तेल माग्दै आन्दोलन

1.1K

तेल माग्दै आन्दोलन
aaaa
रुपन्देही,मंसिर । तेल वितरणमा भेदभाव भएको भन्दै पश्चिमाञ्चलका पेट्रोलियम डिलर्स एशोसिएसन नेपाल आन्दोलनमा उत्रिएको छ ।नेपाल आयल निगमको क्षेत्रीय कार्यालय भलवारी डिपोले आयात भएको ४० प्रतिशत पनि स्थानीयस्तरमा वितरण नगरेको तथा तेल वितरणमा भेदभाव गरेको आरोप लगाउँदै एशोसिएसन आन्दोलनमा उत्रिएको हो ।एशोसिएसनमा आवद्ध पम्प व्यवसायीहरुले सहमति अनुसार ४० प्रतिशत तेल वितरण नहुन्जेल आफूहरुले खरीद गर्न नसक्ने बताएका छन् । उनीहरु आइतवारदेखि नै निगमबाट तेल खरिद गर्न छाडेर निगम क्षेत्रीय कार्यालय अगाडि धर्नामा बसेका छन् । पम्प व्यवसायीले निगमबाट तेल खरिद गर्न छाडेर आन्दोलनमा उत्रिएपछि सर्वसाधारणले थप सास्ती खेप्नु परेको छ ।पेट्रोलियम पदार्थ आयातमा आयल निगमको एकाधिकार रहे पनि बितरण भने निजी पम्पबाट हुने गर्दछ । निगमबाट तेल खरीद गरी सर्वसाधारणसम्म पुर्‍याउने जिम्मा पम्प व्यवसायीहरुको हो ।नेपाल आयल निगमको क्षेत्रिय कार्यालय भलवारीका प्रमुख दिनेशकुमार यादवले इन्धन संकटका बेला आन्दोलित हुनु जायज नभएको भन्दै आन्दोलन फिर्ता लिएर भएको तेल खरीद गरी सर्वसाधारणलाई वितरण गर्न पम्प व्यवसायीलाई आग्रह गरेका छन् ।पम्प व्यवसायीको आन्दोलनका कारण आइतवारदेखि निगमको भैरहवा वितरण केन्द्र बाहेक रुपन्देहीका अन्य पम्पहरुबाट समेत बिना सिफारीस तेल वितरण गर्ने निगमको योजना पूरा हुन नसकेको यादवले बताए ।सहमति अनुसार आयातको ४० प्रतिशतभन्दा बढी तेल स्थानीय क्षेत्रमै वितरण भएको र बाँकी काठमाडौं पठाइने गरेको यादव दाबी गर्छन् । ‘ब्यवसायीले भनेअनुसार भारतबाट आएकै दिन ४० प्रतिशत तेल वितरण गर्ने अवस्था छैन । स्टक, आवश्यकता र आयातलाई आधार मानेर वितरण गर्न मिल्नेसम्म वितरण गरिरहेका छौं,’ यादबले भने ।दशै र तिहार पर्वलाई लक्षित गर्दै जिल्ला सुरक्षा समिति रुपन्देहीले जिल्लाका १२ वटा पम्पहरुबाट पेट्रोलियम पदार्थ वितरणको व्यवस्था मिलाएको थियो । तिहारपछि ४ वटा पम्प कटौती गर्दै ८ वटा पम्पबाट मात्र वितरण गर्ने व्यवस्था मिलाइएको छ ।एशोसिएसन रुपन्देही अध्यक्ष प्रेम न्यौपानेले आफूहरुको आन्दोलन पम्प व्यवासायीको स्वार्थका लागि नभई स्टक भएकाबेला कृषक तथा सबै उपभोक्ताले तेल पाउन् भन्ने उद्देश्यले भएको जिकीर गरे ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले असहज अवस्थामा माग बमोजिमको तेल उपलब्ध गराउन सक्ने अवस्था नरहेको भन्दै सबै क्षेत्रलाई समानुपातिक हिसावले तेल बितरणको ब्यबस्था मिलाइएको बताए