बुटवलमा लुम्बिनी एक्स्पो सुरु हुँदै

515

बुटवलमा लुम्बिनी एक्स्पो सुरु हुँदै


बुटवल, ३ पुुस । बिहिबारदेखि बुटवलमा लुम्बिनी एक्स्पो–२०७५, अन्तर्राष्ट्रिय व्यापार मेला सुरु हुँदैछ । रुपन्देही व्यापार संघले आयोजना गरेको मेलाको पूर्व सन्ध्यामा बुधवार बुटवलमा प्रचारात्मक जनचेतना ¥याली प्रदर्शन गर्न लागिएको छ ।

यहि पुसको १८ गतेसम्म सञ्चालन गरिने मेलामा ६ सय स्टल समावेश गरिएको (आज) मंगलबार मेला स्थलमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ बुटवल १० रामनगर स्थित बुटवल मण्डपमा १४ दिनसम्म सञ्चालन गरिने मेलामा बिभिन्न १२ वटा बस्तुगत समितिका पेभिलियन निर्माण गरि सोही अनुसार प्रदर्शनीको प्रवन्ध मिलाईएको संघका अध्यक्ष तथा मेला आयोजक मुल समितिका संयोजक पदमप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । मेलाको प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नुहुने कार्यक्रम तय गरिएको छ ।

पश्चिम नेपालकै व्यापारिक केन्द्र बुटवलमा व्यापारलाई आधुनिकिकरण तथा विशिष्टिकरण गर्ने उद्देश्यकासाथ संघले पहिलो पटक २०५७ सालमा मेला आयोजना गरेको थियो । त्यहि मेलालाई निरन्तरता दिँदै सञ्चालन गर्न लागिएको यो मेलामा बंगलादेश, पाकिस्तान, भारत, चिन र जापान समेत गरी ३० वटा बाह्य मुलुकका स्टल रहने पनि अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भयो ।

त्यस्तै सांस्कृतिक कार्यक्रम तर्फ स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहने छ । डान्स आईडल, लोक तथा दोहोरी, बिद्यालय स्तरीय लोकनृत्य, वक्तृत्वकला, मम्मी डान्स लगायतका प्रतियोगिता सञ्चालन गरिने छ । त्यस्तै मेला भित्रै राष्ट्रिय स्तरको खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन गरिने छ भने पर्यटन, कृषि, व्यबसायिक सचेतना गोष्ठि, फोटो प्रदर्शनी र चित्रकला प्रतियोगिता सञ्चालन गरिने छ ।

पर्यटन प्रवद्र्धनकालागि योजना बनाएर खर्च गर्नेगरी कोष खडा गरिने र प्रत्येक बिक्री भएको टिकटको १० रुपैयाँ सो कोषमा योगदान गर्ने संघले जनाएको छ । त्यस्तै अंग्रेज सेनालाई परास्त गरि विजय हासिल गरेको स्थान जीतगढी किल्लाको झलक सहितको पार्क मेला स्थलमा निर्माण गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

उक्त किल्लालाई प्रचारात्मक जनचेतनामुलक ¥यालीमा समेत झाँकीका रुपमा प्रस्तुत गरिने बताईएको छ । सो ¥यालीमा नेपाली सेनाले समेत तत्कालिन नेपाली सेनाले लगाएको सैनिक पोषाकमा सहभागि हुने तयारी भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।