Monday 27th May 2019
  • New title for a=>html, img=>alt
  • महिला पुरुष दुबैमा बाँझोपनको समस्या

    January 3, 2019


    मदन शर्मा/
    बुटवल । पछिल्लो समय महिलामा स्वास्थ्य सम्बन्धी समस्या अत्यधिक देखिन थालेका छन् । स्वास्थ्य समस्या मध्ये बांझोपन एक भयानक समस्याको रुपमा देखा परेको छ । जसका कारण दम्पतीमा शारीरिक तथा मानसिक समस्या, घरेलु हिंसा, निरासा, घरायसी झगडा, बहु विवाहलगायतका समस्याहरु निम्तिने गरेका छन् ।
    हुन त ईनफर्टीलिटी अर्थात बांझोपन हुनुका धेरै कारणहरु हुन सक्छन् । कुनै एक कारणले मात्र बांझोपन हुँदैन । महिला र पुरुष दुबैमा हुने ज्ञानेन्द्रीय सम्बन्धि समस्याका कारण पनि बाँझोपन हुनसक्छ । हुनत गर्भधारण गरि सन्तान जन्माउन नसक्नुमा महिलालाई मात्र दोष दिनु उचित हुँदैन । पुरुष पनि यसको लागि जिम्मेवार हुन्छन् । यस अर्थमा दुबैजनाले आ–आफ्नो स्वास्थ्य बेलैमा जाँच गराई कारण पहिल्याउनु जरुरी हुन्छ ।
    महिलामा मासिकधर्म (रजश्वला) को शुरुवात भएपछि र पुरुषमा विर्य उत्पादन हुन थालेपछि, यि दुवैको संयुक्त मेलबाट सन्तान जन्मिन सक्छ । तर बैवाहिक जीवन पश्चात एकवर्षसम्म नियमित रुपले यौन सम्पर्क गर्दा पनि बच्चा भएन भने बाँझोपनको शंका रहन्छ । महिलाको यस अवस्थालाई बाँझोपन भनिन्छ ।
    बाँझोपन पुरुष वा महिला दुबैको कारणले हुने संभावना रहन्छ । जस्तै, पुरुषमा विर्य उत्पादन कम हुनु वा नहुनु, लागु पदार्थको अत्याधिक सेवन गर्नु, पुरुषको विर्यमा शुक्राणुको संख्या कम भएमा यो समस्या देखिन्छ । यस्तै महिलाको प्रजनन् अंग पुर्णरुपले बिकशित नहुनु, डिम्बबाहिनी नलीमा अबरोध हुनु, पाठे घरमा घाउ हुनु, श्वेतप्रदर, डिम्बाशयमा अनावश्यक कोषहरु बिकसित हुनु, डिम्ब निस्काशन नहुनु, थायरायड ग्रन्थीको हार्मोनमा गडबडि देखिनु र शारीरिक एवं मानसिक तनावका कारण यो समस्या देखिन्छ ।
    बाँझोपनाको समस्या ३० देखि ४० प्रतिशत पुरुषमा तथा ५० देखि ६० प्रतिशत महिलामा हुने गर्दछ । यस्तै १० देखि २० प्रतिशत अन्य कारणले गर्दा यो समस्या देखिने लुम्बिनी अञ्चल अस्पताल बुटवलका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.भक्त वत्शल राउतले बताउनुभयो ।
    बाझोपनको समस्यामा पुरुषको शुक्रकिटको मुख्य भूमिका रहने गर्छ । विभिन्न समस्या (जस्तै जन्मजात नहुने समस्या, कुनै रोगले गर्दा नहुने समस्या, भएपनि प्रयाप्त मात्रामा नहुने तथा कमजोर खालको हुने समस्या)ले शुक्रकिटको गुणस्तर र मात्रामा असर पु¥याएर बांझोपनको समस्या निम्त्याउने गर्छ । त्यस्तै महिलामा पाठेघर, डिम्वाशय, हर्मोन (थाईरोइड, प्रोल्याक्टिन ), लगायतका समस्याले गर्दा बांझोपनको समस्या हुने गर्छ । डिम्वासयले अण्डाको उत्पादन गर्ने भएकाले यसमा देखिने कुनै पनि (अण्डा नबन्ने, नबढ्ने र नफुट्ने ) समस्याले पनि बांझोपनको समस्या निम्त्याउंछ ।
    यसको निवारणका लागि स्वास्थ्यगत रुपमा हेर्ने हो भने लामो समयसम्म महिनावारी नभएको खण्डमा स्वास्थ्य चेकजांच गराउने, यौनांगमा समस्या देखिए नहिचकिचाई डाक्टरलाई खुलस्त बताउने र चिकित्सकको सल्लाहा बमोजिम उपचार गर्न डा.राउतको सुझाव छ । अर्कोतर्फ नेपालबाट बैदेशिक रोजगारीका लागि विदेशिने युवाहरुको जमात ठूलो छ, जसका कारण पनि महिलामा बांझोपनको समस्यामा वृद्घि भएको डा. राउत बताउनुहुन्छ । दाम्पत्य जीवनको शुरुवात भएपछि कम्तिमा १ देखि २ वर्षसम्म पति पत्नी संगै रहनुपर्ने, अधिक समय संगै बिताउनुपर्ने तथा आफ्नो पहिलो सन्तान जन्माउन सके बांझोपन जस्ता समस्यामा कमी आउन सक्ने उहांको सुझाव छ ।