‘म्याच फिक्सिङ’ खेलाडीलाई हिरासतमा राख्न आदेश

340

‘म्याच फिक्सिङ’ खेलाडीलाई  हिरासतमा राख्न आदेश

machaकाठमाडौँ, १५ कात्तिक । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल मिलोमतो ‘म्याच फिक्सिङ’ गरेको आरोपमा पक्राउ परेका फुटबल खेलाडीलाई विशेष अदालत काठमाडौँले  अनुसन्धानका लागि थप सात दिन हिरासतमा राख्न आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीशत्रय मोहनरमण भट्टराई, नरेन्द्र सिवाकोटी र भूपेन्द्रप्रसाद राईले एक हप्ता हिरासतमा राख्न आदेश दिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँले खेलाडीलाई म्याद थपका लागि आज विशेष अदालत लगेको थियो ।

यसअघि यही कात्तिक १० गते अदालतले पक्राउ परेको मितिले १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । तर अदालतले दिएको म्याद यही कात्तिक १३ गते शुक्रबार नै सकिएको थियो । तर हिजो शनिबार सार्वजनिक बिदा परेकाले खेलाडीलाई आज उपस्थित गराएको हो ।

राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरेको प्रहरीले अनुसन्धानका लागि भन्दै आठ दिन समय मागेको थियो । तर बहसपछि विशेष अदालतले यही असोज १४ गतेदेखि लागू हुने गरी सात दिनका लागि समय थप गरेको विशेष अदालतका कर्मचारी राममणि फुयाँलले जानकारी दिनुभयो ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा प्रहरीले गत असोज २७ गते राष्ट्रिय टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई पक्राउ गरेको थियो ।

प्रहरीले कप्तान थापालाई थापाथली, गोलकिपर थापा र राईलाई बालुवाटार तथा क्षेत्री र केसीलाई जावलाखेलबाट पक्राउ गरेको थियो । उनीहरूमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेतलगायत राष्ट्रमा भएका प्रतियोगितामा मिलोमतोमा खेल खेलेको आरोप छ ।

पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रिय फुटबल टोलीका कप्तान थापा र गोलकिपर थापाले भने आफूहरुले त्यस किसिमको कुनै पनि काम नगरेको बताए ।