डेंगु नियन्त्रण बाहिर छैन : मन्त्री बराल

958

डेंगु नियन्त्रण बाहिर छैन : मन्त्री बराल

बुटवल, २३ भदौ । प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशमा डेंगु रोगको संक्रमण बढेपनि नियन्त्रण बाहिर नभएको बताउनु भएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा प्रदेशसभा सदस्यहरुले बिभिन्न समयमा उठाएका प्रश्नहरुको जवाफ दिदै मन्त्री बरालले प्रदेशका बिभिन्न जिल्लाहरुमा डेंगुको संक्रमण बढेपनि नियन्त्रण बाहिर नभएको जवाफ दिनुभएको हो ।
प्रदेशका बिभिन्न जिल्लाहरुमा डेंगुको संक्रमणका कारण मानिसहरु बिरामी परेको घटना प्रति प्रदेश सरकार जानकार रहेको भन्दै मन्त्री बरालले त्यसको जाँच र उपचारकालागि प्रदेश सरकारसँग आवस्यक जनशक्ति र उपकरण रहेको दाबी गर्नुभयो । हाल सम्म प्रदेशमा १२६ जनामा डेंगुको संक्रमण देखिएको र त्यस मध्ये ८७ जना उपचारपछि घर फर्किएको जानकारी गराउनु भयो ।
अहिले ३९ जना मात्रै उपचाररत रहेको जानकारी दिँदै उहाँले मिडियामा आए जस्तो र प्रदेशसभा सदस्यहरुले चिन्ता गरे जस्तो डेंगु रोग महामारीको रुपमा नरहेको उल्लेख गर्नुभयो । उहाँले रुपन्देही जिल्लामा हाल सम्म ९० जनामा डेंगुको संक्रमण देखिएको र एक जनाको मृत्यु भएको सदनलाई जानकारी गराउनु भयो ।