Saturday 19th January 2019
  • New title for a=>html, img=>alt
  • राष्ट्रिय मेलमिलाप: राष्ट्रिय र अन्तर्राष्ट्रिय आलोकमा -अर्जुननरसिंह के.सी.

    December 31, 2018


    प्रजातान्त्रिक विचार समाज, रुपन्देहीका प्रिय मित्र श्री रामराज पोखरेल लगायतका साथीहरूले राष्ट्रिय मेलमिलाप तथा एकताको विषयवस्तुमा एउटा लेख तयार गरिदिन आग्रह गरेको करिब ६ महिना भइसक्यो । साथीहरूको भद्र ताकेताले मलाई कतिपटक लज्जित पनि बनायो । सार्वजनिक जीवन बिताउने मजस्ता व्यक्तिहरूलाई सीमित समयमा धेरैवटा काम भ्याउनुपर्ने चुनौतीले गर्दा साथीहरूलाई बारम्बार आग्रह गर्न बाध्य बनाइयो । बीपीको मेलमिलाप नीतिका बारेमा धेरै वर्षदेखि मनमा घुमिरहेका दृष्टिकोण र मान्यताहरूलाई मैले बल्लबल्ल लिपिबद्ध गर्ने अवसर जुटाएँ । मेलमिलाप नीतिका बारेमा दिग्भ्रमित चेतना पार्टीभित्र देखिन थालेको हुनाले यसको अद्यावधिक ब्याख्या हुनुपर्ने आवश्यकता देखेकोले सो आवश्यकता यस आलेखबाट कति पूरा होला, पार्टीका साथीहरूबाट बहस तथा मूल्याङ्कन होस् भन्ने मेरो चाहना छ ।
    पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भलाई सम्झिँदा राष्ट्रिय राजनीतिमा पुस महिनालाई दूरगामी प्रभाव पार्ने राम्रा नरामां असाधारण घटनाहरूको सँगालोका रुपमा सम्झिइन्छ । पुस १ गते राजा महेन्द्रले चलाएको निरंकुश कदम, पुस २२ गते सम्पूर्ण पार्टीहरूमाथिको प्रतिबन्ध मुलुकको लोकतान्त्रिक इतिहासमा कालो अध्यायका रुपमा अंकित छ । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूको व्यक्तिगत जीवन, परिवार र सम्पत्तीको त पुसको १ गतेबाटै तहसनहस भयो । पञ्चायतले हाम्रो पार्टीको एउटा पुस्तालाई नै धराशायी बनायो । सरोज कोईराला, योगेन्द्रमान शेरचन, दिवानसिं राई जस्ता भविष्य बोकेका, कयौँ होनहार नेता र कार्यकर्ताहरूको पञ्चायतकालमा षड्यन्त्रपूर्वक हत्या गरियो ।
    राष्ट्रिय एकताका लागि प्रेरणा दिने पुस २७ गते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती र जननायक बीपी कोइराला र सर्वमान्य नेता गणेशमान सिंहले २०३३ साल पुस १६ गते ८ वर्ष लामो निर्वासन तोड्दै राष्ट्रिय मेलमिलाप तथा एकताको आह्वानका साथ स्वदेश फर्केको जस्ता दिनहरू यही महिनामा आउँछन् । राष्ट्रिय मेलमिलाप दिवसले हामीलाई आज फेरि बीपीले उक्त दिन दिनुभएको ऐतिहासिक वक्तब्यको मूलपाठ पढ्न घच्घच्याउँदैछ, जसले वर्तमान राष्ट्रिय परिस्थिति र हामीले अवलम्बन गर्नुपर्ने दिशाका लागि निश्चय नै मार्गदर्शन गर्दछ ।
