आरोपी खेलाडीहरू १३ गतेसम्म थुनामा रहने

438

आरोपी  खेलाडीहरू १३ गतेसम्म थुनामा रहने

macha

काठमाडौं । विशेष अदालतले म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडी तथा प्रशिक्षकलाई कात्तिक १३ गतेसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार पक्राउ परेका खेलाडी र प्रशिक्षकलाई अदालतमा उपस्थित गराएको थियो । असोज २७ गते नै पक्राउ परेको भए दसैंका कारण घटस्थापनादेखि नै अदालत बन्द भएका कारण मंगलबार मात्र उपस्थित गराइएको थियो ।

प्रहरीले राज्यविरुद्धको अपराधमा मुद्धा अनुसन्धानका लागि पक्राउ परेका खेलाडीहरुलाई पक्राउ मितिले २० दिन थुनामा राख्न अनुमति मागेको थियो ।

तर, अदालतले १३ गतेसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । पक्राउ परेको मितिले १७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश भएको छ’ रजिष्टार भद्रकाली पोखरेलले अनलाइनखबरसँग भने ।

महानगरीय प्रहरी अपराध महाशाखाले असोज २७ गते कप्तान सागर थापासँगै उपकप्तान सन्दीप राई, रितेश थापा र विकाससिंह क्षेत्री र प्रशिक्षक केसीलाई पक्राउ गरेको थियो ।

प्रहरीले बयानका क्रममा खेलाडीहरुले फिक्सिङ स्वीकार गरेको बताएको थियो । तर, अदालत लैजाने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय टोलीका निलम्बित कप्तान सागर थापाले भने आफूहरु निर्दोष भएको दाबी गरेका छन् ।

अदालत परिसरमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सागरले आफूहरु निर्दोष भएको दाबी गरे । उनले भने-हामीले देशका लागि १५/२० वर्ष खेल्यौं । हामीलाई अहिले तपाईहरुको साथ चाहिएको छ । हामी निर्दोष छौं ।’

उनले आफूहरुले आरोप स्वीकार नगरेको समेत बताए । सागरले आफूहरुलाई अहिले नै दोषीका रुपमा प्रस्तुत गरिएको भन्दै सञ्चार माध्यमहरुप्रति असन्तुष्टि समेत जनाएका छन् ।

निलम्बित उपकप्तान सन्दीप राईले अनुसन्धानका क्रममा रहेकाले त्यसपछि मात्र बोल्ने बताएका छन् ।

फिक्सिङको आरोपमा पक्राउ परेपछि एन्फा र एएफसीले पाँचै जनालाई निलम्बन गरेको छ ।