तिलोत्तमा नगरमा रुखको पक्षमा बलियो जनमत

806

तिलोत्तमा नगरमा रुखको पक्षमा बलियो जनमत

रामराज पोख्रेल/
पहिलो चरणको निर्वाचनका क्रममा दुई सय ८३ स्थानीय तहमा निर्वाचन गरियो । त्यसमध्ये अधिकांशको ध्यान चितवनको भरतपुर महानगरपालिकामा थियो । जुन अझै छिनोफानो नभएकाले ध्यान यथावत छ । भरतपुर मुलुकको मध्ये भागमा पर्ने उर्वर सिटीसंगसंगै काँग्रेस माओवादी केन्द्रको गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहालले निर्वाचनमा गठबन्धनको नेतृत्व गर्दै मेयर पदमा प्रतिस्पर्धा गरेको र काँग्रेस भित्र देखिएका असन्तुष्टिलाई देखाएर एमालेले रेणुप्रति देखाएका असहिष्णु व्यबहारका कारण भरतपुर चर्चाको शिखरमा पुगेको हो ।
जसरी पहिलो चरणको निर्वाचनमा चितवन जति चर्चामा रह्यो, त्यसरी नै दोस्रो चरणको निर्वाचन प्रकृया शुरु भएसंगै रुपन्देही जिल्ला पनि चर्चाकै शिखरमा छ । रुपन्देहीका १६ स्थानीय तह मध्ये एक उपमहानगरपालिका र पाँच वटा नगरपालिका र १० वटा गाउँ पालिका छन् । त्यसमध्ये अधिकाँसको ध्यान तिलोत्तमा नगरपालिकामा केन्द्रित छ । तिलोत्तमा नगरपालिकामा सबैको ध्यान केन्द्रित हुनुका पछाडी नेपाली काँग्रेसका प्रभावशाली र हक्की स्वभावका नेता बालकृष्ण खाँणको गृह नगर संगसंगै भाई रामकृष्ण खाँण मेयर पदमा उम्मेदवार बनेपछि त्यस क्षेत्रको तेस्रो शक्तिका रुपमा स्थापित दल राष्ट्रिय जनमुक्ति पार्टीको साथ नेपाली काँग्रेसलाई रहेको छ ।

त्यस्तै नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालको गृहनगर पनि तिलोत्तमा नै हो । उनले आफ्नो समुहका बासुदेव घिमिरेलाई मेयर पदमा उम्मेदवार बनाउन कै लागि पार्टी भित्र कठोर संघर्ष गरेर टिकट पाएपश्चात जुनसुकै रणनीति अपनाएर भएपनि जिताउनै पर्ने कठोर प्रतिज्ञाले गर्दा अधिकांशको ध्यान तिलोत्तमामा केन्द्रित छ ।
पूर्वमा रोहिणी नदि र पश्चिममा तिनाउ नदिको बिचमा साविकका सात गाबिसलाई मिलाएर तिलोत्तमा नगर जनसंख्या र भौगोलिक क्षेत्रफलको हिसावले जिल्लाकै ठूलो नगरपालिका हो ।

त्यस्तैगरी स्रोत साधन र सम्भावनाले धनी नगरपालिका भएकाले पनि काँग्रेस एमाले दुबैको ध्यान यहि नगरमा बढी केन्द्रित छ । साविकका गाबिसहरु शंकरनगर, करहिया, मक्रहर, आनन्दबन, गंगोलिया, मधौलिया र टिकुलीगढ मिलाएर बनाएको नगरपालिकामा २०६८ को जनगणना अनुसार एक लाख एक सय ४९ जनसंख्या थियो । १७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा ६० हजार ४ सय ४० जना मतदाता छन् ।
सात गाबिस मिलाएर बनाईएको नगरपालिका भएका कारण एकथरी विगतमा कसको मत कति थियो र अहिले कसको कति आउँछ भन्दै चिया पसल तथा चोक चोकमा हिसाव किताव गरिरहेका छन् भने अर्कोथरी आफ्नो दलको उम्मेदवारलाई मत माग्दै घरघरमा हिंडिरहेका छन् । २० वर्ष अंघिको स्थानीय निर्वाचनलाई हेर्दा अधिकांश स्थानमा एमालेको बाहुल्यता देखिएता पनि त्यसयता भएका दुई वटा संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेसले जित हात पारेको थियो । नगरपालिकामा समावेश भएका साविकका सात वटै गाबिसमा बसाई सराई गरी आउनेको भिड नै छ ।
२० वर्ष पहिलादेखि जो बसिरहेका थिए, तिनीहरुको लगाव जहाँ थियो उहीँ देखिन्छ ।