    मेलमिलाप दिवसले पुस १ गतेको त्यो क्रुरतम घटनालाई बिर्साउनचाहिँ सक्दैन । लोकतन्त्रका लागि मात्र नभै सम्पूर्ण इतिहासकै सबभन्दा ठूलो दुस्साहस थियो २०१७ पुस १ गते राजा महेन्द्रले गरेको घटना, जसमा दुईतिहाई मतको जनसमर्थनमा गठित नेपाली काँग्रेसको सरकारमात्र भङ्ग भएन, अर्को सरकार दिने संसद नै भंग गरियो र लोकतन्त्रमा जनताका संस्था तथा लोकतन्त्रका संवाहक मानिने पार्टीहरू प्रतिबन्धित भए । २००७ सालको जनक्रान्तिपछि राजदरबार, शासन गुमाएका राणाका अवशेषहरू र उनीहरूमा आश्रित सामन्ती तत्वले एकपछि अर्को पैदा गराएका अस्थिरता र त्यसको ‘धमिलो पानीमा माछा मार्ने’ एक दशक लामो दरबारिया दाउलाई समाप्त पार्दै मुलुकले लोकतान्त्रिक समाजवादको बाटोबाट स्थायित्व, विकास र न्यायपूर्ण पद्धति बसाल्न प्रारम्भ गरिसकेको थियो ।
    एक दशक लामो लोकतान्त्रिक प्रयत्नहरूको समग्र ऐतिहासिक घटनाक्रमको अगुवाई र संयोजन नेपाली काँग्रेसले नै गरेर २०१५ को पहिलो आमनिर्वाचनद्वारा नवयुगमा प्रवृत्त गराएको थियो । राज्य सञ्चालनमा जनताको प्रत्यक्ष संलग्नताको सिलसिला सुरूमात्र भएको थियो । जनउत्तरदायी भएर काम गर्ने दिशामा सरकारले महत्वपूर्ण साहसिक काम गरेको (‘चिल्ला पात देखाउन’ थालेको) थियो, तर सिंहदरबारमाथि राजदरबारको ठूलो बज्रपात भयो, जसले नेपालको विकाससम्बन्धी क्रमलाई अन्धकार र द्वन्द्वको गर्तमा धकेलिदियो । त्यसपछिको राजनीतिक घटनाक्रम र लोकतान्त्रिक आन्दोलनको स्वरुप त्यही दुर्घटना बिरूद्ध भएको हो ।
    २०३३ साल पुस १६ गते जननायक बीपी कोइरालाले मुलुकको अस्तित्व खतरामा परेको ठहराएर गणेशमानजी, शैलजाजीसहित हजारौँ काँग्रेसजनका साथ निर्वासनबाट स्वदेश फर्किने र स्वदेशमै बसेर प्रजातन्त्र प्राप्तीका लागि काम गर्ने घोषणा गरी ठूलो साहसका साथ जोखिम मोलेर स्वदेश फर्किनुभएको हो । त्यसैले उक्त दिनलाई हामीले राष्ट्रिय एकता तथा मेलमिलाप दिबस मानेका हौँ । त्यसअघि काँग्रेसद्वारा चलाइएको सशस्त्र क्रान्तिलाई बीपीले स्थगित गर्नुभयो ।
    आजभन्दा ४२ वर्ष अगाडि मेलमिलाप दिवसमा उहाँँले दिनुभएको ‘देशवासीका नाउँमा अपील’ ले आजको सन्दर्भलाई पनि सटीक संवोधन गर्दछ—“आज देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, ब्यक्तिवादी मनोवृत्ति र विदेशपट्टी आमुख हुने प्रवृत्तिको बोलवाला छ । यस्तो परिस्थितिमा सबभन्दा पहिले राष्ट्रियताको हत्या हुन्छ …….।”
