Wednesday 24th April 2019
  • New title for a=>html, img=>alt
  • सवारी दुर्घटना रोक्न ट्राफिक कम्युनिकेसन एप

    February 11, 2019



    बुटवल, माघ ।
    सवारी दुर्घटना नियन्त्रण गर्न नेपाल प्रहरीले ट्राफिक कम्युनिकेसन एप प्रयोगमा ल्याएको छ । विशेषगरी लामो दुरीका सवारी साधनमा दुई जना चालक अनिवार्य राख्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयनका लागि यो एप प्रयोगमा ल्याइएको हो ।

    पाँच नम्बर प्रदेशमा प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले सुनवल १२ भूमहीमा उक्त एपको उद्घाटन गरी प्रयोगमा ल्याएको छ । सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा क्षेत्रीले चालकको फोटोसहितको विवरण लिएर उक्त एप प्रयोगमा ल्याउनु भएको हो ।

    यो एप प्रयोगमा आएपछि लामो दुरीमा संचालन हुने सवारी साधनले कानुनी व्यवस्था अनुसार २ सय ५० किलोमिटर दुरीपछि अर्को चालक परिवर्तन गरे नगरेको पत्ता लाग्नेछ । पहिलो चरणमा काठमाडौंको नागढुंगा, सर्लाहीको कर्मैया, नवलपरासीको भूमही र बांकेको कोहलपूरमा एप सञ्चालनमा आएको प्रदेश प्रहरी कार्यालय दाङका वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले जानकारी दिनुभयो ।

    लामो दुरीमा चल्ने सवारी साधनमा चालक परिवर्तन भए नभएको पत्ता लगाउन एक निश्चित विन्दुमा सवारी चालकको फोटो खिचेर सवारी साधनको नम्बर, प्रस्थान तथा गन्तव्य स्थान दर्ता गरी इन्टरनेटको सर्भरमा राखिन्छ । ट्राफिक प्रहरीले चेकिङ पोइन्टहरुमा चेकजांचको क्रममा चालकको फोटो र अनुहार जांच तथा विवरणको आधारमा चालक बदली भए नभएको सहजरुपमा पत्ता लगाउन सक्ने प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले बताउनु भयो ।

    ट्राफिक प्रहरीले जीपीएस लोकेसन पनि थाहा पाउन सक्ने यो एपमा चालकको लाइसेन्स नम्बर, टाइम कार्ड समेत चेक गर्ने सुविधा भएकाले चालकले झुक्याउन पाउने छैनन् । यसमा ट्राफिक म्यासेज ब्रोडकास्टिङ गर्ने व्यवस्था समेत रहेको छ । एपको प्रयोगले समयको पालना, तीब्र गतिमा नियन्त्रण भई सवारी दुर्घटना न्यूनिकरण हुने र प्रभावकारी सवारी व्यवस्थापन एवं सुरक्षित गन्तव्यका लागि यो एप उपयोगी हुने ट्राफिक प्रहरी निरीक्षक हेमबहादुर शाहीले बताउनु भयो । संयुक्त राष्ट्र संघको तथ्यांक अनुसार विश्वमा प्रत्येक वर्ष १३ लाख मान्छे सवारी दुर्घटनामा मृत्यु हुने गरेको छ ।

    नेपालमा एक वर्षमा २ हजार ५९३ जनाको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ । पछिल्लो ५ महिनामा सवारी दुर्घटनाबाट १ हजार १७६ जनाको मृत्यु भएको छ । कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिमज्वाला राई, पश्चिम नेपाल बस व्यबसायी संघका अध्यक्ष दधि खरेल, सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद वेलवासे लगायतले दुर्घटना न्यूनिकरणकालागि भएको प्रयास स्रहानीय रहेको बताउनु भएको थियो ।