गणेश थापामाथि फिफाको १० वर्षे प्रतिवन्ध

602

गणेश थापामाथि फिफाको १० वर्षे प्रतिवन्ध

ganesh

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापालाई विश्व फुटबल महासंघ (फिफा) ले  फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी १० वर्ष प्रतिबन्ध लगाएको छ।
पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा थापालाई सोमबार फिफाको आचरण समितिले प्रतिबन्धसहित १९ हजार नौ सय अमेरिकी डलर (करिब २० लाख रुपैयाँ) जरिबानासमेत गरेको छआर्थिक अनियमितताका विषयमा छानबिन गर्न यसअघि पनि फिफाले थापालाई चार महिना फुटबलबाट निलम्बन गरेको थियो।
एसियाली फुटबल महासंघ (एएफसी) को अघिल्लो कार्यसमितिमा उपाध्यक्ष रहेका थापा व्यवस्थापिका संसद्का सदस्य पनि हुन्। उनी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको सिफारिसमा समानुपातिक तर्फबाट संसद् बनेका हुन्। थापा दुई दशकदेखि एन्फाका अध्यक्ष थिए।
थापाले पद दुरुपयोग गरी समयसमयमा विभिन्न फुटबल पदाधिकारीसँग आर्थिक लेनदेन गरेको फिफाले उल्लेख गरेको छ। थापालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय फुटबलका सबैखाले गतिविधिमा प्रतिबन्ध लगाइएको छ।
प्रतिबन्धको निर्णय सोमबारदेखि लागू हुने फिफाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । थापाले सन् २००९ को एएफसी कंग्रेस र सन् २०११ को फिफा निर्वाचनमा घूस लिएको ठहर गर्दै फिफाद्वारा गठित ह्यान्स जोचिम नेतृत्वको आचरण समितिले उनलाई प्रतिबन्ध र आर्थिक जरिबानाको निर्णय गरेको हो।
समितिले थापासँगै लाओस फुटबल संघका अध्यक्ष भिफेट सिहाचरमाथि पनि दुई वर्ष प्रतिबन्धको कारबाही गरेको छ।थापाले फिफा निर्वाचनका बेला व्यक्तिगत र पारिवारिक फाइदाका लागि अन्य फुटबल पदाधिकारीबाट पैसा लिएको र वर्षौंसम्म पदीय मर्यादाविपरीत विभिन्न गतिविधि गरेको आधारमा प्रतिबन्ध लगाइएको उल्लेख छ।
एफसीका तत्कालीन अध्यक्ष तथा फिफा अध्यक्षका प्रत्यासी मोहम्मद बिन हमामबाट थापाका छोरा गौरव थापाको खातामा एक लाख अमेरिकी डलर जम्मा भएपछि फिफाले थापामाथि अनुसन्धान थालेको थियो। थापाले यसअघि हमामसँग आफ्नो व्यक्तिगत व्यापारिक सम्बन्ध भएको र सोही कारण छोराको खातामा रकम आएको बताउँदै आएका थिए।
एन्फा अध्यक्षका रूपमा थापाले ५८ करोड रुपैयाँभन्दा बढी अनियमितता गरेको भन्दै एक वर्षअघि संसद्को सार्वजनिक लेखा समितिले पनि छानबिनका लागि उनलाई ९० दिन फुटबलबाट निलम्बन गरेको थियो। थापाले आर्थिक अनियमितता गरेको विषयमा सम्पत्ति शुद्घीकरण अनुसन्धान विभाग, युवा तथा खेलकुद मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा समेत उजुरी परेको थियो।
लेखा समितिले थापामाथि छानबिन गरी कारबाही गर्न अख्तियारलाई सिफारिस गरे पनि अख्तियारले थापाको अनुसन्धानलाई तामेलीमा राख्ने निर्णय गरेको थियो।फिफाबाट प्रतिबन्ध र आर्थिक जरिबानाको कारबाही भएपछि थापाले आफू निराश भएको बताएका छन्।
फिफाको निर्णयपछि थापाले जारी गरेको विज्ञप्तिमा आफूमाथि अन्याय भएको उल्लेख गरेका छन्। ‘मलाई फिफा नैतिक समितिले १० वर्ष फुटबलमा प्रतिबन्ध लगाउने निर्णयबारे आज बिहान जानकारी गरायो। मैले विगत चार वर्षदेखि फिफाको अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको थिएँ। अब म फिफाले यो निर्णय गर्नुको पूर्ण कारण माग गर्नेछु’, उनले भनेका छन्।
फिफाले कारण दिएपछि मात्र आफूले आवश्यक कदम चाल्ने उनले उल्लेख गरेका छन्।थापाले आर्थिक अनियमितिता गरेको भन्दै विभिन्न निकायमा उजुरी दिएका असन्तुष्ट एन्फा उपाध्यक्ष कर्माछिरिङ शेर्पाले भने नेपाली फुटबलमाथि फिफाले न्याय गरेको प्रतिक्रिया दिए।
‘एन्फामा भएको भ्रष्टाचार, पदीय दुरुपयोग र अपारदर्शिताका विषयमा देशका विभिन्न निकायले आँखा चिम्लिएको अवस्था थियो। तर जायज विषयमा फिफाले कदम चाल्दो रहेछ भन्ने आज प्रमाणित भएको छ,’ शेर्पाले भने। नेपाली फुटबलमा अझै थुप्रै विकृति रहेको उल्लेख गर्दै उनले अब नयाँ ढंगबाट फुटबललाई अगाडि बढाउनुपर्ने बताए।
‘नेपाली फुटबललाई विधिको शासनअनुरूप चलाउन अझै लडाइँ बाँकी छ,’ उनले भने।राप्रपा नेपालका प्रवक्ता विष्णु भट्टराईले थापाको सांसद पद रहने वा नरहने विषयमा पार्टी, संसद् र राज्य व्यवस्था समितिमा छलफल गरेरमात्र भन्न सकिने बताए।