    परिस्थितिको चित्रण र समस्याको स्वरूपबारेमात्र होइन सो अपीलमा उहाँले राष्ट्रियता र प्रजातन्त्रका पक्षधर सबैलाई पथप्रदर्शन गर्नुभएको छ, “…..हामीले प्रजातन्त्र प्राप्तीमा मात्र जोड दियौँ भने राष्ट्रिय सङ्कटको निवारणमा हाम्रो योगदान रहँदैन । त्यतिमात्र होइन, यस्तो एकपक्षीय कार्यले हामी विदेशीहरूको चालमा पर्ने अवस्थामा पनि रहन्छौँ । त्यस्तै हामीले केबल राष्ट्रियताको मात्र चर्चा ग¥यौँ भने १६ वर्षदेखि चल्दैआएको खोक्रो राष्ट्रियताको नारावाजीमा पुग्छौँ र अधिनायकवादको पक्षधर हुनपुग्छौँ । यस्तो खोक्रो राष्ट्रियताले देशवासीमा राष्ट्रको रक्षा गर्ने आन्तरिक मनोबल पैदा गर्न सक्दैन ।…..” त्यसकारण समाज, संस्थाहरू र राष्ट्रिय दृष्टिकोणबाट मेलमिलाप दिवसको सो अपील आजको सन्दर्भमा झन् बढी जरूरी भएर आएको छ । राष्ट्रिय मेलमिलापका लागि बीपीले दिनुभएको सो अपील सबै देशभक्त, प्रजातन्त्रवादी, खासगरी काँग्रेसजनले एकपल्ट फेरि पढ्नु जरुरी छ ।
    स्वदेश फर्केपछि बीपीले मेलमिलापको औचित्यबारे अनवरत प्रकाश पार्नुभएको छ । उहाँको मेलमिलाप ब्याख्याको मूल सार थियो, राष्ट्रियतामाथि आईलागेको संकट समाधानका लागि प्रजातन्त्रवादीहरूले राजासँग मेलमिलापको वातावरण बनाउने, प्रजातन्त्र प्राप्त गर्ने विषयमा राजा बाधक बनेसम्म विरोधमा संगठित हुने । मेलमिलाप नीतिले पञ्चायत ब्यवस्थालाई सधैँभरि विरोध गरिरह्यो ।
    मेलमिलाप, राष्ट्रियता र प्रजातन्त्रको पक्षमा एउटा रणनीतिक कदम थियो । तर यस रणनीतिले राष्ट्रियताको नाममा ‘खोक्रो राष्ट्रियता’ बोकेको पञ्चायतसमक्ष आत्मसमर्पण गर्ने होइन र प्रजातन्त्रको नाममा ‘विदेशी चालमा पर्ने’ जोखिमबाट बच्नुपर्ने त्यति नै आवश्यक छ भन्ने मार्गदर्शन गरेको थियो । राष्ट्रियताको कुरा गर्दा प्रजातन्त्रबाट टाढा हुन सकिने र प्रजातन्त्रको कुरा गर्दा राष्ट्रियताबाट टाढिनुपर्ने सम्भावनाको अन्त्य गर्दै राष्ट्रिय संकटमा प्रजातन्त्रवादीहरूको रचनात्मक भूमिका हुनुपर्नेमा जोड दिइएको थियो । राष्ट्रियता र प्रजातन्त्रको प्राप्तिलाई एकसाथ अगाडि बढाउने प्रयास नै मेलमिलापको अन्तरनिहित भावना थियो ।

    ऐतिहासिक पृष्ठभूमि र लुकेको अध्याय
    बीपीको उक्त कदम कुनै लहैलहै वा बहकाउको लहडी खेल थिएन, तत्कालीन विश्व परिस्थितिको गहन अध्ययन तथा विश्लेषणबाट प्राप्त अकाट्य निष्कर्षमा आधारित थियो । उहाँले मुलुकको अखण्डता र संरक्षणका लागि विश्व परिस्थितिलाई गहिरोसँग विश्लेषण गरी निष्कर्ष बनाउनु भएको थियो र आपूmलाई मनमा आएको त्यो विचारको सर्वप्रथम गणेशमानजीसँग राख्नुभयो । बीपीका विचार सुनेपछि गणेशमानजीले ठट्टाको शैलीमा भन्नुभएछ, “होइन कोइरालाजी, आज मेरा कान के भएका हुन्, म त तपाईँले नेपाल जाने कुरा गरेको पो सुन्दैछु ! अहिले नेपाल जाने भनेको मर्न जाने हो । जानीजानी कोही मर्न जाला ?”
