‘बलि दिएर देवी–देवता कहिल्यै खुसी हँुदैनन्’

1.1K

‘बलि दिएर देवी–देवता कहिल्यै खुसी हँुदैनन्’

Dashain Khasiboka

काठमाडौँ,/  “अरूको प्राण लिएर पुण्य कमाउने काम मन पर्दैन । जीव हत्या गरेर आफ्नो मनोकामना पूरा गर्नु धर्म होइन ।” पशुबलिलाई पाप सम्झने पाँचखाल काभ्रेकी मीरा चौलागाईंको भनाइ हो यो ।

प्राणीको हत्या गरेर धर्म हुन्छ भन्ने गलत धारणा समाजमा व्याप्त रहेकामा उहाँलाई निकै दुःख लाग्छ । मन्दिर÷मन्दिरमा जीव हत्या गर्ने प्रचलन हटेको कहिले सुन्न पाइएला भन्ने प्रतीक्षामा उहाँ हुनुहुन्छ । उहाँले अहिलेसम्म जीव हत्या गरेको हेर्नु भएको छैन । हेर्न पनि सक्नु हुन्न ।

पशुबलि धर्मका चल्दैआएको कुप्रथा रहेको बताउनुहुन्छ बत्तीसपुलतली काठमाडौँका रामकुमार शर्मा । “राम्रो भविष्य, दीर्घायुको कामना, राम्रो शिक्षादीक्षा, सफल जीवनका कामना गर्न मन्दिरमा रगतको बलि चढाउनु त पाप हो नि ।” – उहाँले भन्नुभयो । आफूले अहिलेसम्म कुनै जीवको बलि मन्दिरमा नचढाएको पनि उहाँले सुनाउनुभयो ।

नेपालमा बडादसँैको नौरथा सुरु भएपछि विभिन्न शक्तिपीठमा दुर्गा मातालाई खुसी पार्न व्यापक रुपमा पशुबलि दिइन्छ तर योे प्रचलनको अहिंसावादीहरुले चर्को विरोध गर्दैआएका छन् । उनीहरुको भनाइमा ‘पशुबलि धर्मका नाममा अपराध हो’ र ‘अहिंसा नै परम धर्म’ हो ।

बलि दिनै परेमा पशुबलीको सट्टामा भगवतीलाई नरिवलको बलि चढाउन सकिने उनीहरुको तर्क छ । दसैँ पर्वका अवसरमा खास गरी दक्षिणकाली, भद्रकाली, गुह्येश्वरी, शोभा भगवतीलगायतका शक्तिपीठमा हजाराँै जीवको बलि दिने गरिन्छ ।

संस्कृतिविद् डा गोविन्द टन्डनका अनुसार दक्षिणकाली, भद्रकालीलगायत शक्तिपीठ, मन्दिरमा नवरथामा हजारौँ प्राणीको बलि दिने गरिएकामा अहिले नगण्य रुपमा मात्रै छ र धेरैले नरिवलको बलि दिने गरेका छन् ।

“पशुलाई भगवतीका शक्तिपीठमा लगेर हत्या गरेर धर्म हुन्छ भन्ने कुरा गलत हो,” बलिप्रथा रोक्ने अभियानका अभियन्ता डा टन्डनले भन्नुभयो, “अरूलाई दुःखकष्ट नदिनु नै धर्म हो, बलि दिएर देवी–देवता कहिल्यै खुसी हँुदैनन् ।”

उहाँका अनुसार कुनै पनि धर्म ग्रन्थमा पशुबलि दिएर धर्म हुने कुरा उल्लेख छैन । यो प्रचलनले समाजमा शान्ति नभई हिंसा र आतङ्क फैलाइरहेको छ । राजसी, तामसीमा रमाउने पण्डितहरुले पशुबलिलाई बढावा दिने तरिकाले धार्मिक ग्रन्थको व्याख्या गर्ने गरेको डा टन्डनकोे आरोप छ ।

उहाँ भन्नुहुन्छ – दसैँमा क्रोधको प्रतीक भनेर राँँगोलाई बलि दिन्छन् । निर्दोष पशु राँगोलाई मारेर के धर्म हुनु ? मानिसलाई दसँै पशुलाई दशा हुने गरेको छ । जीव भएर जीवको हत्या गर्नु पाप हो ।

पशुबलि निषेध सचेतना अभियानका संयोजक विवेक श्रेष्ठले पशुबलि धर्म नभएको कुरालाई सचेतना ¥याली, साहित्य, सडक नाटक, गीतमार्फतजस्ता सचेतना जगाउने काम गरिरहेको जानकारी दिनुभयो ।

“धेरै वर्षदेखि पशुबलि दिँदै आएर त्यसले सांस्कृतिक मान्यता पायो, तर त्यो अज्ञानता थियोे, २१औँ शताब्दीको विज्ञान र प्रविधिको युगमा पशुबलि दिएर धर्म हुन सक्दैन”– उहाँले थप्नुभयो ।

मासु खानेहरुलाई मुटु रोग, मोटोपना, फोक्सोको रोग, रक्तचापजस्ता ठूला रोगले मनोवैज्ञानिक÷मानसिक रोग निम्त्याउँछ । मासु सेवन नगर्ने मानिस निरोगी, शान्त स्वभावका हुन्छन् । त्यसैले पशुबलिलाई प्रोत्साहन दिनु हुँदैन भन्ने यो अभियानका अभियन्ताहरुको भनाइ छ ।

पशुबलि निषेध अभियान २०४७ सालदेखि सुरु भएको हो । यो अवधिमा समाजलाई फर्केर हेर्दा धेरै परिवर्तन भएको छ । पहिला पशुबलिलाई धर्म सम्झनेले आज पाप सम्झन थालेका छन् । यस अभियानमा नेवार, क्षेत्री, बाह्मण, गुरुङ सबै लागेका छन् । त्यसमा कृष्णप्रणामी, नेपाल मानव धर्मलगायत एक दर्जनभन्दा बढी धार्मिक सङ्घसंस्था पनि यो अभियानमा सामेल छन् । अभियानका अनुसार नेपालमा पछिल्लो समयमा साकाहारीको सङ्ख्या बढ्दै गएको र काठमाडौँलगायतका सहरमा पनि होटल, रेष्टुराँ पनि शाकाहारी थुप्रै खुलेका छन् ।

नेपालमा शाकाहारीको सङ्ख्या कति छ भन्ने यकिन तथ्याङ्क नभए पनि कुल जनङ्ख्याको २५ देखि ३० प्रतिशत मानिस शाकाहारी रहेको अनुमान छ । रासस