भ्लादिमिर पुटिन विश्वकै शक्तिशाली नेता

904

भ्लादिमिर पुटिन विश्वकै शक्तिशाली नेता

pकाठमाडौं । भ्लादिमिर पुटिन फेरि विश्वको शक्तिशाली व्यक्ति बनेका छन् । अमेरिकी पत्रिका फोर्ब्सले २०१५ का शक्तिशाली व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ, जसमा पुटिन पहिलो स्थानमा कायमै छन् ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा र चीनका राष्ट्रपति सी निजपिङलाई पछि पार्दै जर्मन चान्सलर एंगेला मोर्केल दोस्रो स्थानमा उक्लिएकी छ्न् । २०१४ मा उनी पाँचौं स्थानमा थिइन् ।

ओबामा एक स्थान तल झरेर तेस्रो स्थानमा छन् भने पोप फ्रान्सिस चौथो स्थानमा रहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङ पाँचौं स्थानमा छन् । अघिल्लो बर्ष चिनियाँ राष्ट्रपति सी तेस्रो स्थानमा थिए ।

बिल गेट्स छैटौं, जान यालन सातौं र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन आठौं स्थानमा छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका नवौं शक्तिशाली व्यक्ति बनेका छन् । मोदी पहिलो पटक विश्वका १० शक्तिशाली व्यक्तिभित्र परेका छन् । २०१४ मा उनी १५ औं स्थानमा थिए ।

फोर्ब्सले जारी गरेको ७३ शक्तिशालीहरुको सूचीको दशौं स्थानमा गुगलका सीईओ ल्यारी पेज छन् ।

फेसबुकका संस्थापक मार्क जुकरबर्ग १९ औं, एपलका टीम कुक २७ औं, भारतीय अबरपती मुकेश अम्बानी ३६ औं, ब्राजिलका राष्ट्रपति डिल्मी रुसेफ ३७ औं र राष्ट्रसंघका महासचिव वान कि मुन ४० औं स्थानमा छन् ।

जापानका प्रधानमन्त्री सिन्जो आबो ४१ औं र उत्तर कोरियाका नेता किम जान उन ४६ औं स्थानमा छन् ।

चरमपन्थी संगठन इश्लामिक स्टेटका नेता अब बकर अल बग्दादी ५७ औं शक्तिशाली व्यक्ति बनेका छन् । हिलारी क्लिन्टन ५८ औं स्थानमा रहँदा उनका पति पूर्व राष्ट्रपति बिल क्लिन्टन ६४ औं स्थानमा परेका छन् ।