    नेता सुवर्ण शम्शेर लगायत शुभेच्छुकहरूको देश नफर्किने सल्लाह, देशभरिका पञ्चहरूको फासीको माग, ज्यानमाथिको खतरा र अनेकौ मुद्दाका बावजूद बीपी र गणेशमानजी उच्च मनोबल र आत्मविश्वासका साथ खल्तीमा मेलमिलाप र लोकतन्त्रको रोडम्याप बोकेर स्वदेश फर्किनुभएको थियो । ध्यान दिन योग्य के पनि छ भने गणेशमानजीले मेलमिलाप नीतिको पक्षमा कहिल्यै वकालत गर्नुभएन, तर उहाँ सकारात्मक हुनुहुन्थ्यो, “मेलमिलापको नाममा नेपाल जानु आत्महत्या हो, निर्वासनमा बसिरहनु मन्दविष पिउनु हो ।” उहाँ यो पनि भन्ने गर्नुहुन्थ्यो, “२००७ सालको जनक्रान्तिले दुईटा उपलब्धी दियो– राष्ट्रियता र प्रजातन्त्र । प्रजातन्त्रको गला निमोठिएको छ । राष्ट्रियता घिटिघिटीको अवस्थामा छ । मेरो मानेमा मेलमिलाप भनेको देशभित्रै पसेर यी दुवैको पक्षमा कोट्याउने हो ।”
    तत्कालीन राजदरबार जहिले पनि र जहाँ पनि नरम र गरम धार परिचालन गर्दथ्यो । एकथरि पञ्चहरू मेचीदेखि महाकालीसम्म ‘बीपीलाई फाँसी दे’ जस्ता नारा घन्काउँथे । रेडियोले दिनहूँ यस्तै वक्तब्य फुक्दथ्यो । अर्कातिर काँग्रेस पार्टी र प्रजातान्त्रिक आन्दोलनको पृष्ठभूमिबाट आएका ‘उदारवादी पञ्च’ सँग त्यही अनुरुपको ब्यवहार अपनाउँथ्यो । यसैवीच, काँग्रेसको महामन्त्री भएपछि पञ्चायत प्रवेश गर्नुभएका स्व. श्रीभद्र शर्माको एकदिन राजा वीरेन्द्रसँग भेट हुँदा फाँसीको नारा र वक्तब्यले पञ्चायतलाई नै बदनाम गरिरहेको छ सरकार, यो बन्द गर्नु आवश्यक छ भन्दा राजा वीरेन्द्रले ‘तिम्रो कुरा बेठीक छैन, उनीहरू (वीपी, गणेशमानजी) मेलमिलापको प्रस्ताब बोकेर स्वदेश आएका छन् । त्यसले नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भन्ने हाम्रो प्रस्ताबलाई रिजल्ट ओरिएन्टेड (परिणाममुखी) तरिकाले सहयोग नै पु¥याएको छ…..’ भन्ने कुरा गरेको श्रीभद्रजी सुनाउनु हुन्थ्यो ।
    सन् ७० को दशक, समकालीन विश्वमा शीतयुद्ध पराकाष्ठामा पुगेको अवस्था थियो । शीतयुद्धकै सिलसिलामा विकासोन्मुख मुलुकहरूका लागि आफ्नो अस्मिता जोगाउने ठूलो चुनौती आईलागेको थियो । बाँग्लादेशको उदय, सिक्किमको बिलय, अफगानिस्तानमा तत्कालीन सोभियत संघको ब्युहरचनामा सत्तापलट, गृहयुद्ध र सोभियत सेनाको उपस्थिति, थाईल्याण्डमा सेनाद्वारा सत्ता हत्याउने काम, इरानमा राजतन्त्र विरुद्ध दिनदिनै ब्यापक हुँदैगएको विद्रोह र कलह, इथियोपियामा सोभियत पृष्ठपोषणमा एमान एन्दम र मङ्गेत्सु हाईली मरियमद्वारा सत्तापलट, नाईजिरियामा कम्युनिस्टद्वारा बितण्डा र सत्तापलट, साईप्रसमा टर्कीको पक्षपोषणमा द्वन्द्व र कलह, पोर्चुगालमा वामपन्थीहरूद्वारा सैनिक विद्रोह जस्ता घटनाले मानचित्रबाट कयौँ विकासोन्मुख मुलुकहरू हराउने खतरा बढिरहेको थियो भने छिमेकी भारतमा नै लोकतन्त्रलाई निलम्बनमा राखेर संकटकालीन स्थितिको घोषणा गर्नुका साथै संविधानका महत्वपूर्ण जनअधिकारहरू पनि निलम्बनमा राखिएको अवस्था थियो ।
