बुटवल नेपालकै आर्थिक राजधानीः मुख्यमन्त्री पोखरेल

771

बुटवल नेपालकै आर्थिक राजधानीः मुख्यमन्त्री पोखरेल


बुटवल, ५ पुस । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी बुटवललाई नेपालकै आर्थिक राजधानी बनाउने गरी प्रदेश सरकारले तयारीका काम गरिरहेको बताउनु भएको छ । अहिले सरकारले केही गरेन भनेर हलचल ल्याउन खोजिएपनि अहिलेकै नेताले देशमा बिकास र समृद्धि ल्याउने दावी गर्नुभयो । उहाँले उहाँले सपना देखेपछि मात्र सफलता हात लाग्ने उल्लेख गर्दै बुटवलमा पनि घरघरमा हजारौं केपी ओली जन्मनु पर्ने उल्लेख गर्नुभयो ।

रुपन्देही व्यापार संघले बुटवलमा आयोजना गरेको लुम्बिनी एक्स्पो–२०७५, अन्तर्राष्ट्रिय व्यापार मेलाको बिहिबार उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सपना देख्नकै लागि हजारौं केपी ओली जन्मिनुपर्ने औंल्याउनु भयो । प्रधानमन्त्री ओलीको सपनाले छिटै सार्थकता पाउने दाबी गर्दै उहाँले यसै आर्थिक वर्ष भित्र लुम्बिनीबाट रेल मार्गको काम सुरु हुने बताउनु भयो ।

मेला आयोजक संस्था रुपन्देही व्यापार संघका अध्यक्ष पदमप्रसाद श्रेष्ठले मेला महोत्सवले मुलुकको आर्थिक बिकासमा सहयोग गरेपनि मेला सम्पन्न गर्न निकै चुनौति रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपालका लागि श्रीलङ्काका राजदुत स्वप्न परेरा, राष्ट्रिय सभामा नेकपाका सचेतक खिमलाल भट्टराई, प्रदेश पाँचका भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरी, प्रदेश सभा सदस्य दधिराम न्यौपाने, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष माहिन्द्र श्रेष्ठ, संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवाली, नेपाली काँग्रेसका ज्योति भण्डारी, राष्ट्रिय जनमोर्चाका बद्रे आलम, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी लगायतले मेलाको शुभकामना सहित भनाई राख्नुभएको थियो ।

‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ आयोजना गरिएको मेला यहि पुसको १८ गते सम्म चल्ने छ । मेलामा स्वदेशी तथा बिदेशी गरी ६ सय स्टल रहेका छन् । मेला अवधिभर १० लाख जनाले मेला अवलोकन गर्ने र मेला स्थलमा ४० करोडको आर्थिक कारोवार हुने आयोजकले अपेक्षा गरेका छन् ।