Monday 27th May 2019
  • New title for a=>html, img=>alt
  • बुटवलमा ‘क्यान इन्फोटेक’ हुँदैः सुरक्षा प्रविधिलाई विशेष प्राथमिकता

    February 14, 2019



    बुटवल, फागुन । भोली शुक्रबारदेखि बुटवलमा सूचना प्रविधि सम्बन्धि प्रदेश स्तरीय प्रदर्शनी हुँदैछ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ तथा व्यबसायीहरुको छाता संस्था ‘कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघ’को आयोजनामा बुटवल मण्डपमा आठौं संस्करणको ‘क्यान इन्फोटेक’ हुन लागेको हो ।

    फागुनको ३ देखि ७ गतेसम्म सञ्चालन गरिने इन्फोटेकको तयारी पुरा भएको बुधबार मेला सचिवालयमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ । इन्फोटेकको प्रदेश पाँचका मुख्य मन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । ५ दिनसम्म सञ्चालन गरिने इन्फोटेकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुको सहभागिता रहने क्यान महासंघ रुपन्देहीका अध्यक्ष नारायणप्रसाद श्रेष्ठले बताउनु भयो ।

    इन्फोटेकमा कम्प्युटर हार्डवेयर, मेन्टिनेन्स, पावर सोलुसन्स्, मोवाईल एसेसोसिज, डिलर र डिष्ट्रिव्यूटर्स, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् तथा नेपाली बिद्यार्थीले बनाएका प्रविधियुक्त हार्डवेयर तथा सफ्टवेयरसंग सम्बन्धि सामाग्रिहरु, डोन, विद्युतीय वाईक, स्मार्ट होम लगायतका ९० भन्दा बढी कम्पनीका १४० स्टल रहने उहाँले जानकारी गराउनु भयो ।

    इन्फोटेकमा सबैभन्दा बढी सेक्युरिटी (सुरक्षा) सम्बन्धि नयाँ नयाँ प्रविधि र सफ्टवेयरहरु रहने क्यान महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष नवराज कुवँरले जानकारी गराउनु भयो । इन्फोटेकलाई आकर्षक बनाउनकालागि अत्याधुनिक सेक्युरिटी टेक्नोलोजी सहितको स्मार्ट घर तथा बिभिन्न ब्राण्डका सामानमा लक्कि ड्र मार्फत सय प्रतिशत सम्म छुटको व्यबस्था गरिएको उहाँले बताउनु भयो ।

    त्यस्तै लक्कि ड्र मार्फत प्रत्येक दिन अटो मोवाईल पुरस्कारको व्यबस्था मिलाईएको छ भने कम्प्युटर, ल्यापटप तथा प्रिन्टरको फ्रि सर्भिस क्याम्प, सूचना तथा प्रविधि सम्बन्धि वक्तृत्वकला तथा नृत्य प्रतियोगिता सञ्चालन गरिने छ । त्यस्तै सूचना प्रविधि तथा ‘विद्युतीय वित्तिय साक्षरता सम्बन्धि तालिम प्रदान गरिने आयोजकले जानकारी गराएका छन् ।

    त्यसैगरी इन्फोटेकको चौथो दिन ६ गते सोमबार विजनेश डेको रुपमा कार्यक्रम हुने छ । त्यसदिन मेलामा सहभागि कम्पनीका अधिकारीहरु स्टलमा सहभागि हुनेछन् भने कारोवार गर्न चाहनेले सिधै विजनेश डिल गर्न सक्ने केन्द्रीय वरिष्ठ उपाध्यक्ष कुँवर बताउनु हुन्छ । यद्यपी सूचना प्रविधि सम्बन्धि प्रदर्शनी भएकाले कारोवारको लक्ष्य नलिए पनि क्यान इन्फोटेकमा १ लाख ५० हजार भन्दा बढीले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेका छन् ।