    भियतनाम युद्धको उत्कर्षकालमा कम्युनिस्ट दबदबाबाट बच्नका लागि एशिया–प्रशान्त क्षेत्रका ५ वटा ‘सशकित मुलुकहरू’ ९व्ष्ततभचथ क्तबतभक० र आज १० वटा मुलुकले आसियान सङ्गगठन स्थापना गरे र ‘मित्रता र सहयोग सम्बन्धी सन्धी’ नै गरे । १९६५–६६ मा इन्डोनेशियामा भएको कम्युनिस्ट विद्रोह, सत्तामा गोप्य घुसपैठबारे चर्चित ‘एडित फर्मूला’ र नरसंहार, हेक्का राख्नलायक असाधारण त्रासदी थियो । तदनुरुप नेपालमा पनि काँग्रेस विरोधवाद र भारत विरोधवादको मौन रणनीति र भेषमा पञ्चायतभित्र वामपन्थीहरूको ब्यापक घुसपैठ थियो । पञ्चायत र वामपन्थीहरूको एकसूत्रीय कार्यक्रम प्रजातन्त्र र काँग्रेसविरुद्ध एकसाथ केन्द्रित थियो । अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन ‘लोकतन्त्रका लागि शान्त रहन ९ीष्भ यिध० र राष्ट्रियताको झण्डा उच्च राख्न’ विकासोन्मुख मुलुकहरूलाई आह्वान गरिरहेका थिए । यसको बहानामा धेरै तानाशाहले सत्तामा नाजायज मौका पाए । त्यो सारा विश्व परिस्थितिका बीच बीपीलाई लोकतन्त्रको लागि सशस्त्र संघर्ष जारी राख्नु विदेशीको चालबाजीमा फस्ने खतरा देखेर उपयुक्त लागेन ।
    प्रमाण र दस्तावेजहरूले के पुष्टि गर्छन् भने बीपी, गणेशमानजी लगायत हजारौँ कार्यकर्ताहरू निर्वासनमा रहे पनि पञ्चायतको शासकीय तहमा विसंगति, द्वन्द्व र अन्यौलपूर्ण अवस्था थियो । पञ्चायतको तर्फबाट दिनहुँ आउने घृणा र भत्र्सनाका वक्तब्यहरू त्यही हतास र आत्मनासको प्रतिबिम्ब थियो । मातृकाप्रसाद कोइरालाले एक दिन भन्नुभयो, “विश्वेश्वर, गणेशमानहरू एउटा वक्तब्य के दिन्छन्, पञ्चायतलाई ६ महिना चिच्याउने मसला पुग्छ ।”
    वास्तबमा राजा महेन्द्रको निधन भएको ५ दिनपछि माघ २२, २०२८ (१९७२, फरबरी ५) मा भारतका सर्वोदय नेता जयप्रकाश नारायणले नयाँ राजा (वीरेन्द्र) लाई एक पत्र लेखी मेलमिलापको बाटो लिन घच्घच्याएका थिए भनी नयाँदिल्लीको नेहरु स्मृति संग्रहालय तथा पुस्तकालयमा संग्रहित ऐतिहासिक दस्तावेजबाट प्रमाणित हुन्छ । राजाले एक महिनापछि उक्त पत्रको जवाफ दिँदै जयप्रकाशजीसँग हार्वार्ड विश्वविश्वविद्यालयमा भएका भेटको सम्झना त गरे तर आपूm पिताकै पदचिन्हमा हिँड्ने आसय दिएको र जयप्रकाशजीले राजाको जवाफ बीपीलाई सुनाउँदा उहाँलाई राजाले प्रजातन्त्रउचित कदम चलाउँछन् भन्ने आसै छैन भन्ने जवाफी पत्र पठाउनु भएको देखिन्छ ।
