Friday 19th July 2019
  • New title for a=>html, img=>alt
  • सहरको दसैँको कारुणिक कथा

    October 23, 2015


    BBTG7980(सिबी अधिकारी)

    काठमाडौँ, ६ कात्तिक । दोलखाकी कमला सुवेदीमा दसैँको कुनै रौनक छैन, न उत्साह र खुसियाली नै छ । चिसो बिहानी र दिउँसोको चर्को घाममा इँटाको धुलामा रुमलिएर दिनभर ग्राहकको प्रतीक्षा नै उहाँको दैनिकी बनेको छ ।

    भूकम्पले घरबास पुरेपछि दुई छाक टार्नकै लागि राजधानीमा सङ्घर्षरत भई तीन महिनादेखि वसन्तपुर दरबार क्षेत्रमा परेवालाई दाना चारो बेच्न बसेकी उहाँलाई दसँैको खुसीभन्दा पनि बिहान र बेलुका हात जोर्ने सामल जुटाउने चिन्ता छ । समूहमा आउने मानिस र पर्यटकलाई गुहार्दैमा बित्छ उहाँको दिनचर्या । के सहर, के गाउँ सबैतिर दसैँको उल्लास छाइरहँदा भूकम्पपीडित सुवेदीको पीडा घटेको छैन ।

    निरन्तर कष्टकर बन्दै गएको उहाँलाई ग्राहकको पखाईभन्दा पनि नगर प्रहरीको त्रास र पीडा बढी छ । दिनहँु बोरामा हालेर चारो बेच्ने सुवेदीले सधँैजसो नगर प्रहरीले दुःख दिने गरेको गुनासो गर्नुभयोे । पाँच जनाको परिवार धान्नुपर्ने सुवेदीले परेवाको चारो बचेरै तीन सन्तानलाई ‘बोर्डिङ स्कुलमा’ पढाउनुभएको छ ।

    “भूकम्पले घर र भएको जेथा सबै माटोमा मिल्यो, बाँच्नु त प¥यो, सहयोग गर्ने कोही छैनन्, पाँच जनाको परिवार, मेरो मात्र कमाइले पाल्नुपर्छ, यहाँ पनि नगरपालिकाले असाध्यै दुःख दिन्छ, गरिबलाई कहीँ सुख छैन,”–उहाँले गुनासो गर्नुुभयो ।

    मौका पर्दा पेसाबाट सुवेदीले मनग्गे कमाइ पनि गर्नुहुन्छ । कम्तीमा रु पाँच सयदेखि बढीमा रु एक हजारसम्म दैनिक आम्दानी हुने गरेको उहाँले बताउनुभयो । सुवेदीका ग्राहक विदेशीभन्दा नेपाली नै बढी हुन्छन् । रु २०, ५० र १०० का दरले मकै र गहुँका दाना बेच्नुहुन्छ ।

    सङ्खु (काभ्रे) की फुलमाया लामा २८ वर्षदेखि सोही स्थानमा परेवालाई दाना बेच्दै आउनुभएको छ । उहाँमा पनि दसैँको कुनै रौनक छैन । एकातर्फ पैसाको समस्या त छँदैछ अर्कातर्फ भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव र ढुवानी सहज नहुँदा महँगिएको बजार मूल्यको चर्को मारमा उहाँजस्तै श्रमजीवी पिँधिएका छन् ।

    सिन्धुपाल्चोक आठ किलोकी ७९ वर्षीया बालकुमारी कार्की पनि सात वर्षदेखि परेवालाई दाना बेच्ने पेसा गर्दै आउनुभएको छ । उहाँ पहिला भृकुटीमण्डपमा बोतल खोजेर बेच्ने गर्नुहुन्थ्यो । नरदेवीमा छोरीहरुसँग डेरा गरी बस्ने उहाँले आफ्नो कमाइले कोठा भाडा तिरेर खाना खानुपर्छ । भन्नुहुन्छ–“दुई छोरा बिरामी छन्, तीन छोरीको पनि समस्या छ, काम गर्न सक्दैनन्, अहिले पाँच दिन भयो साउँ पनि उठेको छैन, व्यापार घाटा छ, भाडा तिर्न समस्या छ, दसैँ त दसै भयो ।”

    बुढेसकालको सहारा सडकको दाना व्यापार बताउने कार्कीको भूकम्पले गाउँका तीन वटा घर भत्कायो । कमाउने जग्गा नभएको हैन, काम गर्ने हुती छैन । गाउँमा कोदालो खन्न र भारी बोक्न नसकेकै कारण सहर आएर यस्तो काम गर्नुपरेको उहाँले सुनाउनुभयो ।

    कमला, फूलमाया र बालकुमारी प्रतिनिधि पात्र मात्र हुन् । उहाँहरुजस्ता थुपैै्रको दसैँ दसा बनेको छ । गरिबको श्रमको मूल्याङ्कन नहुँदा पीडा झन् थपिएको छ । हनुमानढोकास्थित तलेजु मन्दिर परिसरमा नेपाली राष्ट्रिय झन्डा बेच्दै आउनुभएका काठमाडौँ बानेश्वरका प्रेमलाल श्रेष्ठ, अर्थ अभावकै कारण सडकमा कष्टकर रुपमा काम गर्दै आएको बताउनुहुन्छ ।

    पैँतीस वर्षदेखि पुख्र्याैली पेसा अँगाल्नुभएका उहाँले दैनिक बढीमा रु एक हजारसम्म कमाइ हुने गरेको बताउनुभयो । चार जनाको परिवार धान्दै आउनुभएका उहाँमा व्यापार नभए पनि पेसा परिवर्तन गर्ने सोच छैन । रासस