कालिकानगरमा भेटिएको बम डिस्पोज : बन्दको आंसिक प्रभाव

662

कालिकानगरमा भेटिएको बम डिस्पोज : बन्दको आंसिक प्रभाव

बुटवल, ३० फागुन । नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको दिन बिहिबार बिहानै बुटवलमा फेला परेको बम नेपाली सेनाको बम डिष्पोजल टोलीले निश्कृय बनाएको छ ।
नेकपाको बन्द आह्वानसंगै छिटफूट रुपमा मोटरसाईकल तथा साना सवारीका साधन चलेका थिए । सिद्धार्थ राजमार्गमा पर्ने बुटवल भैरहवा सडक खण्ड अन्तरगत बुटवलको कालिकानगर स्थित कालिका चोकमा स्पिड कन्ट्रोलकालागि ट्राफिक प्रहरीले राखेको बेरिकेडमाथी बिहान करिव साढे ६ बजेको समयमा कालो टेपले बेरीएको शंकास्पद बस्तु भेटिएको थियो ।
नेपाली सेनाको २२ नं. बाहिनीको बम डिस्पोजल टोलीले बिहान सवा ९ बजेको समयमा उक्त बम डिस्पोज गरेको हो । मुख्य राजमार्गमै बम भेटिएपछि नागरिकले १० वर्षे ससस्त्र द्वन्द्वको सम्झना गराएको बताएका छन् । यता प्रहरीले भने विप्लव समुहले आह्वान गरेको बन्द सफल गराउनकालागि नागरिकमा सन्त्रास पैदा गराउने काम भएको हुन सक्ने अनुमान गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले बन्दलाई सफल गराउनकालागि नागरिकलाई सर्ताउनेगरी विप्लव समुहले राखेको हुन सक्ने उल्लेख गर्नुभयो । यद्यपी उक्त बम कसले राखेको भन्ने बारेमा भने केही खुलेको छैन ।
विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको रुपन्देही तथा आसपासका जिल्लामा पनि आंसिक प्रभाव परेको छ । बन्द आह्वान भएका कारण बुटवल, भैरहवा, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलबस्तु लगायतका जिल्लाबाट छुट्ने लामा तथा छोटा दुरीका कुनै पनि सवारी साधन चल्न सकेका छैनन् । उद्योग धन्दा कलकारखाना पनि बन्द छन् । त्यस्तै बिद्यालय तथा कलेजहरु पनि बन्द छन् । सहरी सडकमा मात्रै छिटफूट रुपमा मोटरसाईलक सहित प्रहरी, एम्बुलेन्स, प्रेस लगायत अत्यावश्यकीय सेवाका गाडी चेलेका देखिन्छन् ।
नेकपाले आफ्ना नेता कार्यकर्तालाई बिना कारण पक्राउ गरेको र झुट्टा मुद्धामा सरकारले फसाउन खोजेको भन्दै बन्द आह्वान गरेको थियो । उक्त पार्टीले बन्द आह्वान गरेलगत्तै सरकारले सो पार्टीका गतिबिधिमा प्रतिवन्ध लगाएपनि उसले आह्वान गरेको बन्दलाई झनै बल पुगेको कतिपयले बताएका छन् ।