    मेलमिलापको प्रयासमा लागेका अर्का ब्यक्ति हुनुहुन्थ्यो, युगोस्लाभ कम्युनिस्ट पार्टीका नेता, राष्ट्रपति टिटो तथा बीपीका मित्र अलेक्स् बेब्लर । उहाँ बनारस निर्वासनमा रहनुभएका बीपीलाई भेटेर चैत्र ४ गते २०२८ सालमा काठमाडौँ आउनु भयो । बीपीले सुशीला भाउजूलाई बेब्लरसँगै काठमाडौँ पठाउनु भएको थियो । राष्ट्रिय मेलमिलापको पक्षमा माहौल बनाउने क्रममा सबै राजनीतिक व्यक्तिहरूसँग बेब्लरले भेटघाट गर्नुभयो । उहाँले बीपीलाई पनि मेलमिलापको पक्षमा एउटा वक्तब्य दिन सल्लाह दिनुभएको थियो । यसबाट दुवै पक्षमा तात्विक सुधार नआए तापनि परिस्थितिलाई सकारात्मक बनाउने पहल भएको थियो । बेब्लरको सम्मानमा नेता योगेन्द्रमान शेरचनले आफ्नै निवासमा एक स्वागत समारोह (रेसेप्सन) को आयोजना गर्नुभएको थियो । सो रेसेप्सन सकिएर सबैलाई विदा गर्ने सिलसिलामा उहाँलाई रहस्यमय ढङ्गबाट मोटरद्वारा किचाएर हत्या गरियो ।

    स्वदेश फर्किने क्रममा काठमाडौँबाट कलकत्ता पुगेपछि बेब्लरले बीपीलाई मार्च २०, १९७२ मा एउटा लामो पत्र लेख्नुभएको थियो, जुन पत्रको मूलरुप नयाँदिल्लीको नेहरु संग्रहालय तथा पुस्तकालयमा हेर्न सकिन्छ ।
    यसप्रकार बीपीले अगाडि सार्नुभएको मेलमिलापको नीति नेपाली काँग्रेसका लागि नौलो कदम थिएन । त्यसभन्दा अघि २०२५ जेठ २ गते तत्कालीन पार्टी सभापति सुवर्ण शम्शेरले एक वक्तब्य जारी गर्दै ३ वटा सर्तमा ‘राजासँग सहयोगात्मक सम्बन्ध’ बनाउने अपील गर्नुभएको थियो । तीनवटा सर्तमा– १. सम्पूर्ण राजबन्दीहरूको रिहाई र मुद्दा फिर्ता हुनुपर्ने, २. प्रजातान्त्रिक सुधारलाई गति दिनुपर्ने र ३. सर्वश्व हरण गरिएका कार्यकर्ताहरूको सम्पत्ती फिर्ता गर्नुपर्ने थिए । राजा महेन्द्रले सर्लाहीमा पुगेर काँग्रेसलाई ईंगित गर्दै ‘शान्तिपूर्वक स्वदेशमा बसोबास गर्न सबैलाई आह्वान’ गरेको जवाफमा सुवर्णजीको सो बक्तव्य आएको थियो ।
    ‘प्रजातन्त्रवादी शक्ति र राजशक्तिका बीच मेलजोलको वातावरण निर्माण गर्न’ काँग्रेसका नेता सूर्यप्रसाद उपाध्याय (सूर्याबाबु) ले पनि निरन्तर प्रयत्नहरू लगाइरहनु भयो । उहाँकै पहलमा, बीपी, गणेशमानजी सुन्दरीजलमा बन्दी हुँदा पनि राजाले सुवर्णजीसँग भेटघाट गरी मेलमिलापको वातावरण बनाउन मद्दत गर्नुभएको थियो ।
    धेरै वर्षको र धेरैजनाको अनवरत प्रयत्न लागेको परिणामस्वरुप २०३३ पुस १६ को विन्दुमा राष्ट्रिय राजनीति, खासगरी लोकतान्त्रिक आन्दोलनको नयाँ कोशेढुङ्गाको रुपमा मेलमिलाप नीति आइपुगेको हो । नयाँ पुस्ताले पनि राष्ट्रिय मेलमिलापको अर्थ, महत्व र यसको पृष्ठभूमि जान्नु जरुरी छ ।
    वर्तमानको सन्दर्भमा मेलमिलाप
    एकातिर पञ्चायतले काँग्रेसलाई ‘अराष्ट्रिय तत्व’ भन्ने, अर्कातिर कम्युनिस्टले ‘मूख्य वर्गशत्रु’ का रुपमा आधिकारिक दस्तावेजमै उल्लेख गर्नुले राष्ट्रियता र प्रजातन्त्रवादीहरूमा झनै खतरा देखिनुकै कारण काँग्रेसले मेलमिलापको रणनीति अपनाएर आफ्ना लागि देशभित्र मर्यादित स्थान (स्पेश) बनाउँदै कार्यकर्ता र जनताका बीचमा पुग्ने रणनीति बनायो । ठूलो संघर्ष र यातनापछि २०२७ सालमा हामीले नेपाल विद्यार्थी संघको स्थापना ग¥यौँ । यसबाट प्रजातन्त्रका लागि एउटा महत्वपूर्ण दबाबको ऊर्जाशील शक्ति सिर्जना हुनाको साथै काँग्रेसउपरका अनेक दुस्साहस कमजोर भएर गए ।
    राष्ट्रिय एकता तथा मेलमिलाप मुलुकको सङ्कट निवारणका लागि सबै प्रजातन्त्रवादी र राष्ट्रवादी शक्तिका आपसी विवादलाई सकेसम्म साँघु¥याएर एकजूट बनाउन गरिएको राजनेताउचित साहसिक कदम थियो । तर त्यो बेला सत्ताको उन्मादले अन्धो भएको तत्वले बीपीका विचारलाईमात्र होइन, ‘बीपीलाई नै आर्यघाट पु¥याइदिने’ आसुरी हुँकार प्रदर्शन ग¥यो । बीपी, गणेशमानजी यस्ता हुँकारबाट विचलित हुनुभएन, गल्नुभएन । राष्ट्रियताको सुदृढीकरणको अभियानसँगै उहाँहरूको नेतृत्वमा प्रजातन्त्रको पक्षमा अनुकूल वातावरण विकसित हुनथाल्यो । देशभित्र प्रजातन्त्रका लागि काम गर्ने शक्तिले हौसला र गति पायो । परिणामस्वरूप मेलमिलाप नीति अपनाएको तीनवर्ष पुग्दा नपुग्दै मुलुकमा जनमत संग्रहको घोषणा गरियो । निर्विकल्प पञ्चायत भनिएको निर्दलीय शासन जनअदालतको कठघरामा पुग्यो ।
    पानी बाराबारको शत्रुतापूर्ण वातावरणमा रहेका प्रजातन्त्रवादी राष्ट्रिय शक्ति र राजाको नेतृत्व मान्ने शक्तिका बीच हेलमेलका अनेकौँ अभ्यास र परम्पराको प्रारम्भ भयो । पार्टीहरूले आज अपनाएको चियापान संस्कृति काँग्रेसले मेलमिलापको ब्यवहारका लागि शुरू गरेको थियो । बीपी चियापानको आयोजना गर्नुहुन्थ्यो र सबै पक्षलाई बोलाउनु हुन्थ्यो । कालान्तरमा त्यसलाई गणेशमानजी, किसुनजी, गिरिजाबाबु हुँदै आजसम्म निरन्तरता रहँदैआएको छ । कम्युनिस्ट पार्टीतिर मनमोहन अधिकारीजीले शुभारम्भ गरेको त्यो चलन त्यसपछिका अन्य नेताहरूले पनि अपनाउँदै माओवादीसम्म पुग्यो । यसले मतान्तरहरूका बीच न्यानोपन, आत्मीयता र संवादको द्वार खोल्न सहयोग ग¥यो । एउटा पक्षले अर्को पक्षलाई सुन्ने सद्भावना संस्कृतिको विकास भयो । दक्षिण एशियाका बाँग्लादेश, श्रीलंका, पाकिस्तान आदि मुलुकमा पार्टीहरूका बीच संवाद र सरोकारको संस्कार विकसित भएको पाइन्न । पञ्चायत र कम्युनिस्टहरूले शत्रु घोषणा गरिरहेका नेपाली काँग्रेसले नेपालमा हेलमेल र संवादको संस्कृति विकसित गर्नमा बीपीले मेलमिलाप नीति अन्तर्गत अपनाउनु भएको विचार र ब्यवहारले नै प्रारम्भ गरेको हो भन्नुमा अत्युक्ती छैन । मेलमिलापको संस्कृति राष्ट्रियतालाई ध्यान र महत्व दिने सवालमा तत्कालीन परिस्थितिमा अपनाइएको एउटा लोकतान्त्रिक रणनीतिको कदम थियो । आज बीपी दर्शन र मेलमिलापलाई अन्धाहरूले हात्ती छामेजस्तो ब्याख्या हुनेगरेको छ । जहाँ पनि यसरी ‘मेलमिलाप’ को सूत्र लगाउन खोज्नु गल्ती हुन्छ ।
    अन्त्यमा
    मेलमिलाप कुनै दर्शन होइन, ब्यावहारिक सोच हो, लोकतान्त्रिक संस्कृति हो । लोकतन्त्रमा वाद र प्रतिवादको घर्षणबाटै नै सम्वाद र सहमतिको विन्दुमा पुगिन्छ । एक–अर्काका दर्शन, चिन्तन र राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक भिन्न सोच र विश्वास हु्न्छ । यसको संयोजन मेलमिलापबाट नै सम्भव छ । राष्ट्र संचालन वा पार्टी सन्चालनमात्र होइन पारिवारिक वा सामाजिक सद्भाव र रचनात्मक वातावरण निर्माणका लागि समेत मेलमिलापको मैत्रीपूर्ण ब्यवहारले जस्तासुकै चुनौती र समस्याको समाधान निकाल्न सकिन्छ । हालै सम्पन्न नेपाली काँग्रेसको महासमिति बैठकले मेलमिलापको ब्यवहारबाट नै विद्यमान चुनौती र समस्याको सामना गर्दै पार्टीलाई एकताबद्ध बनाउन सक्यौँ । आज सत्तामा कम्युनिस्ट सरकारको निरंकुशतालाई परास्त गर्ने आवश्यक शक्ति सञ्चयका लागि पनि लोकतन्त्रको अगुवा शक्ति नेपाली काँग्रेसभित्र र सबै लोकतन्त्रवादी शक्तिहरूबीच अझै बढी मेलमिलापको जरुरत छ ।
    राष्ट्रिय मेलमिलाप तथा एकता दिवसको अधिष्ठाता नेपाली काँग्रेस नै हो, तर यो दिवसलाई बिरालो बाँधेर श्राद्ध गरेजस्तो कर्मकाण्डी रूपमा मनाउनु हुँदैन । शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने र संविधान निर्माणको कार्यलाई गति दिने प्रयोजनमा पनि मेलमिलापको सूत्र काँग्रेसले अपनायो । तसर्थ काँग्रेसले यसलाई फगत भाषण गर्ने औपचारिक कार्यक्रमका रूपमा झारा टार्ने बन्न दिनु हुँदैन । राष्ट्रिय स्वाभिमानको रक्षाका लागि प्रजातान्त्रिक शक्ति एकीकृत बनाउने रणनीतिक कदमबाट पैदा भएको यो नीतिलाई राजनीतिक संस्कारको रुपमा निरन्तरता दिँदै प्रेरणाको रुपमा जनस्तरसम्म विकसित गर्नुपर्छ । खासगरी नेपाली काँग्रेसभित्र देखिएको गुट–उपगुट र गिरोहहरूले सानातिना स्वार्थलाई तिलान्जली दिएर समग्र राष्ट्रिय मेलमिलाप र एकता नीति एवं मर्मबोध गर्नु आजको अनिवार्य आवश्यकता छ । त्यसैले सबै देशभक्तका लागि पुस १६ गते साझा मेलमिलाप दिवसका रूपमा मनाउनु राष्ट्रप्रति इमानदारी हुनेछ ।

    (नेपाली काँग्रेस का केन्द्रिय सदस्य के सीले प्रजातान्त्रिक बिचार समाज रुपन्देहीले प्रकाशन गर्नलागेको बिचार स्मारिका लागि तयार गरिएको लेख समय सान्दर्भिक भएकाले प्रकासित गरिएको छ् )