फेरि एक्लै

613

फेरि एक्लै

Heman_Yatri_149065346

घरको भित्तामा झुन्डिएको फ्रेममा
बैंसका श्यामश्वेत तस्बिरहरू
मुस्कुराइरहेकै हुनेछन् बुइगलमा बसेर
घुरिरहेकै हुनेछन् परेवाहरू
आँगनछेवैको बाँसघारीमा कलकलेको एउटा संगठन
कलकल गरिरहेकै हुनेछ
तर हुने छैन त्यहाँ
सिर्फ एउटा मानिस।
सधैंको जस्तै पश्चिमतिर जानेछ घाम
फर्किनेछन् जंगल गएका गाईबस्तुहरू
फर्किनेछन् हँसिया, कोदालो लिएर
बारीमा गएका पर्मेलीहरू
फर्किनेछन् स्कुल वा कलेज गएका नातिनतिनाहरू
तर फर्किने छैन त्यहाँ
सिर्फ एउटा मानिस।
सधैं-सधै मौन बस्ने आकाश पनि
सुन्न सकिन्छ झरी परेका बेला
खोँच र पाखाहरू माझ सुन्न सकिन्छ बरु खोला
रूखका पातहरू माझ सुन्न सकिन्छ बरु बतास
सन्नाटाहरू माझ सुन्न सकिन्छ बरु अँधेरी रात
तर सुनिने छैन त्यहाँ
सिर्फ एउटा मानिसको आवाज।
त्यसरी नै
बुइगलमा बसेर घुरिरहेकै हुनेछन् परेवाहरू
बाँसघारीमा हल्ला गरिरहेकै हुनेछन् कलकलेहरू
ठीक त्यसैबेला
नातिनीको वैवाहिक उत्सव चलिरहेकै हुनेछ घरमा
लठ्ठी टेक्तै पुग्नेछौ तिमी आँगनको जग्गेमा
आर्शीवाद दिनेछौ चिरायुको
र हठात सम्झनेछौ
आफैं सँग छुटिगएको
सिर्फ एउटा प्रिय मानिस।
बिस्तारै फिर्नेछौ घरभित्र
उक्लनेछौ घरको तालामाथि
खोल्नेछौ ध्वाँसो लागेको टिनको बाकस
निकाल्नेछौ पुरानो डायरीमा च्यापेर राखेका प्रेमपत्रहरू
हेर्नेछौ बिहेकै साल खिचेका युगल तस्बिर
र बिस्तारै छाम्नेछौ
छातीको देबे्र पाटामा दुःखेको
सिर्फ एउटा मानिसको सम्झना।
पश्चिमतिर गइरहेकै हुनेछ घाम
घरबाट बिदा मागिरहेको हुनेछ नातिनी
ठीक त्यसैबेला
बुढेसकालको धमिला आँखाहरू
फ्याल्नेछौ-झ्यालबाहिर
तलतल देखिनेछ खोला
बग्न थाल्नेछौ तिमी
फेरि एक्लै एक्लै।/अन्नपूर्ण पोस्ट्