त्यसयता बसाई सराई गरेकाहरुमा तुलनात्मक रुपमा काँग्रेसका समर्थक बढी देखिन्छन् । २०६४ मा भारी मत सहित र २०७० मा कम मतले नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले जितेको अंधिकाँश क्षेत्र तिलोत्तमा नगरपालिकामा छ । त्यस्तै क्षेत्र नं. १ र २ का केही भाग पनि तिलोत्तमा नगरपालिकामा पर्दछ । जहाँ २०७० को संविधान सभा निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा बलियो जनमत देखिएको थियो ।
अहिले तिलोत्तमामा २०७० को संविधान सभा निर्वाचनमा तेस्रो दल बनेको जनमुक्ति पार्टी र नेपाली काँग्रेसको चुनावी तालमेल छ । त्यस्तै २०७० को संविधान सभा निर्वाचनमा मधेशवादी दलबाट उम्मेदवार बनेका सन्तराम चौधरी दलबल सहित नेपाली काँग्रेसमा आएका छन् । यसले नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण खाँणलाई बलियो बनाएको छ ।
नेपाली काँग्रेस रुपन्देहीमा दुई कार्यकाल निर्वाचित सचिव भएर काम गरेका रामकृष्ण समग्र जिल्लाको टोलटोल र घरघरमा पुगेका छन् । लामो समयदेखि राजनीतिमा कृयाशिल रामकृष्ण २०६४ र ०७० सालका दुबै संविधान सभा निर्वाचनमा त्यस क्षेत्रमा निर्वाचनको कमाण्ड समेत गरेका थिए । दुई पटक नै संविधान सभा सदस्य हुँदा त्यस क्षेत्रको बिकासमा राष्ट्रिय बजेटको हिस्सा पारेर बिकास निर्माणका काम बालकृष्ण मार्फत रामकृष्णले गरेकै कारण अन्य दलका उम्मेदवारका तुलनामा लोकप्रिय उम्मेदवारका रुपमा परिचित छन् ।
बिद्यार्थी कालदेखि नै राजनीति र समाज सेवामा लागिरहेका ५२ वर्षीय रामकृष्ण खाँण तीन दशक बढीको आफ्नो संघर्ष र त्यागलाई नहेरी कहिलेकाँकी कसैले पारिवारिक नाता जोडेर आफूलाई कमजोर गराउन प्रयास गर्दा दुःख लाग्ने बताउछन् ।
तिलोत्तमा नगरपालिकालाई ‘हरियाली नगर र स्मार्ट सिटी’ बनाउने अभियान सहित राष्ट्रिय जनमुक्ति पार्टीलाई संगै लिएर मैदानमा उत्रिएका मेयरका उम्मेदवार रामकृष्ण भन्छन्– ‘मेरो उम्मेदवारी हाम्रो र राम्रो नगर, हरियाली र खुसीयाली नगर, सबै अट्ने र सबै रमाउने नगर, शान्ति र समृद्धिको नगर निर्माण गर्ने प्रतिवद्धता छ ।’
विपक्षी उम्मेदवारका तर्फबाट काँग्रेस भित्र केही व्यक्तिलाई मुछेर प्रोपोगाण्डा गर्न खोजेपनि सजिलैसंग सन्तुलन मिलाएर सबैलाई एकढिक्का बनाएका रामकृष्ण जीतको यात्रामा अघि बढेका छन् । ग्रामिण क्षेत्रमा आफ्नो पकड राख्ने काँग्रेसका संघर्षशिल नेताका रुपमा चिनिएका मक्रहरका काँग्रेस नेता कृष्णप्रसाद पौडेलका अनुसार तिलोत्तमा नगरपालिकाको बनावट, त्यहाँका मतदातामा काँग्रेस पार्टीको पकड संगसंगै रामकृष्णको सकृयता र लगावले निर्वाचन जितिसकिएको बताउँछन् ।
यति मात्रै होईन तिलोत्तमा नगरभित्र बसोबास गर्ने पार्टीका पूर्व केन्द्रीय सदस्य एवं जिल्ला सभापति बाबुराम राना, पूर्व सभापति रामचन्द्र ढकाल, नेताहरु रोमणीप्रसाद पाठक, कृष्णप्रसाद पौडेल, डिल्लीरमण शर्मा, वलदेव शर्मा, हेमराज अर्याल, प्रकाशचन्द्र ढकाल, सन्तराम चौधरी, श्यामसुन्दर तिवारी, रमा अर्याल, गंगा शाही, यमबहादुर खत्री, कृष्ण बहादुर गौतम लगायत जनमानसमा पकड भएका प्रभावशाली व्यक्तिहरु रामकृष्णको चुनावी प्रचारप्रसारमा रातदिन नभनी एक ढिक्का भएर लागिरहेकाले पनि निर्वाचन जित्नकालागि सहज बनेको मतदाताहरुको भनाई छ ।