अंगाडी सञ्चालन गरेका कार्यक्रमलाई निरन्तरता दिईने र नयाँ कार्यक्रम सहित निर्माणाधिन सभाहल लगायतका कामलाई पूर्णता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले आफ्नो कार्यसमितिमा कानुनी सल्लाहकारमा बिक्रम केसी, महासचिवमा राजु गौतम र कोषाध्यक्षमा अर्जुन ज्ञवालीलाई मनोनित गर्नुभएको छ । त्यस्तै सल्लाहकारहरुमा पूर्व अध्यक्षहरु अनुपमान सैंजु, जगतबहादुर पोखरेल, मथुरा पिया, गोपालप्रसाद पाण्डे, मदन कट्टेल, दिनेशप्रसाद श्रेष्ठ, बिनोद ज्ञवाली, गणेशचन्द्र पोखरेल, दिनेश श्रेष्ठ, राजु पौडेल र राजेन्द्र घिमिरेलाई चयन गर्नुभएको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •