प्रदेश राजधानीका लागि बुटवल उपयुक्त छैन : सभामुख

454

प्रदेश राजधानीका लागि बुटवल उपयुक्त छैन : सभामुख

बुटवल, १७ पुस । प्रदेश पाँच प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले घुमाउरो तरिकाले प्रदेश राजधानीकालागि बुटवल उपयुक्त नभएको बताउनु भएको छ । उहाँले सरकारले जग्गा किनेर प्रदेशको राजधानी बनाउन नसकिने बताउँदै राजधानी कहाँ भन्दा पनि कस्तो बनाउने भन्ने विषयमा गम्भिर हुन आवश्यक रहेको बताउनु भयो ।

पछिल्लो समयमा प्रदेशको राजधानी र नामको टुंगो लगाउन नसकेको भन्दै सरकारको आलोचना भईरहँदा उहाँले त्यसको बचाउ गर्दै नमुना प्रदेश बनाउनकालागि हतार गर्न नहुने भनाई राख्नुभयो । रिपोटर्स क्लव प्रदेश पाँच कार्यालयले मंगलबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सभामुख घर्तीले भन्नुभयो–‘राजधानी कहाँ भन्दा पनि कस्तो बनाउने भन्ने विषयमा बहस हुनुपर्दछ ।’

प्रदेशको राजधानी सबैको पहुँच र सबैको अनुकुल हुने गरी बनाउने बताउँदै उहाँले कसैको घर जग्गा कहाँ छ त्यही राजधानी बनाउन आवश्यक नरहेको जिकिर गर्नुभयो । उहाँले प्रदेश पाँचका भुभाग बाँके बर्दियालाई समेत समेटेर राजधानी बनाउन आवश्यक रहेको बताउँदै यस बिषयमा सबैलाई गम्भिर बन्न आग्रह गर्नुभयो । अहिले सरकारले गरिरहेको काममा कसैले पनि चित्त दुखाउनु पर्ने अवस्था नरहेको बताउँदै संघीयता कार्यान्वयनमा केही जटिलता भएकाले केही ढिलाई भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेस संसदीय दलका नेता बलदेश शर्मा पोखरेलले प्रदेशको राजधानी साविककै बुटवल र प्रदेशको नाम लुम्बिनी उपयुक्त भएको बिचार व्यक्त गर्नुभयो । अहिले राजधानी कहाँ बनाउने भन्ने विषयमा सरकार आफैले खिचडी पकाउने काम गरेको टिप्पणी गर्दै समितिमा सबै जिल्लाको प्रतिनीधित्व खोज्ने काम ढिलाई गर्ने बहाना मात्रै भएको आरोप लगाउनु भयो ।

उहाँले समस्या समाधान गर्न इमान्दारी पूर्वक काम गर्न सरकारलाई आग्रह समेत गर्नुभयो । उहाँले मुख्य मन्त्री शंकर पोखरेलले स्थायी राजधानीकालागि सहमतिको नारा घन्काएपनि सहमतिका कुनै प्रयास नै नगरेको समेत आरोप लगाउनु भयो ।

त्यस्तै संघीय समाजवादी फोरमका नेता तथा प्रमुख सचेतक सन्तोष पाण्डेले भैरहवामा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका सबै हिसावले रुपन्देही उपयुक्त रहेकाले स्थायी राजधानीकालागि ढिलाई नगर्न सरकारलाई आग्रह गर्नुभयो ।