देशभरका कलाकारको बुटवलमा जमघट

714

देशभरका कलाकारको बुटवलमा जमघट

बुटवल, १९ फागुन । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा आईतबारदेखि बुटवलमा पाँचौं अर्ना राष्ट्रिय खुल्ला (रनिङ शिल्ड) दोहोरी गीत प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताकालागि देशभरबाट कलाकारहरु बुटवलमा जम्मा भएका छन् । काठमाण्डौ बाहिर पहिलो पटक बुटवलमा आयोजना गरिएको उक्त प्रतियोगिताको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा बोल्दै उहाँले लोक तथा दोहोरी नेपालका मौलिक कला संस्कृति भएकाले संरक्षणमा सबैको चासो र चिन्ता अपरिहार्य रहेको बताउनु भयो । उहाँले परम्परा र संकृति जोगाउने खालका गीत संगीतहरु लोप हुँदै गएकाले कला संस्कृतिको संरक्षणकालागि यो कार्यक्रम कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
आयोजकले यो कार्यक्रमलाई कलाकार उत्पादन गर्ने थलोका रुपमा समेत लिएका छन् । त्यस्तै प्रतिष्ठानका निवर्तमान अध्यक्ष चन्द्र शर्माले मुलुकको कला संस्कृतिको जगेर्नाकालागि सरकार उदासिन बनेको बताउँदै सरकारले गर्ने दायित्व आफूहरुले बहन गरेको र त्यसमा नीजि क्षेत्रले सहयोग गरेको उल्लेख गर्नुभयो । प्रतिष्ठानका केन्द्रीय सल्लाहकार तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले नीजि क्षेत्रले आयोजना गर्ने मेला महोत्सवबाट नेपालको कला संस्कृति धानिएको बताउँदै मेला महोत्सवमा आयोजना गरिने लोक दोहोरी कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा सीटि एक्सप्रेस मनि ट्रान्सफरका चन्द्र टण्डन, यति ब्रुअरीका अरुण केसी, नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्ल, उद्योगी व्यबसायी बाबुराम बोहोरा, डिल्लीराज भण्डारी, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, खेलकुद बिकास समिति रुपन्देहीका अध्यक्ष योग गुरुङ्, नेपाल मगर संघ रुपन्देहीकी अध्यक्ष गीता सारु, प्रतिष्ठान रुपन्देहीका अध्यक्ष दिपक गरौंजा, केन्द्रीय महासचिव सुवास केसी लगायतले भनाई राख्नुभएको थियो ।
यहि फागुनको २५ गतेसम्म सञ्चालन गरिने प्रतियोगितामा ४८ समुहले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा प्रथम हुने समुहलाई दुई लाख रुपैंयाँ, द्वितीय हुनेलाई एक लाख २० हजार, तृतीय हुनेलाई ७० हजार, सान्त्वना पुरस्कार ३५ हजार र उत्कृष्ट गायक र गायिकालाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।